बिर्तामोड । झापा प्रहरीले बिर्तामोडबाट प्रतिबन्धित विप्लप नेतृत्वको नेकपाका दुई जना नेता पक्राउ गरेको छ । सोमबार बिहान प्रहरीले झापा जिल्ला सेक्रेटरी मनिष भनिने प्रबिन मिश्र र अर्का जिल्ला सदस्य टीका पोखरेललाई बिशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

उनीहरुलाई बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत प्राधिकरण कार्यालयको नजिकै रहेको चिया पसलबाट सादा पोषाकमा रहेका प्रहरीको टोलीले पक्राउ गरेको जनाएको छ । केही समयदेखि झापाको बिर्तामोडलाई सेल्टर बनाउँदै आएका मिश्र र पोखरेललाई प्रहरीले बिषेश सुचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।

मिश्र र पोखरेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसंधान शुरु गरिएको जानकारी प्रहरीले दिएको छ । बिप्लब नेतृत्वको नेकपाले केही दिन अघि बिर्तामोड नगरपालिका ७, ८ र ९ को संयुक्त वडा कार्यालयमा बम बिस्फोट गराएको थियो । सोही समुहले सहारा नेपालको बिर्तामोडमा रहेको मुख्य कार्यालयमा बम बिस्फोट गराएको थियो ।

प्रहरीले भने उनीहरुको पक्राउ अस्विकार गरेको छ । झापा प्रहरीका प्रवक्ता महेन्द्र श्रेष्ठले नेकपाका नेता पक्राउबारे ‘जिल्लामा रेकर्ड नभएको’ भन्दै सुचना दिन आनकानी गरे । उनले पक्राउबारे आफुलाई केही थाहा नभएको बताएपनि सेक्रेटरी मिश्र र सदस्य पोखरेललाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरी श्रोतले जनाएको छ ।