झापाको भद्रपुरमा जन्मिएका ७१ वर्षीय दीनबन्धु गोयलको खानपान र जीवनशैली सरल छ । सबैसँग समान आदरभावले प्रस्तुत हुन सक्नु उनको विशेषता हो । रुचिकै विषयलाई पेशामा परिणत गरे सफल हुन सजिलो छ । तर, त्यसका लागि लगन, धैर्य र सङ्घर्ष जारी राख्नुपर्छ । यिनै कुरालाई ध्यानमा राखेर अगाडि बढे एक दिन सफल हुने उनको बुझाइ छ । यी कुरालाई प्राथमिकतामा राखेर अगाडि बढेकोले आफ्नो क्षेत्रमा अब्बल सावित भएका हुन् । सफलता कसैले बकसमा दिएर पाएका होइनन् । सानो हुँदा गरेको सङ्घर्षले उनलाई यो स्थानमा पु¥याएको हो ।
उनले शुरुका दिनहरूमा धेरै दुःख गरेका थिए । ७ वर्षको उमेरदेखि उनले बुबालाई व्यापार क्षेत्रमा सहयोग गर्दै आए । भद्रपुरमा किराना पसल थियो । चार दाजुभाइ र चार दिदीबहिनीमध्येका साहिँला छोरा हुन् उनी । बाबुले पसल सम्हाल्थे । भद्रपुरमा त्यसबेला बुधबार र शनिबार हटिया लाग्थ्यो । शनिबार स्कुल बिदा हुने भएकोले हटियामा पसल लिएर जाने गर्थे । हटियाको अलावा उनी चाडपर्वहरूमा लाग्ने बजारमा खेलौना बिक्री गर्थे । ‘शुरुवातको दिनहरूमा निकै दुःख गरेको छु’ उनले अतीत सम्झँदै भने, ‘आफै किराना सामान र खेलौना बोकेर बेच्न भद्रपुरका विभिन्न हटिया चहार्नुपथ्र्यो । हटियामा पुगेपछि भूइँमा बोरा ओछ्याएर सामान फिजाउँथेँ । साँझसम्म व्यापार गरेर घर फर्किन्थेँ । व्यापार भएको पैसा पितालाई दिन्थेँ ।’ यसरी व्यापार फस्टाउँदै गयो । त्यसपछि क्रमशः साबुन, बिस्कुट, मिश्री, पेट्रोलियम, गार्मेन्ट उद्योग विस्तार हुँदै गयो । कठोर मेहनत, लगनशीलता, धैर्य र सङ्घर्ष कारणले गर्दा व्यापार राम्रो हुँदै गयो । पिता र दाजुलाई व्यापारमा सघाउँदै अध्ययनलाई पनि निरन्तरता दिँदै अगाडि बढे उनी । २०२२ सालमा भद्रपुर माविबाट एसएलसी उत्तीर्ण गरे । १० कक्षासम्म पढ्न पनि उनले निक्कै सङ्घर्ष गरेका थिए । कक्षा ८ सम्म पढ्न उनले खाली खुट्टा स्कुल जान्थे । मीठो खान र राम्रो लुगा लाउन चाडपर्व कुर्नुपथ्र्यो । एलसली पास भएपछि बल्ल उनको खुट्टामा जुत्ता र चप्पल देखियो । एलएली उत्तीर्ण गरेपछि आइएस्सी पढ्न दार्जिलिङ गए । ०२६ सालमा दार्जिलिङको गभर्मेन्ट कलेजबाट बीएस्सी उत्तीर्ण गरे । कोट र पेन्ट लगाउने सोख कलेज पढ्दा पूरा गरेका थिए । पढाइको सिलसिलामा उनी चार वर्ष दार्जिलिङ बसे ।
दार्जिलिङबाट बीएस्सी उत्तीर्ण भएपछि विराटनगर आए । २२ वर्षको उमेरमा उनले पूर्ण रूपमा उद्योग क्षेत्र सम्हाले । बाबुको व्यापार कौशल सानैमा सिकेका उनले बाबुको व्यापारमात्रै सम्हालेनन्, व्यापारको दायरा पनि फराकिलो बनाउँदै लगे । उनी विराटनगरमा थिए भने दाजुले काठमाडौं बसेर व्यापार सम्हाल्थे । उमेर पनि ढल्किँदै गयो । गोयलकी श्रीमती उषादेवीलाई पनि बिरामले च्याप्दै लग्यो । उनले व्यापारलाई भन्दा परिवारलाई समय दिन थाले ।
