एक पेटी एक सडक रणनीति

alt
  • भदौ २५, २०७६
  • २२१ पटक पढिएको
  • राजेन्द्र किराती

पृष्ठभूमि
वर्तमान विश्व अर्थराजनीतिमा परम्परागत उपनिवेशवादको अन्त्य भइसकेको छ । आज कुनै पनि शक्ति राष्ट्रहरू कमजोर राष्ट्रहरू माथि पुरानै शैलीमा प्रभाव कायम गर्नसक्ने वस्तुगत अवस्थामा छैनन् । यद्यपि यसको अर्थ आज उपनिवेशवादी हस्तक्षेप छैन भन्ने होइन । यसले आफ्नो पुरातन प्रक्रिया र पद्धतिमा सारभूत रूपमै फेरबदल गरिसकेको छ । आज प्रभाव कायम गर्न उसले निकै घुमाउरो बाटो हिंड्नु पर्ने वाध्यता छ । अर्थात् विकास र समृद्धि वा दानापानी सहितको हस्तक्षेप मात्रै सफल हुँदै छ । यसैक्रममा शक्ति राष्ट्रहरूले पनि विभिन्न क्षेत्रीय साझा आर्थिक विकास अवधारणाहरूमार्फत् पहल सृजना गरिरहेका छन् । यही रणनीतिअन्तर्गत चिनले ओवर र अमेरिकाले इन्डोप्यासिफीक रणनीतिलाई अघि बढाएका छन् । यो संयोग मात्र होइन ।

सन् २०१३ मा राष्ट्रपति सीजिन पीङले ‘एक पेटी एक सडक’ नामक बहुराष्ट्रिय आर्थिक विकास साझेदारी र लगानीको बृहत् परियोजना घोषणा गरे । यो साझा एवं सञ्जालीकृत र सम्पर्कित विकास अवधारणा हुनुको साथै चिन केिन्द्रत व्यापारिक सञ्जालमार्फत् विश्वमा चिनको प्रभाव विस्तार गर्ने रणनीतिमा आधारित देखिन्छ । साझा उद्देश्य प्राप्तिको लागि छिमेकीहरूमा स्थायित्व सहितको सम्बन्ध विस्तार गर्दै आर्थिक तथा सुरक्षा रणनीतिमा यसले जोड गर्दछ । यो आधुनिक विश्व इतिहासकै सबैभन्दा ठूलो भूमण्डलीकृत पूर्वाधार विकास परियोजनाको सञ्जाल हो । यसले विश्वव्यापी रूपमा व्यापक बहस मात्र होइन, नयाँ भूराजनीतिक रणनैतिक युगको उद्घोष पनि गरेको छ । यो परियोजना जनवादी गणतन्त्र चिन स्थापना भएको शतवार्षिकी अर्थात् २०४९ सम्ममा सम्पन्न गर्ने महान् लक्ष्य राखिएको छ ।

इतिहास
वस्तुतः यो प्राचीनकालको सिल्क रोड अवधारणाकै विकसित रूप हो । हान वंशको शासन कालमा अर्थात् क्राइष्ट भन्दा १३० वर्ष अघितिर मध्यपूर्व र युरोपसम्म लामो व्यापारिक मार्ग बनाइएको थियो । यसलाई प्राचीन सिल्क रोड भनिन्थ्यो । अटोमन साम्राज्य विस्तारपछि पश्चिमसँगको व्यापार बहिष्कार गरेसँगै सिल्क रोड व्यापार एकाएक बन्द भयो । यो सन् १४५३ सम्म कायम रहेको देखिन्छ । प्राचीन सिल्क रोडलाई मानव सभ्यता विकास र विस्तारको कोशेढुङ्गाको रूपमा लिइन्छ । यसले पश्चिमसँग राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तारमा पुलको काम गरेको देखिन्छ । यही प्राचीन व्यापारिक मार्गको विकसित, विस्तारित, परिमार्जित र सुदृढ रणनैतिक पहलहरू नै ओवर र इन्डोप्यासिफिक अवधारणाहरू हुन् । यो २१औं शताब्दीको जटिल विश्व अर्थराजनीतिमा पकड जमाउने नयाँ रणनैतिक अस्त्र पनि हो ।

