बिर्तामोड/ झापाको बिर्ताबजारका विपन्न थापा परिवारलाई सहयोग भन्दै सङ्कलन गरेको रकम अभियन्ताले हिनामिना गरेको आरोप लागेको छ । बिर्ताबजारका थापा परिवारले रकम सङ्कलन गर्ने अभियन्ताले नै रकम हिनामिना गरेको आरोप लगाएका हुन् ।

घरजग्गा केही नभएका नरबहादुर र गीता थापाको परिवार अर्काको स्वामित्वमा भएको जमिनमा जस्तापाताले छाएर बनाएको अस्थायी घरमा बस्छन् । पुराना जस्तापाताको छानोमा टाटी बेरागरेको घरमा बस्ने अति विपन्न परिवारको नाममा सङ्कलन भएको रकम अभियन्ताले नै दुरुपयोग गरेको आरोप लगाएका हुन् । गत साउन २५ गते बिहान थापाका २७ वर्षीया छोरी यमुनाको मृत्यु भएको थियो । २४ गते जन्मदिन मनाएर सुतेकी यमुनाको भोलिपल्ट निधन भएको थियो । रातिदेखि उनी सिकिस्त बिरामी परेकी उनले २५ गते राति देह त्याग गरिन् ।

उनको शव हेर्नसमेत कोही छिमेकी आएनन् । बिहान १० बजेसम्म एकजना पनि नआएपछि सामाजिक अभियन्ता भनेर चिनिएका रामचन्द्र मैनाली उनको घरमा पुगे । उनले सामाजिक सञ्जाल फेसबुकमा त्यस घटनालाई ‘लाइभ’ गरे । उनले लाइभ गरेपछि देश विदेशबाट सहयोग आउने क्रम शुरु भयो । उनै मैनालीले केही वर्षअघि फेसबुक अभियानमार्फत् रकम सङ्कलन गरी शव बाहन खरिद गरेर बिर्तामोड नगरपालिकालाई प्रदान गरेका थिए ।

सामाजिक सञ्जालमा हल्ला भएपछि स्थानीयवासी पनि मृतकको घरमा पुगे । सबैले केही आर्थिक सहयोग गर्ने घोषणा गरे । केहीले सोही समयमा सहयोग प्रदान समेत गरे । अति विपन्न थापा परिवारलाई सहयोग गर्ने क्रम बढ्यो । त्यही सहयोग रकमले उनको अन्त्येष्ठी गरियो । विपन्न भएका कारण तीनदिनसम्म काजकिरिया गर्ने ब्राह्मणसमेत थापा परिवारले पाएन । रकम सङ्कलन भएपछि स्थानीय युवाहरूको पहलमा एकजना ब्राह्मण खोजेर कर्म गरिएको थियो । दुई छोरी र एक छोरा भएका थापाका छोरा ८ वर्षदेखि बेपत्ता छन् । कान्छी छोरी कक्षा ५ मा स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत छिन् ।

गीता स्थानीयका घरमा गएर लुगा धुने, घर सफा गर्ने काम गर्दै आएकी छन् । वृद्धभत्ता लिँदै गरेका उनका श्रीमान् नरबहादुर कसैले काम गर्न बोलाए गएर सघाउँछन् । त्यही पारिश्रमिकले थापा परिवारको गर्जाे टरेको छ । विपन्नताका कारणले शव उठ्न नसकेपछि स्थानीय सहयोगीले प्रदान गरेको १ लाख ५० हजार रुपैयाँ शान्तादेवी खरेलले बैङ्कमा राखिदिने भन्दै लगेको गीता बताउँछिन् ।

‘त्यसबेला देश, विदेशबाट सहयोग आएको थियो, हामीले त्यो सहयोग देख्नसमेत पाएका छैनौं’ पीडित थापाले भनिन्, ‘त्यसबेला शान्ता खरेलको नाममा रकम जम्मा गर्दा हुन्छ भनेर विश्वास गर्दा अहिले आएर धोका भएको छ ।’ रकम माग्न जाँदा खरेलले नदिएको थापा परिवारको आरोप छ । विदेशबाट कति सहयोग भयो भन्ने कुराबाट थापा परिवार अनभिज्ञ छ । ‘उनले चेक लिएर आएकी रछिन्, म हकवाला हुँ, यिनीहरूको गार्जेन हुँ भनिन्’ थापाले भनिन्, ‘यहाँबाट १ लाख ५० हजार लगेका हुन्, विदेशबाट कति आयो, त्यो थाहा छैन ।’ पैसा माग्न जाँदा नदिएको थापाले बताइन् ।

घटनामा नाम जोडिएका स्थानीय रामचन्द्र मैनालीले भने रकम दुरुपयोग नगरेको बताए । ‘एकजना प्रसाई थरका व्यक्तिलाई दिएका छौं’ मैनालीले भने, ‘मासिक ३ हजार ब्याज दिने गरी १ लाख ५० हजार रुपैयाँ दिएका हौं ।’ उनले बैङ्कमा जम्मा गर्दा ब्याज कम्ती आउने भएको हुनाले धेरै ब्याज आम्दानी भए थापा परिवारको गर्जाे टर्ने सोचेर ब्याजमा लगाइदिएको दाबी पनि गरे ।

मैनालीले सो रकम ब्याजमा दिएको भने पनि ब्लाष्टसँगको कुराकानीमा रकम चलाएको भनिएका सोही स्थानका प्रसाई थरका व्यक्तिले सो कुरा अस्वीकार गरे । उनले मादक पदार्थ खाएर पैसा सिध्याउने भएका कारण थापालाई रकम नदिएको बताए । उनले सङ्कलित रकम थापालाई दिन नसक्ने भन्दै बरु बैङ्कमा जम्मा गरिदिने बताए । रकम राख्ने शान्ता खरेललाई फोन गर्दा सम्पर्क हुन सकेन ।