ताप्लेजुङ / हिमाली जिल्ला ताप्लेजुङमा पनि डेङ्गु रोगवाट सङ्क्रमित फेला परेका छन् । जिल्लाको आठराई त्रिबेणी गाउँपालिकाकी एक महिलामा डेङ्गु को सङ्क्रमण फेला परेको ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले जानकारी दिए । उनलाई थप परीक्षणका लागि रेफर गरिएको डाक्टर लामाले बताए ।

बिरामी भएर जिल्ला अस्पताल भर्ना भएकी ती महिलालाई डेङ्गुको जस्तै लक्षण देखा परेपछि गरिएको परीक्षणमा यस्तो फेला परेको हो ।

यसअघि पनि २ जनामा डेङ्गु देखिएको भने पनि उनीहरू अन्य जिल्लामा गएर फर्किएकाले त्यहीँ सङ्क्रमण भएको आशङ्का गरिएको थियो । तर यी महिला भने जिल्ला बाहिर पनि नगएको बुझिएको प्रमुख डा. लामाले जानकारी दिए । ताप्लेजुङको हावापानीमा एडिज एजिप्टाइ र एडिज अल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टे भेटिने सम्भावना कम भएपनि यस रोगको सङ्क्रमण भेटिनुले यसलाई चुनौतिको रूपमा लिनुपर्ने उनले बताए ।

डेङ्गुबाट बच्न नागरिक स्वयम् नै सचेत बन्नुपर्ने उनको भनाइ छ । त्यसका लागि डेङ्गु सार्ने लामखुट्टेको फुल, लार्भा र प्युपा हुर्कन सहयोग पुग्ने स्थानलाई नष्ट गर्ने, घरभित्र र बाहिर सफा राख्ने, जीउ ढाकिने गरी कपडा लगाएर हिँड्ने, सुत्दा झुलको प्रयोग गर्न आग्रह गरे ।