इटहरी/ पछिल्लो समय इटहरी आसपासमा चन्दा आतङ्क बढेको छ । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुनसरीको इटहरी आसपासमा चन्दा आतङ्क मच्चाउन थालेको हो ।

शैक्षिक संस्थाहरूसँगै विप्लव समूहले व्यापारीहरूसँग पनि चन्दा माग्न थालेको हो । नेपालीहरूको चाडपर्व नजिकिएसँगै बजारमा चन्दा आतङ्क बढ्न थालेको छ । अहिले इटहरीको शैक्षिक संस्थाहरूलाई पत्र नै लेखेर चन्दा माग्न थालेको एक निजी विद्यालयका प्रिन्सिपलले बताए । ‘रकम नै तोकेर चन्दा माग्छन् कहाँबाट ल्याएर दिनु ?’ नाम नखुलाउने शर्तमा उनले भने, ‘अहिले मेरो कजेज मात्र होइन, अधिकांश कलेजमा चन्दा मागेका छन् ।’

इटहरीका विश्व आदर्श र सुष्मा कलेजलाई पाँच–पाँच लाख चन्दा माग गरेको बताइएको छ । यस्तै इटहरीकै कस्तुरी कलेज र कोशी सेन्ट जेम्स कलेजलाई तीन–तीन लाख रुपैयाँ चन्दा माग गरिएको छ । तर कलेजहरू भने पैसा मागेको विषयमा बोल्न चाहँदैनन् । पछिल्लो एक महिनामा धेरै विद्यालयहरूमा विप्लवको पत्र पुगेको छ ।

शैक्षिक संस्थाअनुसार विप्लवको चन्दा फरक फरक भएको पाइएको छ । निजी विद्यालयहरूलाई पत्र पठाएर पैसा माग गरेको इटहरीमा नाम चलेको एक निजी स्कुलका सञ्चालकले नाम नछाप्ने शर्तमा बताए । २ लाख र केहीलाई १ लाख रुपैयाँ चन्दा माग गरेको प्रहरीले बताएको छ । व्यापारीहरूसँग समेत चन्दा माग्ने क्रम बढेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जिल्लामा विप्लवको चन्दा आतङ्क बढेको बताए । केही दिनयता सुनसरीका जिल्ला सेक्रेटरीले फोनमार्फत् सबै निकायलाई चन्दा मागेको स्वीकार गरे । बाजुरा घर भएका एक विप्लव कार्यकर्ताले जथाभावी पैसा माग गरे पनि चन्दा दिनेहरूले कुरा लुकाउँदा समस्या भएको बताए ।

व्यापारीहरूले १ हजार १ सयसम्म चन्दा रसिद नै काटेर दिइरहे पनि पैसा दिएको बारे नभन्दा समस्या भएको उनले बताए । अहिले आफूहरू विप्लव कार्यकर्ता खोज्न व्यापकरूपमा लागेको उनको भनाइ छ । सुनसरीको इटहरीबाट विप्लव कार्यकर्ता मोहन कार्कीलाई पक्राउ गरे पनि जिल्ला इञ्चार्जले पैसा मागिरहेको प्रहरीको दाबी छ ।

भदौ १५ गते इटहरीबाट पक्राउ परेका विप्लव कार्यकर्ता कार्कीले पनि इटहरीका विभिन्न कलेज तथा निजी स्कुलमा चन्दा माग गरेको दाबी गरिएको छ । इटहरीमा सञ्चालित एक स्कुलका प्रिन्सिपलले प्रहरीले गैसारबाट पक्राउ परेका कार्कीले धेरै पटक विद्यालयमा आएर चन्दा मागेको दाबी गरे । कार्की विप्लव समूहको सुनसरी जिल्लाको आर्थिक विभागका संयोजक भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

चन्दाकै कारण बम विष्फोट
बिहीबार इटहरीस्थित सुष्मा गोदावरी र धरानको दिल्ली पब्लिक स्कुलमा भएको बम विष्फोटमा आर्थिक कारण भएको प्रहरीले बताएको छ । चन्दा माग गरिएको र नदिएपछि बम हानेर तर्साएको प्रहरीको दाबी छ । अहिले इटहरी क्षेत्रमा मात्र होइन, सुनसरीका विभिन्न स्थानमा विप्लवका जिल्ला सेक्रेटरीले फोनमार्फत् पैसा मागिरहेको जनाइएको छ । तर शैक्षिक संस्थासँगै व्यापारीहरूले समेत प्रहरीलाई भन्ने आँट नगर्दा भने विप्लव कार्यकर्ता पक्राउ पर्न नसकेको जनाएको छ ।