प्रकृति
यो भौतिक संरचना विकास, साझा लगानी र साझेदारीमा आधारित विश्वव्यापी परियोजना हो । “साझा समृद्धिको लागि एक पेटी एक सडक” भन्ने मूल नारा सहित उद्घोष गरिएको विश्वव्यापी योजनाको प्रकृति, चरित्र, उद्देश्य, सम्भावना र समस्याको बारे चारैतिर बहस भइरहेको छ । यसको चरित्र भू–आर्थिक कि भू–राजनीतिक भन्ने सन्दर्भमा गम्भीर छलफल केन्द्रित छ । चिनियाँहरूले यसलाई मूलतः साझा पूर्वाधार विकास, साझेदारी र साझा व्यापारमार्फत् साझा समृद्धिको रणनीति भनेका छन् । यता अमेरिका र भारतले यसलाई भूराजनीतिक र भू–सामरिक भन्दै शङ्काको घेरामा राखेका छन् । यसमा भू–राजनीतिक, भू–आर्थिक, भू–सामारिक र भू–साँस्कृतिक रणनीतिहरू अन्तरनिहित रहेको दाबी गरिएको छ । यो बहुआयामिक, बहुउद्देश्यीय र दीर्घकालिक रणनैतिक उद्देश्यमा निर्भर देखिन्छ ।

क्षेत्र
वस्तुतः यो विश्वको ६८ भन्दा बढी मुलुकलाई आर्थिक, सामरिक र सांस्कृतिरुपमा जोड्ने सम्पर्क रणनीति हो । ओवर भित्र विश्वको ६५ प्रतिशत जनसङ्ख्या र कुल ग्रार्हस्थ उत्पादनको ४० प्रतिशत हिस्सा पर्दछ । यसले मध्य एशियाबाट अफ्रिका हुँदै युरोप जोड्ने पुलको काम गर्नेछ । रेशम मार्ग र २१ औं शताब्दीको सामुद्रिक रेशम मार्गलाई विशेष आर्थिक करिडोर भनेर परिभाषित गरिएको छ । स्थल रेशम मार्गलाई छ वटा विशेष क्षेत्रीय आर्थिक करिडोरमा विभाजन गरिएको छ । यसमा पहिलो उत्तरतर्फ पश्चिम चिन–पश्चिम रसियासम्म, दोस्रो चिन–मङ्गोलीया हुँदै पूर्वी रसियासम्म, तेस्रो पश्चिम चिन–पश्चिम एशिया हुँदै टर्कीसम्म, चौथो दक्षिण चिन–भियतनाम, लाओस, थाइल्याण्ड र मलेशिया हुँदै सिङ्गापुरसम्म, पाँचौ दक्षिण चिन–म्यानमार र बङ्गलादेश हुँदै भारतसम्म र छैटौं चिन–पाकिस्तानको बलुचिस्तान हुँदै गोदार बन्दरगाहसम्मको आर्थिक करिडोर मुख्य देखिन्छ । उता सामुद्रिक रेशम सडक अन्तर्गत सामुद्रिक मार्गमार्फत् चिनको तटीय क्षेत्र सिङ्गापुर, हिन्द महासागर, अरबसागर, भूमध्यसागर हुँदै युरोपसम्मको अन्तरमहासागरीय आर्थिक करिडोर पर्दछ ।

उद्देश्य
वास्तवमा ओवर भनेको बहुराष्ट्रिय आर्थिक साझेदारी र लगानी अवधारणा हो । यो भू–राजनीतिक रणनीति मात्र नभएर चिनको आन्तरिक आर्थिक समस्यासँग अभिन्न रूपमा गाँसिएको सवाल हो । यद्यपि यसमा रणनैतिक चालकहरू पनि नभएका होइनन् । मूलभूत रूपमा यो आन्तरिक गहिरो आर्थिक खाडल सम्याउनुमा केन्द्रित छ । साझा पूर्वाधार निर्माण र व्यापारमार्फत् साझा समृद्धि यसको रणनैतिक लक्ष्य हो । चिनको पूर्वी तटबाट झण्डै पाँच हजार किमी टाढा रहेको सिन्जीयाङ, तिब्बत, क्वीनघाई र गान्सु प्रान्तहरू तटीय क्षेत्रभन्दा पाँच गुणा कम विकसित रहेका छन् । यही चरम असमानता र पछौटेपनकै कारण सिन्जीयाङमा उहीघुर मुश्लीम अतिवाद हाबी भएको चिनियाँहरूको निष्कर्ष छ । यसको लागि पनि सन्तुलित विकास अपरिहार्य भएकोछ । विश्व तथा क्षेत्रीय अर्थतन्त्रको सीप र अुनभवलाई जोड्दै आफ्नो आन्तरिक अर्थतन्त्र सुदृढ गर्ने चिनियाँ रणनीति देखिन्छ ।

