विर्तामाेड /  झापामा भएका दुवै विफस्फोटनका घटनाको नेकपा विप्लव झापाका सेक्रेटरी मनिषले जिम्मा लिएका छन् । उनले सहकारीले लघुवित्त कार्यक्रम मार्फत परिचालन गरेको ऋणका कारण त्यसका सदस्यलाई आत्महत्या गर्नेसम्मको स्थिती उत्पन्न भएकाले जनकारवाही गरिएको बताएका छन् । उनले झापाका ठूला सहकारीमाथी नजिकबाट अध्ययन गरिरहेको जानकारी दिए । लघुवित्त कार्यक्रमलाई झापाबाट लखेटेरै छोड्ने अभियानका साथ सांकेतिक कारवाही गरिएको उनले ब्लाष्ट खवरलाई बताए ।
घटना अनुसार राती १२ बजेतिर सहारा नेपालको निर्माणाधिन भवनको सेक्युरिटी गार्डले बम राखेको झोला देखेका थिए । उनले संस्थाका सञ्चालकलाई त्यो बारे जानकारी गराएको बताए । सञ्चालकले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर बम राखेको स्थान खाली गरायो । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । सेनाको बम डिस्पोजल टोली आइनपुग्दै ठूलो आवाज गरेर बम बिस्फोट भएको थियो ।
यता अख्तियार दुरुपयोग अनुसंधान कार्यालयले भ्रष्टाचार गरेको ठहर गरेका गौरादह नगरपालिकाका प्रशासकीय अधिकृत मिश्रलाई कारवाही गरिएको मनिषले जानकारी दिएका छन् । केही दिन अघि उपमेयरका लागि मुल्यावान सवारी खरिद गरेको सो नगरपालिकाले विकास भन्दा सुविधातर्फ अग्रसर भएको भन्दै चेतावनीस्वरुप बिस्फोट गराइएको उनले बताए । झापाका सबै स्थानीय तहमध्ये सुविधासम्पन्न सवारी साधन खरिदमा गौरादह नगरपालिकाले उछिनेको दावी उनको थियो । बिकासका काम नभएको, जनप्रतिनिधिहरु बिवाद र भ्रष्टाचारमा चुलुम्म फँसेको, सुविधाभोगी भएको लगायतका आरोप उनले लगाएका छन् ।