धरान । प्रेजिना नेपालले इटहरीमा सम्पन्न मिस ब्युटी आइकनको ताज जितेकी छन् ।
विश्व आदर्श कलेजबाट हालै प्लस टु सकेकी उनले फाइलन राउण्डमा मुख्य निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै ताज जितेकी हुन् । १० स्पर्धीलाई पछि पार्दै नगद ५० हजार रुपैयाँसहित मिस पूर्वाञ्चलमा सिधै प्रवेश पाएकी छन् । उनले मिस फ्रेण्डसिपको टाइटल पनि जितिन् । मनिला सिम्खडा फस्ट रनरअप हुँदा निशा सुब्बा सेकेण्ड रनरअप बनिन् ।

उनीहरूले नगद ३० हजार र १५ हजार रुपैयाँ प्राप्त गरेकी छन् । मनिला मिस बेस्ट वक र मिस मल्टिमिडियाको टाइटल जितिन् । तीनै जनालाई नेपाल एयर होस्टेज एकेडेमीले ‘एयर होस्टेज’ तालिम प्रदान गर्ने भएको छ ।

मिस ट्यालेन्ट इश्ना गुरुङ, मिस पब्लिकच्वाइस सुहाना श्रेष्ठ, मिस इन्टलेक्चुअल र मिस फोटोजेनिक कशिस बस्नेत, मिस एथलेटिक समीक्षा अधिकारी र मिस पर्सनालिटी प्रतिमा राईले जिते । टाइटल बिजेतालाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

एमके फोटोग्राफीको आयोजनामा सम्पन्न पेजेन्टमा मिस पुर्वान्चल २०१८ सेकेन्ड रनरअप तपस्या रनपहेलीले कोरियोग्राफीको भूमिका निर्वाह गरेकी थिइन् । प्रतियोगितामा हर्शिका श्रेष्ठ, मिस पूर्वाञ्चल २०१७ रुबी लिम्बू, मिस पूर्वाञ्चल २०१८ पूजा श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ सुनसरीको उपाध्यक्ष सन्तोष काफ्ले, पाथीभरा जब लिङ्कका कार्यकारी अधिकृत पवन अधिकारी, ट्रेनर सुरेश राई र सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइँकेल निर्णायक रहेका थिए ।