विराटनगर /  प्रमुख प्रतिपक्षी दल काँग्रेसको विरोधका कारण मंगलबार प्रदेश १ को प्रदेश सभा बैठक अवरुद्ध भएको छ ।
मंंगलबार प्रदेशसभाको ५० औं बैठकमा मनमोहन प्राविधिक विश्वविद्यालयका सम्वन्धमा व्यवस्था गर्न बनेको विधयेकको दफावार छलफलपछि सामाजिक विकास समितिले पारित गरेको प्रतिवेदन पेश गर्ने कार्यसूचि थियो । उक्त विधयेक फर्ता गरिनुपर्ने माग राख्दै काँग्रेसले प्रदेशसभा अवरोध गरेका हुन् ।
सभामुख प्रदिपकुमार भण्डारीले बैठक आरम्भ गर्नासाथ प्रतिपक्ष बेञ्चका प्रदेशसभा सदस्यहरु उठेका थिए । निर्धारित समयभन्दा १ घण्टा ३७ मिनेट ढिलो गरेर सुरु भएको बैठकमा आफ्नो स्थानबाट सांसदहरु उठेर विरोध जनाएपछि सभामुख भण्डारीले प्रमुख सचेतकलाई भनाई राख्ने समय दिका थिए ।
नेपाली काग्रेंसका प्रमुख सचेतक केदार कार्कीले नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभाग बनाए जसरी र जनवादी शिक्षा पढाउने स्कुल खोले जसरी मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रयास भएको अाराेप लगाए । उनले विधेयकलाई साझा बनाउनुको साटो सरकारले जबरजस्ती गरेकोले बैठक अघि बढ्न नदिने स्पष्ट पारे । प्रमुख सचेतक कार्कीले मनमोहन अधिकारी लोकतान्त्रिक आन्दोलनका उच्च कदका नेता भए पनि सरकारले उहाँको ओज र कद घटाउने प्रयास गरेको भन्दै आपत्ति जनाए ।
प्रदेश सभाबाट अहिलेसम्म ३५ वटा विधेयकहरु पारित भइसकेका छन् । ति सबै विधेयकहरुमा विपक्षीले सहयोग गरेकै कारण सर्वसम्मतीले पारित भएका थिए । ‘जतिसुकै अप्ठ्यारो र असहमति भएपनि हामीले कानून निर्माणमा सहमति गर्दै आएका थियौ,’ प्रमुख सचेतक कार्कीले भने, ‘अहिले सरकार हामीसँग सिगौरी खेल्ने सोचले अघि बढेको छ र विधेयकलाई साझारुपमा अघि बढाउन चाहेको छैन ।’ उनले विधेयक अघि बढाउन खोजे रोष्ट्रम घेराउसम्म गर्ने चेतावनी दिए ।
प्रमुख प्रतिपक्ष दलको विरोधका कारण संसदको कारवाही अघि बढ्नव नसकेपछि २० मिनेटका लागि बैठक स्थगित गरी सहमतिको प्रयास गरिएको थियो । सहमति जुट्न नसकेपछि बैठक बुधबारसम्मकालागि स्थगित गरिएको छ । प्रदेशसभा स्थापना भएपछि पहिलो पटक कानून निर्माणमा असहमति भई संसद अवरुद्ध भएको हो । यस अघि इटहरीका एक जना काग्रेंस कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदेशसभा स्थगित भएको थियो ।