मूलतः सृजना र उत्पादनमा आधारित अर्थतन्त्र निर्माण यसको मुख्य लक्ष्य हो । चिनियाँ उद्योगहरूको स्तरीकरण, उत्पादन वृद्धि अनि आन्तरिक पहुँच क्षमता अभिवृद्धि गर्नु अर्को मूलभूत उद्देश्य हो । यसले उत्पादनमूलक उद्योगहरूलाई अझ रचनात्मक, गुणात्मक र साना उद्योगहरूलाई पुनःसंरचना गर्ने लक्ष्य राखेको छ । चिनियाँ प्रविधिलाई ओवर मुलुकहरूमा विस्तार गरी उपकरणहरु खपत गर्दै चिनियाँ कम्पनीलाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने रणनैतिक उद्देश्य लिएको छ । चिनियाँ मान्यतामा तेस्रो दर्जाको कम्पनीले सामान, दोस्रो दर्जाको कम्पनीले प्रविधि र पहिलो दर्जाको कम्पनीले स्तर र गुण कायम गर्नुपर्ने हुन्छ । उसको लक्ष्य पहिलो दर्जाको कम्पनी बनाउने देखिन्छ । चिनले यो भिमकाय पूर्वाधार निर्माणमार्फत् व्यापक सम्पर्क र साझेदारी विस्तार गरेर विश्वमा आर्थिक नेतृृत्व सुदृढ गर्ने रणनीति लिएकोमा दुईमत छैन ।

दू्रत रेल प्रविधि चिनियाँ आर्थिक विकासको मेरुदण्ड हो । उसले यही प्रविधिमार्फत् तीव्र आर्थिक विकास गर्ने लक्ष्य लिएको छ । यसको लागि करिब दश हजार वैज्ञानिक र इन्जिनीयरहरू विदेशमा अनुसन्धान गरिरहेका छन् । चिनमा विश्वको आधाभन्दा बढी द्रूत रेलमार्ग छ । उसले थाईल्याण्ड, इण्डिया, इन्डोनेशिया र मलेशियालगायतका मुलुकहरूमा यो प्रविधि विस्तार गर्दै छ । जाकार्ता–वाण्डुङ १४२ किमी. द्रूत रेलमार्ग जापानलाई प्रतिस्पर्धामा उछिन्दै चिनले ठेक्का पारेर काम गरिरहेको छ । यो नाफाभन्दा प्रविधिको अन्तरराष्ट्रियकरण गर्ने मान्यतामा आधारित रहेको छ । यस अतिरिक्त इन्धन र दूरसञ्चार क्षेत्रमा पनि ओवर केन्द्रित छ । मध्य एशियाली मुलुकमा तेल र ग्यास क्षेत्रमा व्यापक लगानी गरी चिनियाँ पेट्रोलियम उद्योगलाई स्तरीकरण गरिदै छ । निर्माण इन्जिनीयरिङ, द्रूत रेल, विद्युत् परिचालन संयन्त्र र दूरसञ्चार प्रविधिलाई अन्तरराष्ट्रियकरण गरिद ैछ । यसले एशिया र अन्य मुलुकहरू बीचको पूर्वाधार असन्तुलनलाई न्यूनीकरण गर्दै समान हैसियतमा पुर्याउने लक्ष्य राखेको छ ।

