इटहरी/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरीको विवाद उत्कर्षमा पुगेको छ ।

पार्टी पद्दति विपरीत नगरसचिव मनोनित गरेको भन्दै युवा नेताहरूले नगर सचिव काशीनाथ दङ्गाललाई बर्खास्त गर्न माग गर्दै मङ्गलबार नेकपा प्रदेश १ को पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । पार्टी एकीकरणमा न्यायोचित ढङ्गबाट कार्यकर्ताको व्यवस्थापन नगरेको विषयलाई लिएर विवाद शुरु भएको हो । पार्टीभित्र चाकडीपन हाबी भएको भन्दै उठेको विवाद अहिले तालाबन्दीसम्म पुगेको छ ।

पूर्वमाओवादी र एमाले एकीकरण हुनुअगाडि नै विवादमा परेको एमाले अहिलेसम्म मिल्न नसक्दा कार्यालयमा तालाबन्दी हुनपुगेको छ । नेकपा इटहरीमा रोलक्रम मिचेर सचिव नियुक्त गरेको र आफूहरूले पार्टीका शीर्षनेताहरूलाई पटक–पटक ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेका कारण पार्टीको इटहरीमा रहेको प्रदेश कार्यालयमै तालाबन्दी लगाउन बाध्य भएको नेता कार्यकर्ताहरूले बताए । पार्टीमा विधान विपरीत मनपरी ढङ्गबाट सचिव राखेको विषयले तीन सातादेखि विवाद भइरहेको छ ।

तत्कालीन नेकपा (एमाले) वडानम्बर ४ का उपसचिव सुनिल कार्कीले पार्टी विधानभन्दा पर गएर चलेको भन्दै आफूहरू कार्यालयमा तालाबन्दी गर्ने बाध्य भएको बताए । ‘हाम्रो मागलाई जहिल्यै बेवास्ता गर्दै जाने हो भने पार्टीप्रतिको हाम्रो विश्वास के रह्यो’–उनले प्रश्न गरे । नेकपा इटहरीमा सचिव दङ्गाललाई वडासदस्यबाट एकैचोटी नगरसचिव बनाएको भन्दै पार्टीभित्र विवाद भइरहेको छ ।

यसअघि गत भदौ १२ गते इटहरी नेकपाको कार्यालयमा तालाबन्दी गरिएको थियो । ‘हामीले १९ दिनयताबाट आन्दोलन गरेको भए पनि पार्टीले बेवास्ता गर्दै आएकाले थप आन्दोलन गर्न बाध्य भएका हौं’ उनले भने, ‘पार्टीको रोलक्रम र पद्दति, मापदण्ड मिचेर नियुक्त गरिएको सचिव हामीलाई मान्य हुने छैन ।’ विधान विपरीत भएकाले मात्रै बोलेको उनले बताए । सचिव दङ्गालविरुद्ध पनि नाराबाजी भएको थियो । तालाबन्दी गर्न पुगेका कार्यकर्ताहरूले सचिव बर्खास्त गर भन्दै नाराबाजी गरेका थिए । डेढ सयभन्दा बढी कार्यकर्ता तथा नेताहरू प्रदेश कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए ।

नेकपा इटहरी पार्टीभित्र चरम असन्तुष्टि बढेसँगै कार्यकर्ताहरू पक्ष विपक्षमा उभिँदै आएका छन् । इटहरी नेकपाको विवादलाई भीम आचार्यसँग जोडिएको छ । आचार्यकै निर्देशनमा दङ्गाललाई नेकपा इटहरीको सचिव बनाएको कार्यकर्ताको आरोप छ । पार्टी कार्यलयमा इटहरीकै विवाद छलफलको लागि प्रदेश अध्यक्ष देवराज घिमिरेसहितको टोलीले छलफल गर्ने कार्यक्रम तय गरिए पनि तालाबन्दी भएको नेकपा नेता शिव डाँगीले बताए ।

असोज ४ गते बृहत् कार्यकर्ता भेला गर्ने र पार्टी अध्यक्षलाई ज्ञापन–पत्र बुझाउने कार्यक्रम तय भएको छ । अभियानमा प्रदेश सांसद् लिलम बस्नेत, सर्वध्वज साँवा सहभागी छन् । यस्तै रेवतीरमण भण्डारी, याम सुब्बालगायतका नेताहरूले समेत समर्थन जनाएका छन् । नेकपा इटहरी नगर कमिटीको गठनमा गुटका आधारमा नेतृत्वमा लगिएको, पार्टीको विधि र विधान नमानिएकाले सच्याउन माग गर्दै पार्टी सुदृढीकरण अभियान शुरु गरेको लिलम बस्नेतले जानकारी दिए ।

tala