भद्रपुर/ काठ तस्कर र सामुदायिक वन समितिका पदाधिकारी बिच झडप हुँदा तीनजना घाइते भएका छन् ।

काठ तस्कर समूहले समितिका पदाधिकारीमाथि धारिलो हतियार खुकुरी प्रहार गर्दा तीन जना गम्भीर घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते हुनेमा कन्काई नगरपालिका २ का ३२ वर्षीय डम्बर बहादुर राई, सोही ठाउँका ४० वर्षीय मेघबहादुर पौडेल र ३६ वर्षीय विनोद राई रहेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

तस्कर समूहको खुकुरी प्रहारबाट डम्बरबहादुरको टाउको र बायाँ हात काटिएको, मेघबहादुरको दुवै हातको पाखुरा काटेको, शरीरको विभिन्न भागमा चोट लागेको र विनोदको टाउको, चिउँडो र बायाँ हत्केला काटेको डिएसपी श्रेष्ठले बताए । घाइते तीनै जनाको बिर्तामोडमा उपचार भइरहेको उनले जनाए ।

कन्काई नगरपालिका २ स्थित घनुषकोटी भन्ने ठाउँमा नाम थर नखुलेका काठ तस्कर समूहले इलामको तीरबाट काठ तस्करी गरी ल्याउँदै गरेको सुकेडाँगी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले थाहा पाएपछि उनीहरू काठ नियन्त्रणका लागि बुधवार साँझ ८ बजे गएका थिए ।

काठ नियन्त्रणका क्रममा दुवै पक्षबीच झडप हुँदा काठ तस्कर समूहले वनका पदाधिकारीमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपश्चात् काठ तस्कर फरार भएको प्रहरीले बताएको छ । घटनाको विषयमा थाहा पाए लगतै इलाका प्रहरी कार्यालय सुरुङ्गा र इलाका प्रहरी कार्यालय अनारमनीको टोली घटनास्थल पुगेका थिए । खुकुरी प्रहार गर्ने काठ तस्कर समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।