समस्या र चुनौती
मूलतः यस्तो विशाल, बहुआयामिक लगानी र बहुउद्देश्यीय परियोजना मुलुकहरूमा एकसाथ ९ सय भन्दा बढी योजना कार्यान्वयनमा कम्तीमा ९ सय विलीयन डलर जरुरी छ, जुन स्रोत पहिचान गर्नु सामन्य कुरा होइन । तेस्रो, यो दशकौंसम्म निरन्तर सञ्चालन हुने अभियान हुनाले वर्तमान परिवेश र मनोविज्ञानले मात्र पुग्दैन । चौथो, करिब दुई तिहाई मुलुकहरूसँग आफै लगानी गर्ने क्षमता छैन । पाँचौं, चिन–पाकिस्तान आर्थिक करिडोरबाट भारत–अमेरिका तर्सिएका छन् । यसमा भारतको ऐक्यबद्धता नरहने सम्भावना बढी छ । यता पाकिस्तानले सुरक्षाको लागि १२ हजार सैनिक परिचालन गरिसकेको छ । सातौं, काश्मीरमा जारी आतङ्कवादी हिंसा पनि गम्भीर देखिन्छ ।

आठौं, चिनियाँ वित्तीय कम्पनीहरूले आतङ्कवाद र अस्थिरताकै कारण ठूलो परिमाणमा लगानी गर्न हिच्किचाइरहेका छन् । उनीहरू क्यानाडा र अष्ट्रेलियामा जस्तो लगानी गर्ने अवस्थामा छैनन् । नवौं, कतिपयले यसलाई अमेरिकी नतृत्वमा रहेको इन्डोप्यासिफिक रणनीतिको समानान्तर र प्रतिस्पर्धी मोर्चाबन्दीको रूपमा लिएका छन् । तब अमेरिका र चिनको अन्तरविरोधको पराकाष्ठामा चुनौती झेल्नुपर्ने खतराबाट सशङ्कित छन् । यस्तो मनोवैज्ञानिक आतङ्कमा लगानीमैत्री वातावरण बन्दैन । यसरी बृहत् क्षेत्र, बृहत् लगानी, बृहत् समय र बृहत् परिणाममा सञ्चालित विश्व–परियोजनाको सम्भावनासँगै जटिल समस्या पनि उत्तिकै रहेको देखिन्छ ।

सम्भावना
वर्तमान विश्व अर्थराजनीतिक धरातलमा ओवरको राजनैतिक, सामरिक, आर्थिक र सांस्कृतिक रणनैतिक महŒव अवश्य नै छ । यसको कार्यान्वयनसँगै थुप्रै सम्भावनाका ढोकाहरू खुल्नेछ । यसलाई चिनियाँहरूले विश्व शान्ति, समृद्धि, भाइचारा, पूर्व पश्चिम सहकार्य र समन्वयात्मक अभियानको रूपमा ग्रहण गरिरहेका छन् । यसले ज्ञान र अनुभव आदनप्रदानबाट साझा सिकाइ, मान्छेको प्रवाहबाट दोहोरो नाफा आर्जन गर्दै स्वतन्त्रता र समृद्धि ल्याउने लक्ष्य छ । सडक, रेलवे, पाइपलाइन, आर्थिक करिडोर विकासमार्फत् पूर्वाधार तथा व्यापार सम्पर्क बढाउने रहेको छ । ओवर मुलुक बीचको व्यापार ३ खरब डलर हुनुको साथै १८ करोड रोजगारी सृजना हुनेछ । यस्तो उच्च वित्तीय सम्पर्कले लगानी विविधिकरण र नयाँ वित्तीय सञ्जाल निर्माण हुनेछ । कृिष र खनिज उद्योग फस्टाउनेछन् । जहाँ आज पनि करोडौं किसानहरू सहभागी छन् । उनीहरूको व्यवसायिक सुनिश्चितता पनि अपरिहार्य देखिन्छ ।

