धरान/ब्लाष्ट दैनिकको रजत महोत्सवको अवसरमा आयोजित कविता प्रतियोगितामा ‘गन्धर्व दाजु’ शीर्षकको कविता प्रथम भएको छ ।

शुक्रबार गरिएको अन्तिम छनौटमा मोरङ रतुवामाइका प्रदीप योङहाङले लेखेको कविता प्रथम बनेको हो । त्यस्तै मोरङ उर्लाबारीका सरोज मर्डी सतारले लेखेको ‘झुपडीको कथा’ दोस्रो बनेको छ । मोरङ सुन्दरहरैंचाका सुदीप विष्टको ‘आँशुहरू’ शीर्षकको कविता तेस्रो बनेको छ । निर्णायकत्रय कथाकार सरणकुमार राई, प्रा.डा. भीम खतिवडा र कवि टीका आत्रेयले कविताको अन्तिम छनौट गरेका हुन् । ब्लाष्टलाई प्राप्त ४३ कवितामध्ये अन्तिम ८ छनौट गरिएको थियो । अन्तिम ८ बाटै उत्कृष्ट तीन कवितालाई पुरस्कृत गरिएको हो । पुरस्कार ब्लाष्ट दैनिकको रजत महोत्सवको अवसर पारेर असोज २ गते वितरण गरिँदै छ ।

प्राप्त कविताहरूलाई कोडीकरण गरेर निर्णायकहरूलाई उपलब्ध गराइएको थियो । जसमा कविता लेख्नेको नाम, उमेर, विद्यालयलगायतमा कोड अङ्क प्रयोग गरिएको थियो । कोडको आधारमै निर्णायकत्रयले छनौट गरेका थिए । अन्तिम ८ मा छनौट भएका कविताहरूलाई ब्लाष्ट दैनिकमा प्रकाशित गरिनेसमेत लेखकहरूलाई जानकारी गराउन चाहान्छौं ।

अन्तिम ८ मा केशव भण्डारीको ‘वृद्धाश्रमकी आमाको पत्र’, किरण चौलागाईंको ‘झिमिक्क नगर है’, प्रमिला राईको ‘लौन हुलाकी दाइ’, मुना पराजुलीको ‘म अघि बढ्छु’, र समीरा सिवाकोटीको ‘मेरी आमा’ शीर्षकको कविता पर्न सफल भएका थिए । निर्णायक समूहले प्राप्त कविताहरूमा भाषागत त्रुटि अत्यधिक रहेकाले प्रकाशन गर्दा भाषा सम्पादन गरेर प्रकाशन गर्नसमेत सुझाव दिएको छ । प्रथम दोस्रो र तेस्रो बनेका कविताहरू आइतबारको अङ्कमा प्रकाशित हुँदैछ ।