धरानको वीपी कोइलारा स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा रहेको दिल्ली पब्लिक स्कूल र इटहरीको सुष्मा गोदावरी कलेजको गेटमा गएको शुक्रबार मध्य राती एकै समयमा बम विष्फोट भयो । एउटै समयमा एकै प्रकृतिको घटना भएकाले त्यो दुवै स्थानमा बम विस्फोटन गराउने समूह एउटै भएको प्रहरीको अड्कल छ । विद्यालय र स्वास्थ्य संस्था हाताभित्र बम विस्फोटनको घटना किमार्थ सामान्य कुरा होइन । घटनाबाट कुनै मानवीय क्षेत्र नभए पनि यस्ता घटनाले साना बालबच्चामा मनौवैज्ञानिक असर पर्दछ ।

चन्दा नपाएर विद्यालयमा विप्लव समूहले प्रेसर कुकर बम विस्फोटन गरिएको प्रहरीले बताउँदै आएको छ । सुनसरीमा शुक्रबार भएको घटनाले कुनै पनि स्कूल, स्वास्थ्य संस्था सुरक्षित छैनन् भन्ने देखाएको छ । वीपी प्रतिष्ठानको चिकित्सकहरू बस्ने आवास नजिक रहेको दिल्ली पब्लिक स्कूल पुग्न प्रतिष्ठानको केटिएम सेक्युरिटीले २४ सै घण्टा सुरक्षा दिने दुईवटा गेट पार गर्नुपर्दछ । मुख्य गेट र आवास प्रवेश गर्ने गेट पार गरेर मात्र स्कूल पुगिन्छ । प्रतिष्ठान भित्रै सईको कमाण्डमा जनपथ प्रहरी पनि खटिएको छ । यस घटनाले प्रतिष्ठानको सुरक्षा अवस्थासमेत कमजोर भएको देखाएको छ । आवास क्षेत्र प्रवेशमा कडाइ नहुँदा प्रतिष्ठानभित्र अपराधिक गतिविधि पनि बढेको कुरालाई अस्पताल प्रशासनले ध्यान पु¥याउनु उचित हुनेछ । शुक्रबार एउटा अस्पताल हाताभित्र र अर्को स्कूलभित्र गरिएको बम विस्फोटन निन्दनीय घटना हो ।

विद्यालय र स्वास्थ्य संस्थालाई निशाना बनाएर आक्रमण गर्ने समूह निश्चय नै राजनीतिक समूह मान्न सकिँदैन । एउटा राजनीतिक समूहको त्यस्तो आततायी व्यवहार समाजका लागि स्वीकार्य होइन । प्रहरीले विप्लव समूहमाथि शङ्का गरेको छ । चन्दा नदिँदा आक्रमण गरी तर्साएको समेत दाबवी गरेको छ । विप्लव समूहले यसको कुनै प्रतिक्रिया दिएको अवस्था छैन । भलै चन्दा नदिँदा गेटमा बम राखेर तर्साउने काम विप्लव कार्यकर्ताबाटै भएको हो भने यो निन्दनीय काम हो । कुनै पनि व्यक्ति संस्थालाई प्रतिशोध साध्न यस्ता आतङ्ककारी गतिविधि गर्नु उचित होइन । यस्ता गरैजिम्मेवार र गैर राजनीतिक गतिविधि अन्त्य गरिनुपर्दछ । विद्यालयमा भएका यस्ता घटनाले विद्यार्थीमा मनौवैज्ञानिक त्रास उत्पन्न पर्दछ । राज्यले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको अवस्थामा विद्यालय क्षेत्रमा आपराधिक गतिविधि हुनु दुर्भाग्यपूर्ण हो ।