ओवर विश्व तथा क्षेत्रीय शान्ति, आर्थिक एकरूपता, शिक्षा, पर्यटन, सभ्यता, समावेशिता र विकासलाई एकसूत्रमा जोड्ने पुल बनिरहेको छ । चिनले यसबाट शान्ति र सहअस्तित्वको मूल्य–मान्यता अनुसार विश्वव्यापी सम्बन्ध विस्तार र सुदृढ गर्नेछ । यो ओवर मुलुकहरू बीचमा मित्रता, भाइचारा, सहअस्तित्व र समृद्धिको पुल हुनेछ, जसको लागि बलियो र विशाल बजार आवश्यक देखिन्छ । चिनले लगानी बढाउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मञ्च आयोजना गर्न ३० भन्दा बढी मुलुकसँग व्यापार सम्झौता गरिसकेको छ । उसले यसलाई विशाल सफलतातर्फको पहिलो पाइला भनेको छ । यो राष्ट्र सङ्घको २०३० को दिगो विकास लक्ष्यलाई हासिल गर्न निर्णायक हुनेछ । त्यस्तै यस परियोजनामार्फत् चिन–म्याड्रीड एक्सप्रेस वे, पूर्वी चिनदेखि लण्डनसम्मको रेलवे लाइन विस्तार अनि वैदेशिक नीति, कुटनीति र आन्तरिक आर्थिक रणनैतिक विकासमार्फत् चिनको ऐतिहासिक प्रभाव र प्रभुत्वको विरासतलाई पुनःस्थापना गर्ने लक्ष्य राखेको छ ।

निष्कर्ष
ओवर र इन्डोप्यासिफिक दुवै समानान्तर रणनीतिहरू हुन् । प्राचीन रेशम मार्गले एशिया, युरोप र अफ्रीकालाई जोडेको थियो । यसैको पछिल्लो रणनैतिक संस्करण नै ओवर हो । यो मूलतः आन्तरिक आर्थिक असन्तुलनको गहिरो खाडल पुर्न सहयोगी हुनेछ । पूर्वाधार विकास र व्यापारमार्फत् विश्वभरि व्यापक सम्पर्क बढाउनेछ । चिनलाई विश्वकै शक्तिशाली बनाउनुको साथै छिमेकमा आर्थिक, राजनीतिक र सांस्कृतिक प्रभाव कायम गर्नेछ । रसीया र युरोपीयन युनियनलाई जोड्दै एशिया केन्द्र बनाएर अमेरिकालाई सन्तुलनमा राख्नेछ । वित्तीय प्रणालीको ज्ञान र अनुभवहरूको व्यापाक रूपमा आदान–प्रदान गर्नेछ । उता सिङ्गापुर भएर खर्चिलो इन्धन आपूर्तिको सट्टा पाकिस्तानको गोदार बन्दरगाहबाट इन्धनलगायतका सामानहरू आपूर्ति गरिनेछ । क्षेत्रीय बृहत् आर्थिक साझेदारीमार्फत् चिन स्वतन्त्र व्यापारको विश्व च्याम्पियन बन्ने सम्भावना रहेको छ ।

तसर्थ, यो भू–राजनीतिक, भू–सामरिक र भू–औपनिवेशिक भन्दा पनि भू–आर्थिक, साझेदारी र लगानीमा आधारित हुनुपर्दछ । प्रभुत्व र हस्तक्षेप भन्दा शान्ति र सहआस्तित्व अन्तर्गतको साझा विकासमा जोड गर्नुपर्दछ । अन्यथा यो सकरात्मक अपेक्षा राख्दा राख्दै पनि शक्ति प्रदर्शनको खेल जस्तो हुन पुग्दछ । द्वन्द्वले साझा पूर्वाधार लगानी, व्यापार, उद्देश्य र साझा प्रयत्नद्वारा साझा समृद्धि सम्भव हुँदैन । त्यसैले ओवर र इन्डोप्यासिफिक रणनीतिहरू साझा आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्दछ । थोरै मात्र विवेक गुम्यो भने, यो द्वन्द्व र झगडाको धु्रवीकृत मोर्चाबन्दी बन्ने खतरा बढी देखिन्छ । त्यसैले यसलाई भड्काउनु र भड्किन दिनु हुँदैन । यसमा सरोकारवालाहरू असाध्यै गम्भीर बन्नुपर्दछ ।

१२ दल र ११ स्वतन्त्र ...

देउराली । आगामी मंसीर १४ मा हुन गइरहेको उपनिर्वाचनकालाग ...

अपडेट : दिल्ली पब्लि ...

धरान / गत भदौं २० गते राती धरान–१८ स्थित वीप ...

क्याम्बोडियन सरकारको ...

धरान / यही नोभेम्वर २१ देखि क्याम्वोडियामा हुने एस ...

धरान ६ का निलम्बन प् ...

विराटनगर ।  निलम्बन प्रहरी जवानलाई अवैध लागूऔषधसहि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved