निर्वाचन आयोगले मङ्सीर १४ गते मुलुक भर रिक्त रहेका जनप्रतिनिधिका पदपूर्तिकालागि उपनिर्वाचन गर्ने मिति तय गरिसकेको छ । अब उपनिर्वाचन हुनलाई दुई महिना २१ दिनमात्र बाँकी छ । धरानमा तारा सुब्बाको निधनपछि मेयर र भुवन मोक्तानको निधनपछि धरान उपमहानगरपालिकाको वडा नं.७ को वडाध्यक्ष पद रिक्त रहेको छ । साँच्चै भन्ने हो भने दुईतिहाई मत प्राप्त नेकपाका लागि यो उपनिर्वाचन अग्नि परीक्षा हो । सत्तामा पुगेपछि उसले जनभावनालाई सम्मान गर्दै कति काम ग¥यो र कति बेवास्ता ग¥यो भनेर मतदाताले मूल्याङ्कन गर्ने माध्यम हुनेछ । किनकी मुलुक भरमा प्रतिनिधिसभा १, मेयर १ सहित विभिन्न गाउँपालिका प्रमुख र वडाध्यक्ष गरी ४७ स्थानमा उपनिर्वाचन हुँदै छ । यता धरानको सन्दर्भमा पनि काङ्ग्रेस, नेकपा र समाजवादी पार्टीलाई भूसको आगोझै चुनाव लागेको छ । धरानमा कम मतदाता भएका राप्रपा, जनमुक्ति, मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान, साझा पार्टी नेपाललाई पनि चुनाव लागेको छ । साना दलसँग गठबन्धन गरेर नेकपासँग चुनावी भिडन्त गर्ने आन्तरिक तयारीमा काङ्ग्रेस लागेको छ । यद्यपि, साना दलले काङ्ग्रेसलाई ‘भाउ’ कति दिन्छन् त्यो भने हेर्न बाँकी छ । किनकी पञ्चायतकालको शुरुआती समयमा ‘खरानी’ (कम्युनिष्ट) र ‘गोबर’ (कांग्रेस) को ट्याग भिराइएका बीच नै मुख्य प्रतिस्पर्धा हुने हो धरानमा ।

इतिहासदेखि नै खरानीले गोबरलाई कहिलै जित्ने अवसर दिएको छैन । केन्द्रमा गोबरले सत्ता चलाउँदा धरानमा खरानीमय हुने गरेको इतिहास छ । यो इतिहास गएको दुई वर्ष अघिसम्म जारी रह्यो । अहिले केन्द्रदेखि प्रदेश र स्थानीय तहमा खरानीको वर्चस्व रहेको बेला धरानमा गोबरे उम्मेदवारले जिते पुरानो इतिहास उल्टिनेछ । तर इतिहास उल्टाउनका लागि गोबर टिमले समाजवादी पार्टीलगायत अरू सानादलसँग महागठबन्धन गरे पनि चुनावी अङ्कगणित भने खरानीकै पक्षमा बलियो देखिएको छ । किनकी गएको चुनावमा तात्कालीन एमालेका उम्मेदवार तारा सुब्बाले कुल मत ७९ हजारमा खसेको मतको २० हजार ९ सय ७५ मत, माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याएका थिए । काङ्ग्रेसका उम्मेदवार तिलक राईले १६ हजार १ सय २ मतमा चित्त बुझाएका थिए । अहिले एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको छ । स्थानीय तहको चुनावमा एमाले र माओवादी केन्द्रको खसेको मत जोड्दा ३२ हजार १ सय ५५ मत हुन जान्छ । पछिल्लो समयमा धरानमा करिब १३ हजार मत थपिएका छन् । ती मत पनि समानुपातिक रूपमा बाँडफाँड गर्दा नेकपाको भागमा आधा भन्दा बढी नै जाने भयो । थपिएको आधा मत काङ्ग्रेस, समाजवादी र अन्य सानादलमा जान्छ । अब ती सबै मतमध्ये गठबन्धन भएको अवस्थामा काङ्ग्रेसलाई समाजवादीको ५ हजार मत र अन्य साना दलको मत दिँदा पनि ३० हजार कटाउन मुस्किल देखिएकाले चमत्कार हुनैपर्ने हुन्छ । अर्थात् धरानको सवालमा गोबर काङ्ग्रेसले खरानी नेकपालाई पराजय गरेर चारतारे झण्डा फर्फराउनका लागि कि चामत्कारिक उम्मेदवार छानेर, खोजेर टिकट दिनु प¥यो कि गुटमा विभाजन भएका कार्यकर्तालाई एकै ठाउँ ल्याएर ४० हजार भन्दा बढी ‘न्यूट्रल’ मतदातालाई कन्भिन्स गर्न सक्नु प¥यो । के काङ्ग्रेसमा यस्तो सम्भावना छ ?

खरानी नेकपा त धरानमा लट्ठी वा एउटा मूर्तीमात्र पनि नेकपाको उम्मेदवार भनेर राख्यो भने पनि जितिन्छ भन्ने पुरानो मनोविज्ञान पालेर बसेको छ । यो मनोविज्ञानको भ्रम पालेर खरानी नेकपा यसपालीको उपनिर्वाचनमा पनि मुर्ती (मुर्ती सरहको) उम्मेदवारलाई टिकट दिए मेयर पद गुमाउनु पर्ने अनुमान गर्न सकिन्छ । मुर्ती उम्मेदवारले जिते पनि धरानको विकास निर्माणको भिजन, मिसन र गोलसहितको गुरु योजना बनाउन र केन्द्र र प्रदेसलाई ललकार्न सकेन भने फेरि धरान पछिको पछि नै पर्नेछ । किनकी नेकपाको सन्दर्भमा धरानलाई अब जित्ने उम्मेदवारमात्र चाहिएको छैन, धरानको कायापलट गर्ने, सङ्घीय सरकार र प्रदेश सरकारसँग बजेट खोसेर ल्याउने हुती भएको ड्यासिङ पावरवाला मेयर चाहिएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्थाकाल सम्ममा यहाँबाट रातारात सारिएका दर्जन बढी क्षेत्रीय स्तरका सरकारी निकाय, कार्यालयलाई पुनस्र्थापित गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सांस्कृतिक ग्रामको केन्द्र बनाउने, कार्यकर्तालाई मात्र भर्ती नगरेर सर्वसाधारणलाई समेत रोजगारीको अवसर दिलाउने, सुकुम्बासी, पिछडिएका समुदायलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने, खानेपानी आयोजना, धरानको बसपार्क, हवाइ मैदान, सेउती र सर्दुको करिडोर निर्माण गरेर देखाउने साच्चीको मेयर चाहिएको छ । के नेकपाले यस्तो उम्मेदवार खोज्दै छ ?