धरान/धरान प्रज्ञा प्रतिष्ठानले कार्यशालासहितको चित्रकला मेला शुक्रबारदेखि आयोजना गरिने भएको छ ।

दुई दिन कार्यशाला र दुई दिन प्रदर्शनी गरी ४ दिनसम्म मेला आयोजना गरिने भएको हो । कार्यशाला धरान–८ को धरान सभागृहमा हुने गरिन लागिएको छ भने प्रदर्शनी धरान–१२ अमान बजारमा हुने कार्यक्रम संयोजक गोपाल देवानले बुधबारको पत्रकार सम्मेलनमा बताए ।

कार्यशालामा धरानका ७५ वटा संस्थागत तथा सामुदायिक विद्यालय र ४ वटा प्लस टु गरी १ सय ५८ जना विद्यार्थीहरू सहभागी गराउने लक्ष्य रहेको अध्यक्ष अम्बिकाकुमार सम्बाहाम्फेले बताए । प्रत्येक स्कूल र कलेजबाट २ जनाका दरले विद्यार्थीहरूलाई सहभागी गराउने तयारीस्वरूप पत्राचार गरिएको उनले बताए ।

कार्यशालामा प्रदेश १ का अग्रज चित्रकारहरूलाई सहभागी गराएर प्रशिक्षार्थीहरूलाई वाटर कलरमा प्रशिक्षण गराइने छ । वटर कलरको सैद्धान्तिक र व्यवहारिक ज्ञान दुई दिनको अवधिमा प्रदान गर्दै उनीहरूले बनाएका आकृतिलाई दुई दिन प्रदर्शनीमा राखिने छ । जसमध्ये ५ जना उत्कृष्ट प्रशिक्षार्थीलाई ५ हजार रुपैयाँका दरले प्रोत्साहन रकमले पुरस्कृत गरिने छ । 

प्रज्ञालाई ५० लाख बजेट

चालू आर्थिक वर्षका लागि प्रज्ञा प्रतिष्ठानलाई धरान उपमहानगरपालिका र प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अब भाषा, कला, साहित्य संस्कृृतिको संरक्षण, सम्वद्र्धन तथा विकासमा प्रतिष्ठानले नै उक्त खर्च गर्न पाउने भएको छ ।