इटहरी/ मुख्यमन्त्री शेरधन राईले इटहरी रङ्गशालालाई प्रादेशिक रङ्गशाला बनाउने तयारी थालेको बताएका छन् ।

इटहरीमा मङ्गलबारबाट शुरु भएको नवौं पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले इटहरी रङ्गशाला परिसरमा विभिन्न १२ वटा खेलकुदका प्रतियोगिता गर्न सक्ने भौतिक संरचना निर्माणको क्रममा रहेको बताए । एक नम्बर प्रदेश खेलाडी उत्पादनको उर्वरभूमि भएकाले खेलकुद क्षेत्रको विकासका लागि यस वर्ष ४२ करोड बजेट छुट्याएको मुख्यमन्त्री राईले बताए ।

कार्यक्रममा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश एकका सबै जिल्ला र १ सय ३७ पालिकामा खेल मैदान बनाउन प्रदेश सरकारले शुरु गरिसकेको बताए । राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव केशवकुमार विष्टले भौतिक पूर्वाधारले पूर्ण सुविधायुक्त इटहरी रङ्गशाला परिसरको कभर्डहलमा सातौं साग गेमको ब्याडमिन्टन प्रतियोगिता गर्न माग गरे ।

राष्ट्रिय व्याडमिन्टन सङ्घ नेपालको आयोजना तथा सुनसरी व्याडमिन्टन एकेडेमी इटहरीको सहआयोजनामा शुरु प्रतियोगिता ५ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा २ सय जनाले बेग्ला बेग्लै समूह अन्र्तगत प्रतिस्पर्धा गर्ने सुनसरी व्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्कीले जानकारी दिए ।

प्रतियोगितामा पुरुष सिङ्गल, डबल महिला सिङ्गल डबल, यु १७ युवा सिङ्गल, यु १७ महिला सिंगल र भेट्रान टिम विभाजन गरी प्रतिस्पर्धा गराइने कार्यक्रम संयोजक देवराज मादेनले बताए । सो अवसरमा इटहरी रङ्गशालास्थित व्याडमिन्टन कभर्डहलको पनि उद्घाटन गरिएको थियो ।