पथरी/ धनीपुर्जा बोकेर जग्गा खोज्दै पुगेका एक पुर्जावाललाई मोरङको पथरीशनिश्चरेका सुकुम्बासीहरूले पक्राउ गरी गाउँकै हिरासतमा एकदिन थुनेका छन् ।

शनिबार बिहान वडा नं. ३ को किराती चौकका बलबहादुर फियाकको घरमा जग्गा खोज्दै पुगेका ताप्लेजुङ घर बताउने दमक डेरा गरी बस्दै आएका भरत भट्टराईलाई गाउँलेहरूले पक्राउ गरी एकदिन थुनेर राखेका हुन् । सुकुम्बासीले उनलाई बिचौलिया भएको आरोप लगाउँदै थुनेका हुन् । ६५ वर्षीय भट्टराई ३ दिनअघि सोही ठाउँमा आएर घुम्ने गरेको र शनिबार बिहान ३ जना जग्गा खरिद गर्ने व्यक्तिसहित ल्याएर पुर्जा देखाउँदै यो मेरो जग्गा भनेपछि गाउँलेहरूले पक्राउ गरेको बलबहादुर फियाकले बताए ।

उनले कल्पना अधिकारीको १ बिघा १० कठ्ठा, रत्नबहादुर श्रेष्ठको ३ बिघा, लालबहादुर धिमालको १ बिघा १० कठ्ठा र शुभकुमार श्रेष्ठको ८ कठ्ठा जग्गाको धनीपुर्जा ल्याएर जग्गा खोज्दै आएका थिए । उनले धनकुटाका तीनजना व्यक्तिलाई ८० लाखमा ४ बिघा जग्गा दिने भन्दै जग्गा देखाउन ल्याएको अर्का सुकुम्बासी मीना सेन्चुरीले बताइन् ।

सुकुम्बासीहरूले खरिद गर्नेलाई झुक्याएर ल्याएकोले सकुशल छोडिएको तर बिचौलिया भरत भट्टराईलाई सजायस्वरूप १ दिन गाउँमै थुनेर राखेको सुकुम्बासी युवानेता मौसम परिवर्तन याक्थुङ्बाले बताए । सुकुम्बासीहरूले वडा नं. ३ को किराती चौकमा दोहोरो स्वामित्व रहेको जग्गाको धनीपुर्जा भएका व्यक्तिहरूलाई पक्राउ गरी थुन्ने हिरासत निर्माण गरेका छन् । उनीहरूले पुर्जा बोकेर जो आए पनि पक्राउ गरी हिरासतमा थुनेर राख्ने सुकुम्बासी नेता याक्थुङ्बाले बताए ।

सुकुम्बासीहरूले पक्राउ गरी थुनामा राखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पथरीले बिचौलिया भट्टराईलाई थुनेर राखेको हिरासतमा ड्युटी गरेको थियो । साँझतिर इलाका प्रहरी कार्यालय पथरीमा भएको जनप्रतिनिधिसहितको छलफलमा एकहप्ताभित्रमा जग्गा धनीपुर्जावालालाई बोलाएर कागज गर्ने भनी उनको नागरिकता राखेर छाडिएको छ ।

जग्गाधनी आएमा यो ठाउँमा नआउने गरी कागज गर्ने सुकुम्बासी नेता याक्थुङ्बाले बताए । घटनामा वडा नं. ३ का वडाध्यक्ष डम्बर चेम्जोङ र उपमेयर यमुना विष्ट बास्तोलालगायत अन्य जनप्रतिनिधिहरू पुगेका थिए । ०३५ सालदेखि ढालफाँड गरेर बसोबास गरेका सुकुम्बासीहरू र धनीपुर्जाहरू सबै नक्कली भएको सुकुम्बासी समस्या समाधान तथा पहल समितिका संयोजक जहरमान लिम्बूले बताए ।

सुकुम्बासी समस्या समाधानको लागि पथरीशनिश्चरे नगरपालिकाले अहिले तीनवटा समस्या समाधान समिति बनाएको छ । नगरपालिकाको आह्वानमा नगरपालिकामा दोहोरो स्वामित्व भएका सुकुम्बासी २ सय ६० जनाले सुकुम्बासी भएको निवेदन दिइसकेको उपमेयर बास्तोलाले बताइन् ।

Kastari-5