धनकुटा । मिस तामाङ १ नम्बर प्रदेशका विजेताहरूलाई धनकुटाको हिलेमा बिहीबार एक भव्य समारोहका बीच सम्मान गरिएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटा, नेपाल तामाङ घेदुङ नगर समिति धनकुटा, धनपा वडा नं.१ को वडा कार्यालय र स्थानीय मदरल्याण्ड सेकेण्डरी बोर्डिङ्ग स्कुलले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी मिस तामाङ १ नम्बर प्रदेशका विजेताहरूलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरूमा मिस तामाङ १ नम्बर प्रदेशको ग्राण्ड फिनालेमा प्रथम हुन सफल धनकुटा हिलेकी प्रजिता तामाङ, मिस तामाङको फस्ट रनरअपमा धरानकी सुष्मा तामाङ र सेकेण्ड रनरअप इलामकी मिना तामाङ रहेका छन् । मिस तामाङ १ नम्बर प्रदेशका विजेताहरूलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष विष्णु मोक्तान तामाङ, घेदुङका सङ्घीय समिति सदस्य लालचन्द्र गोङ्गवा तामाङ, जिल्ला घेदुङ धनकुटाका सल्लाहकार इन्द्र तितुङ तामाङ, वडा नं.१ का वडाध्यक्ष निरेन तितुङ तामाङले छुट्टाछुट्ट्रै सम्मान गरेका थिए ।

सो अवसरमा उनीहरूलाई खदा, सम्मान पत्र प्रदान गर्दै बधाई एवं शुभकामना प्रदान गरिएको थियो ।

सो अवसरमा नेपाल तामाङ घेदुङ सङ्घीय समितिका सदस्य लालचन्द्र गोङ्गवा तामाङ, प्रदेश घेदुङका सचिव एवं वडा नं.१ का वडाध्यक्ष निरेन तामाङ, जिल्ला घेदुङका निवर्तमान अध्यक्ष सीताराम थिङ तामाङ, नगर घेदुङ धनकुटाका अध्यक्ष कुलबहादुर तितुङ तामाङ, जिल्ला सल्लाहकार इन्द्र तितुङ तामाङ, तामाङ पत्रकार सङ्घकी केन्द्रीय सदस्य मानवी मोक्तान लगायतले शुभकामना व्यक्त गर्दै विजेता मिस तामाङहरूलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव फुर्वा तामाङले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला सदस्य लाखमान घिसिङले राखेका थिए ।
त्यसैगरी मिस तामाङ १ नम्बर प्रदेशका विजेताहरूलाई हिलेस्थित मदरल्याण्ड सेकेण्डरी बोर्डिङ्ग स्कुलले पनि भव्य सम्मान गरेको छ । प्रजिता मदरल्याण्ड सेकेण्डरी बोर्डिङ स्कुलकी पूर्व छात्रा हुन् ।

उनले कक्षा–१० सम्म मदरल्याण्ड सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययन गरेकी थिइन् । विद्यालयमा उनीसहित तीनै जना विजेतालाई सम्मान कार्यक्रमको आयोजना गरेर हिले बजार परिक्रमासमेत गराएको विद्यालयका प्रिन्सिपल प्रेम सुब्बाले बताएका छन् ।