धरान । ब्लाष्ट टाइम्स दैनिकको रजत महोत्सवको अवसरमा आयोजना गरिएको १ नम्बर प्रदेश स्तरीय खुला वक्तृत्वकला प्रतियोगीतामा उदयपुर, गाइघाट स्थित लाली गुराँस माविका छात्र सुनिल घिमिरे प्रथम भएका छन् ।

१ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको ‘म अघि बढ्छु’ कार्यक्रमको संयोजन र ब्लाष्ट टाइम्स दैनिकको आयोजनामा सोमबार धरान १५ स्थित युरेसिया रेयुकाई भवनमा भएको ३ सय पूर्णाङ्कको वक्तृत्वकला प्रतियोगीतामा सुनिलले २ सय ३८ अंक पाएका थिए ।
त्यसैगरी २ सय ३५ अङ्क पाएर सुनसरीको बराहक्षेत्रस्थित सुनसरी एकेडेमीकी छात्रा स्मारिका पोखरेल द्वितिय भईन् भने २ सय ३४ अङ्क पाएर मोरङको विराटचोकस्थित बाल सदन एकेडेमीकी योभी गुरुङ तृतीय भईन् ।

महेन्द्र बहुमुखी क्याम्पस धरानका सह–प्राध्यापक डा.राजेन्द्र शर्मा, सह–प्राध्यापक हरिप्रसाद दाहाल र विराटनगरका वरिष्ठ पत्रकार तथा उप–प्राध्यापक यज्ञ शर्माको निर्णायक मण्डलले १ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट सहभागी १८ विद्यालयका २७ प्रतिष्पर्धीबाट विजेता छनोट गरेको हो ।

वक्तृत्वकलाका संयोजक तथा ब्लाष्ट दैनिकका सम्पादक गोपाल दाहालको अध्यक्षता र १ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको म अघि बढ्छु (सगरमाथा टिन्स क्लब)का संयोजक नवराज राईको प्रमुख आतिथ्यमा भएको वक्तृत्वक कलामा पूर्वक्षितिज प्रकाशन प्रालिका प्रबन्ध निर्देशक तथा ब्लाष्टका सम्पादक किशोरकुमार कार्कीले कार्यक्रम बारे प्रकाश पार्दै विद्यार्थीहरुमा भविष्यप्रति सकारात्मक भावना जागृत गराउन ‘म अघि बढ्छु’ शिर्षकमा वक्तृत्वकला आयोजना गरिएको बताए ।

प्रमुख अतिथी राईले प्रदेशका १४ वटै जिल्लाका विद्यालयहरुमा किशोर किशोरीलाई लागुऔषध दुव्र्यसन जस्ता कुलतबाट टाढा रहन र सकारात्मक कार्यमा अघि बढ्न प्रेरित गर्दै म अघि बढ्छु कार्यक्रम सञ्चालन भएको र त्यहि क्रममा प्रदेशका गाउँ गाउँमा पुग्ने ब्लाष्ट दैनिकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रम विश्वराम कार्कीले सञ्चालन गरेका थिए ।

वक्तृत्वकलाका विजेताहरुलाई असोज २ गते ब्लाष्ट टाइम्स दैनिकको वार्षिकोत्सवका अवसरमा प्रमाणपत्र सहित प्रथमलाई नगद १२ हजार, द्वितियलाई नगद ८ हजार र तृतीयलाई नगद ५ हजारका साथै ब्लाष्टको वार्षिक, अर्धवार्षिक र त्रैमासिक ग्राहक सुविधा प्रदान गरिने ब्लाष्ट दैनिकका उप प्रबन्धक दीपेन्द्रकुमार कार्कीले बताए ।

कसले कति अङ्क पाए ?
वक्तृत्वकलामा सुनिलले २३८, स्मारिकाले २३५ र योभीले २३४ अङ्क पाएर विजेता बने । विजेता बन्न नसकेपनि अन्य विद्यार्थीहरु थोरै अङ्कले मात्र पछि परे । निर्णायक मण्डलले दिएको अङ्क अनुसार सुनसरीको रामधुनीस्थित कोशी सेन्टजोसेफ स्कुलका अस्मित दाहालले २३३, सुनसरीको बराहक्षेत्रस्थित जय सप्तकोशी इङ्लिस बोर्डिङ स्कुलकी सुदिक्षा आचार्यले २३२, बराहक्षेकै मुन विम एकेडेमीकी भावना बुढाथोकीले २३१, वराहक्षेत्रकै जय सप्तकोशी इङ्लिस बोर्डिङ स्कुलकी अनु मगरले २३० अङ्क पाएका थिए ।

त्यसैगरी इटहरीका सुवास निरौलाले २२४, सुनसरी, रामधुनीका अभिषेक चौधरीले २०८, मोरङ, विराटचोकस्थित बाल सदन एकेडेमीका भिजन प्रताप खत्रीले २०६, उदयपुरको मुर्कुची माविकी सृष्टि दाहालले २०५, मोरङ, उर्लाबारीको सुनगाभा स्कुलका सुमन न्यौपानेले २०४ अङ्क पाए ।

त्यस्तै विराटनगरका हिमाल ढकालले १९७, बराहक्षेत्रको जय सप्तकोशी स्कुलकी अस्मिता यादवले १९६, सैनिक आवासिय मावि धरानका सविन कार्की र सदन स्कुल धरानकी मौसम चौलागाईले बराबरी १९३ अङ्क पाए ।

दमकको हिमालय माविकी नम्रता दाहालले १८९, जनकल्याण मावि झापाका रोजन बस्नेतले १८७, दमकको सरस्वती माविका रामप्रसाद खतिवडाले १८२, तेह्रथुमको अरनिको बोर्डिङ स्कुलकी चन्द्रिका खत्री र धरानको सदन स्कुलकी वर्षा राईले बराबरी १८० अङ्क पाए ।

त्यस्तै सुनसरी, रामधुनीका पुजन राउतले १७८, रामधुनीकै मनिष खड्काले १७७, मोरङ, केराबारीका नगिन तिरुवाले १६७, धरानको जुनियर पायोनियर स्कुलका प्रज्वल भट्टराईले १५४, धनकुटाकी मोनिका लिम्बुले १२७ र धरानकी शिला धौलाकोटीले १२१ अङ्क पाईन् ।

122