उदयपुर/ उदयपुरको कटारी अस्पतालका निर्माणाधीन म्युजिकल गार्डेन, रेक्टो, रेनोभेसनको काम अझै सकिएको छैन । सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशको ६२ लाखको लागतमा अस्पतालको काम असार मसान्तसम्ममा सक्नुपर्ने भए पनि ढिलासुस्तीले अझै नसकिएको हो ।

प्रदेश सरकारबाट आएको ५५ लाखको कामको मूल्याङ्कन गरी ५ प्रतिशत धरौटी काटेर ५२ लाख ५० हजार भुक्तानी दिइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका लेखापाल यादव निरौलाले बताए । साउन १० गतेभित्र काम सक्ने नगरपालिका र अस्पतालका डाक्टरले प्रमाणित गरेपछि समितिलाई भुक्तानी दिएको उनले बताए ।

अस्पतालको काम गर्नका लागि सुबोध तामाङको अध्यक्षतामा समिति गठन गरिएको भए पनि ठेकेदार कम्पनी र्यापिड सर्भिस प्रालि बालाजुलाई काम दिइएको खुलेको छ । समितिबाट गर्नुपर्ने कामहरू ठेकेदारलाई दिन नहुने प्रावधान रहेको छ ।

टेण्डर हालेर लो रेटमा काम गर्ने गरी कम्पनी कटारी आएपछि समिति गठन गरेर काम गर्ने कुरा भएको ठेकेदार कम्पनीका सञ्चालक कृष्ण ढकालले बताए । कटारी नगरपालिकाका जनप्रतिनिधिहरूलगायतका सरोकारवालाहरूको सहमतिबाट ५० लाखमा काम गरेको ढकालले बताए । निर्माण सामग्री कटारीमा नपाउने भएकाले अरू ठाउँबाट ल्याउनु पर्ने हुँदा घाटा परेको ढकालले बताए ।

समितिले हालसम्म ४० लाखमात्रै दिएको उनको भनाइ छ । जेठ अन्तिमबाट काम थालेको र पारिवारिक समस्याले गर्दा काम ढिलो भएको ढकालले बताए । काठमाडौंमा काम गरिरहेको अवस्थामा कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र अस्पतालका डाक्टरहरूले आफ्नो अस्पतालमा काम गर्न आग्रह गरेपछि कटारी आएको ढकालले बताए ।

नगरपालिकाका मेयर र अस्पतालका डाक्टरहरूले बजेट फ्रिज हुने अवस्था रहेको भन्दै समितिमा बसेर सहयोग गर्न आग्रह गरेपछि समितिमा बसेको समितिका सचिव राजकुमार थापाक्षेत्रीले बताए । बजारमा निर्माण सामग्री उधारो किनिदिएको र अझै चार–पाँच लाख तिर्न बाँकी रहेको थापाले बताए । जिल्ला जनस्वास्थ्यले ५२ लाख ५० हजार भुक्तानी गरेको जनाए पनि समितिले ठेकेदार कम्पनीलाई ५० लाखमा काम दिएको खुलेको छ । दुईलाख ५० हजार बीचमै गायब भए पनि अझै समितिले ठेकेदारलाई १० लाख दिन बाँकी रहेको छ । काम पूरा नभई कागजात बनाउन जिम्मेवार कटारी नगरपालिकाका इञ्जिनियर भूपेन्द्र यादवले असार २५ गतेभित्र चेक काटिसक्नुपर्ने भएकाले कामको असी प्रतिशत प्रगति हेरेर ५ लाख घटाएर भुक्तानी गर्न पास गरिदिएको बताए ।

मजदुरले पैसा पाएनन्
यता ठेकेदार कम्पनीले तीन महिनादेखि पारिश्रमिक नदिएको कामदारहरूले बताएका छन् । कटारी नगरपालिका–३ च्याँगाका २५ जना मजदुरले तीन महिनादेखि अझै पैसा पाएका छैनन् । काम गरेको पैसा नपाएपछि समाजवादी ट्रेड युनियन महासङ्घका सचिव यज्ञ राईको पहलमा इलाका प्रहरी कार्यालयमा मजदुरले छलफल गरेका थिए ।

कामदार र ठेकेदारबीचको छलफलपछि राईको जिम्मेवारीमा ढकालले आगामी असोज १ गते पैसा निकाल्न मिल्ने गरी सहमतिमा ५ लाख ५७ हजारको चेक थमाइदिएका छन् । खातामा पैसा नभएको चेक दिन वा लिन नपाइने भए पनि कटारी अस्पतालका डा.गौरव साहले समेत समितिबाट अभैm १० लाख लिन बाँकी भएकाले १ गतेभित्र निकाल्न सकिने आग्रह गरेपछि चेक बुझेको राईले बताए ।

दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरूले तीन महिनादेखि पैसा नपाएपछि ठूलो समस्यामा परेको कामदार भक्त तामाङले बताए । काम गरेको पैसा माग्दा पैसा आएको छैन भनेर टार्ने गरेको उनले बताए । काम मात्रै लगाउने र पैसा माग्दा ढकाल झर्किने गरेको उनले बताए । मजदुरहरूले प्रतिव्यक्ति ४३ हजारभन्दा बढी लिन बाँकी रहेको कामदार लवकुश माझीले बताए ।

cheque