दमक/ वर्षौदेखि द्विविधामा रहेको दमकको भ्यूटावर अब बन्ने निश्चित भएको छ । भ्यू टावरको निर्माण सम्बन्धी कामसमेत सञ्चालन भइसकेको छ ।

दमक–३ मा बन्न लागेको २५ तलाको अग्लो भ्यूटावरको काम सञ्चालन भइसकेको हो । पूर्व पश्चिम राजमार्गको कृष्ण मन्दिर सडक खण्डबाट करिव २ किलोमिटर उत्तरमा रहेको भ्यू टावर निर्माण सम्पन्न भए स्थानीयबासीलाई राहत महसुस हुने बताइन्छ ।

भ्यू टावर पुग्नका लागि कृष्णमन्दिरबाट जनताचोक सम्मको बाटो कालोपत्रेको काम अन्तिम चरणमा रहेको छ । दमक–३ का वडाध्यक्ष नवीन बरालले चालू आर्थिक वर्षभित्रै सडकको काम सम्पन्न हुने बताए । भ्यू टावर निर्माणको लागि हाल रहेको भन्दा बढी विद्युत् चाहिने भएकाले ८ वटाभन्दा बढी बिजुलीका पोलहरू ठड्याइएको छ । भ्यू टावर निर्माणका लागि ११ केभी क्षमता भएको ट्रान्सफर्मर जडान हुने दमकस्थित विद्युत् प्राधिकरणले जनाएको छ ।

damak-view-tower-ko-fotos-(

यस्तो बन्दैछ भ्यू टावर
५ बिघा क्षेत्रफलमा निर्माण हुन लागेको भ्यू टावर अन्तर्राष्ट्रियस्तरको हुने दाबी गरिन्छ । २५ तला पक्की संरचना बन्नेछ । त्यसमाथि थप ५ तलाको स्टिलको संरचना बन्ने छ । हरेक तलामा विभिन्न प्रकारका सपिङ कम्पलेक्स, रेष्टुरेण्ट, कार्यालय बन्ने छन् ।

दमक भ्यू टावर १० कठ्ठा क्षेत्रमा बन्नेछ भने बाँकी क्षेत्रमा अन्य संरचना बनाइने सघन शहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर भुपेन्द्र यादवले बताए । यादवका अनुसार भ्यू टावर बाहेक यहाँ बाल उद्यान समेत बन्नेछ । २ सय ४० वटा सवारी क्षमतासहितको पार्किङ स्थल बनाइने यादवले बताए । जसमध्ये ४० वटा चार पाङ्ग्रे र बाँकी २ सयमा मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।

अहिले ५ बिघा क्षेत्रफल बराबरको आफ्नो जग्गा संरक्षण गर्नका लागि वरिपरि वाल लगाउने काम अन्तिम चरणमा पुगेको छ । भ्यू टावर बन्ने मुख्य स्थानमा पाइल खन्ने काम धमाधम भइरहेको छ । अहिले नमूनाका लागि एउटा पाइल खनिसकिएको छ । न्यूनतम ३ सय वटा पाइल खन्नुपर्ने भएकोले दशैं अगावै पाइल खनिसक्ने योजना रहेको उनले सुनाए ।

भ्यू टावर निर्माणका लागि गत वर्ष काठमाडौंको जेडसिजिआइजीसी आशिष ओम साइराम जेभीले १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता गरेको छ । आगामी २०७८ पुष २७ गते निर्माण सम्पन्न गर्र्ने गरी निर्माण कम्पनीले २०७६ जेठ २७ गते सरकारसँग सम्झौता गरेको छ ।