बिर्तामोड/ पानी प्रशोधन व्यवसायीहरूको क्षमता वृद्धि गर्ने उद्देश्यले एक दिने कार्यशाला सम्पन्न भएको छ । खानेपानी शुद्धीकरण तथा प्रशोधनका क्षेत्रमा कार्यरत निजी क्षेत्रका व्यवसायीहरू तथा त्यहाँ कार्यरत कर्मचारीहरूको क्षमता वृद्धिको लागि काभ्रेको धुलिखेलमा कार्यशाला सम्पन्न भएको हो ।

सरकारले आम नागरिकमा शुद्ध पिउने पानी वितरण गर्न नसकेपछि निजीक्षेत्र नै यसको लागि सक्रिय भएको कार्यक्रममा बताइएको थियो । सरकारले राखेको पाँच वर्षमा प्रत्येकको घरमा एउटा धारा र शुद्ध पिउने पानी वितरण गर्ने लक्ष्य कार्यान्वयन हुन नसक्ने भेलाको निष्कर्ष छ ।

पानी प्रशोधन व्यवसायी सङ्घको आयोजनामा सम्पन्न कार्यशालामा ९० जना प्रतिनिधि सहभागी रहेको अध्यक्ष दुर्गाप्रसाद पुरीले बताए । कार्यक्रममा विभिन्न निकायका पानी विज्ञहरूले आ आफ्नो अनुभव तथा विचार व्यक्त गरेका थिए । कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले उच्चतम प्रविधिको प्रयोग गरी उचित मूल्यमा स्वच्छ पिउने पानी उपलब्ध गराउने कार्यमा जोड दिन सबैको ध्यानाकर्षण गराए ।

सरकारले निर्माण गरेको पानीको गुणस्तर सम्बन्धी मापदण्ड २०६२ ले सबै कुरा समेट्न नसकेको भन्दै यसको आवश्यक सुधारको लागि समेत कार्यक्रमका वक्ताहरूले जोड दिए । कार्यशालामा पानी विज्ञ तथा इन्जिनियर भोला पौडेल, तथा भारतका पानी विज्ञ चन्दन घोराए तथा रोहित शर्मालगायतले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा तीन नम्बर प्रदेशका सांसद लक्ष्मणप्रसाद लम्साल तथा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार वैद्यले समेत आआफ्नो अनुभव सेयर गरेका थिए ।