भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्न ९७ वुँदे कार्य योजना तयार गरेको छ । सरोकारवाला पक्षसंग वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम गरि गाउपालिकाले कार्ययोजना तयार गरेको हो ।

गाउँपालिकाले शिक्षक, अभिभावक, विद्यार्थी, राजनितिक दल तथा विभिन्न संघसस्था, शिक्षा प्रेमी, समाजसेवी सञ्चारकर्मी लगाएत संग शिक्षाको विकासको लागि केके गर्न सकिन्छ भन्ने विषयमा बृहत छलफल गरेको थियो ।

हामी सवैको एउटै ध्यान, गुुणस्तर शिक्षा, असल ज्ञान भन्ने मुल नाराका साथ ६ दिन सम्म सञ्चालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका तीन सय बढी सरोकारवाला पक्षबाट आएको सुझावलाई समेटर ९७ बुँदाको शिक्षा सुधार लागि जिम्मेवारी सहितको कार्ययोजना तयार गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले बताए ।

कार्ययोजनामा शिक्षक, अभिभावक, राजनीतिक दल, स्थानिय तह तथा संघ सस्था लगाएतले शिक्षाको विकासमा खेल्नु पर्ने जिम्मेवारी तोकिएको अध्यक्ष राईले जानकारी दिए । सवै बाट आएका विषय वस्तुलाई समेटेर तयार गरिएको शिक्षा सुधार कार्ययोजनामा सरोकारवाला पक्षले हस्ताक्षर समेत गरेका छन् ।

गाउँपालिका अध्यक्ष राईले स्थानिय सरकार सञ्चालनमा आए पछि गाउँपालिकाको शिक्षाको सुधारका लागि कार्यक्रमको आयोजना गरिएको बताए । हालको अस्तव्यस्त शिक्षालाई सुधार गर्न गाउँपालिका लागिपरेको वताउदै, उनले शिक्षाको विकास लागि सवैको साथको आवश्यकता रहेको समेत औल्याए ।