सिरहा । जिल्ला कमिटी सदस्यको नामावलीमा सहमति नभई शपथ गराउन लागेपछि बढेको विवादले प्रदेश नम्बर २ स्थित महोत्तरी जिल्लाको बर्दिवासमा नेकपा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ । विवादित जिल्ला कमिटीको शपथ रोक्नुपर्ने माग गर्दै नेकपा कार्यकर्ता विरोधमा उत्रिएपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

बर्दिबासमा आयोजना गरेको प्रदेश २ भित्रकै ८ वटै जिल्लाको जिल्लाका पदाधिकारीको सपथ ग्रहण समारोहमा असन्तुष्ट पक्षले अवरोध गरेपछि झडप भएको हो । नेकपा प्रदेश कमिटी अध्यक्ष प्रभू शाह र सचिव सुमन प्याकुरेलले सिरहा र सप्तरीका विवादित जिल्ला कमिटी सदस्यलाई शपथ गराउने तयारी गरेका थिए ।

विवाद समाधान नगरी प्रदेश कमिटीले बर्दिवास सेवा समितिको हलमा शपथ गराउन लागेको विरोधमा केही कार्यकर्ताले हो –हल्ला गर्दै कार्यक्रम बिथोल्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको घटनास्थलमा रहेका नेकपाका सदस्यले बताए ।

विरोधमा उत्रिएका कार्यकर्ताले अध्यक्ष शाह र सचिव प्याकुरेलमाथि हातपात समेत गरेका थिए । प्रहरीको लाठीचार्जबाट नेकपा कार्यकर्ता घाइते भएका छन् ।

विरोधमा प्रदेश कमिटी सदस्य देवनाथ यादवको टाउको फुटेको र उनको बर्दिवास अस्पतालमा उपचार भइरहेको सदस्यले जनाएका छन् । शपथ ग्रहणस्थल तनावग्रस्त बनेको जनाइएको छ ।