धरान / दोश्रो नगरसभा सकिएको नौदिन पछि धरान कांग्रेसले आइतबार घोषणा पत्र जारी गर्दै इतिहासकालदेखि कम्यूनिष्ट घेराबन्दीमा परेर पछाडिएको सिंगो धरानलाई मुक्त गर्न आव्हान गरेको छ ।
कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै कम्यूनिष्टहरुले धरानमा कुनै पनि विकास निर्माण, ठूला आयोजना सफल हुन नदिएको आरोप लगाएको छ । नगरसभापति तीलक राईद्धारा हस्ताक्षरित घोषणापत्रमा भनिएको छ, ‘आज सभ्य धरानको मनोविज्ञानलाई घेराबन्दी गरी निश्चित कार्यकर्ताहरुको आडमा कम्युनिष्टहरुले धरानलाई खुल्ला समाज र परिवर्तनको पक्षमा अघि बढ्नबाट रोकेको छ । कम्यूनिष्ट कार्यकर्ताको घेराबन्दीमा धरान उकुसमुकुसको स्थितिमा छ ।’
धरानमा लामो समयदेखिको कम्यूनिष्ट घेराबन्दीलाई तोड्ने बेला भएकाले कांग्रेस तयार हुन आव्हान समेत गरेको छ । धरानको पहिलो प्राथमिकतामा रहेको खानेपानी समस्या समाधानकालागि सर्वदलीय सर्वपक्षीय सहकार्यको पक्षमा कांग्रेस रहेपनि तत्कालिन एमाले स्थानीय सरकारमा गएपछि धरान खानेपानी आयोजनाबाट फाइदा मात्र लिने तर समस्या समाधान तर्फ ध्यान नदिएको आरोप लगाएको छ । कांग्रेसले घोषणा पत्रमा बसपार्क, एयरपोर्ट, सुकुम्बासी समस्या, जलाधार संरक्षण, धरानको पर्यटन प्रवद्र्धन, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, महंगी नियन्त्रणमा कम्यूनिष्ट सत्ता केही गर्न नसकेको जनाएको छ ।
नगरको फोहोर मैला समेत व्यबस्थापन गर्न नसकेको भन्दै जारी घोषणापत्रमा भनिएको छ, ‘नगरबासीले सरसफाइ कर दाहोरो रुपमा तिरि रहे पनि नियमित रुपमा फोहोर उठाउने काम उपमहानगरपालिकाले सकेको छैन । उपमहानगरपालिको अव्यवहारिक, असुरक्षित र अवैज्ञानिक ढंगबाट नगरबासीको दैलोबाट फोहोर उठाएर चारकोशे जंगलमा फाल्ने काम मात्र गरिरहेको छ ।’ नगरविकासको दीर्घकालिन योजनाहरुप्रति चिन्तन नहुदाको पीडा धरानबासीले व्यहोर्नु परिरहेको समेत कांग्रेसले आरोप लगाएको छ ।
कांग्रेस धरान नगरले स्थानीय तहको अवको निर्वाचनमा धरान उपमहानगरपालिकाका कुनै पनि कर्मचारीलाई जिम्मेवारी नदिन पनि माग गरेको छ ।