निरन्तर २०६० सालसम्म उनले व्यापार क्षेत्र सम्हालेपछि हाल उनी सामाजिक एवम् धार्मिक कार्यमा तल्लीन छन् । अहिले उनको मारूती, बुटवल सिमेन्ट, बैङ्कहरूमा लगानी छ । त्यसैबाट आएको मुनाफाको एक अंश सामाजिक क्षेत्रमा खर्चिन्छन् ।

समाजसेवा यात्रा
उनका २ छोरा, एक छोरी र श्रीमती छन् । ‘सबै कुरा धन सम्पत्ति मात्र होइन’ समाज सेवामा लाग्नुको रहस्य खोतल्दै उनले भने, ‘समाजको लागि पनि केही योगदान गर्ने मेरो लक्ष्य सानै उमेरदेखि थियो । त्यो अहिले आएर पूरा भयो ।’ व्यापारसँगै सामाजिक काम गर्नुपर्र्ने उनको मान्यता छ । उनले मन्दिर, विद्यार्थीलाई छात्रवृत्ति, विभिन्न कोष खडा गरेर दीन–दुःखीलाई सहयोग गर्दै आएका छन् । गोयलले गरेका सामाजिक कामको फेहरिस्त लामो छ । ‘सामाजिक कामहरूमा सहयोग गर्छौं, स्कुल, मन्दिर, आश्रम निर्माणमा सकेको सहयोग गर्छौं’ –उनी भन्छन् ।
गरिबीका कारण पढ्न नपाएका र अपाङ्गता भएकाप्रति उनी ठूलो सहानुभूति राख्छन् । बर्सेनी २५ सय विद्यार्थीलाई सहयोग गर्दै आएको उनी बताउँछन् । ‘मैले त पढ्ने बेलामा धेरै दुःख पाएको छु’ उनी भन्छन्, ‘मैले पाएको दुःख सम्झेर आर्थिक अवस्था नाजुक भएर पढ्न नपाएका त्यस्ता विद्यार्थीलाई पढाउँछु ।’ उनले झापा, मोरङ, सुनसरीदेखि धनकुटा, तेह्रथुम र काठमाडौंसम्म सहयोग गर्दै आइरहेका छन् । भद्रपुरको पाँचवटा सरकारी स्कुलमा ९ वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएका छन् । यस्तै महिला उद्यमी सङ्घ गौरादहलाई महिलाहरूको आर्थिक उत्थानको लागि पाँचथान सिलाइ मेसिन उपलब्ध गराएका छन् ।
सुनसरीको हाँसपोसास्थित शहीद स्मृति आवासीय विद्यालयलाई दिवङ्गत दाजु ओमप्रकाश गोयलको नाममा पाँचथान कम्प्युटर प्रदान गरेका छन् । झापाको चन्द्रगढीमा बन्न लागेको विश्रान्ती आश्रम निर्माण कार्यको लागि स्वर्गीय दाजु ओमप्रकाशको नाममा पाँचलाखको सहयोग प्रदान गरेका छन् । आर्थिक अवस्था नाजुक रहेको भद्रपुर माविमा अध्ययनरत नेहा सुनुवारलाई एमबीबीएस सम्मको अध्ययन गराइदिने घोषणा गरेका छन् । आफ्नो नाम र श्रीमती उषादेवी गोयलकोे नाममा प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरमार्फत् अक्षयकोष खडा गरी धर्म, कला, संस्कृति र साहित्यमा एकजनालाई वार्षिक ५१ हजार पुरस्कार दिने व्यवस्था गरिदिएका छन् ।
यस्तै आफ्नो उद्योगमा काम गर्ने कर्मचारीका छोराछोरीलाई पनि निजी स्कुलमा पढ्दा लाग्ने खर्च पनि स्वयम् गोयलले दिने गरेका छन् । यस्तै विराटेश्वर वृद्धाश्रममा बुबाआमा र दाजुको नाममा कोठा निर्माण, विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरको कोठा निर्माण, अष्ट चिरिञ्जीवी मन्दिर निर्माण गरेका छन् । ‘पैसा कमाएर धनी बनुँला भन्ने भावना भन्दा पनि यो समाजलाई रूपान्तरित गर्न योगदान दिने सोच छ’ उनी भन्छन्, ‘लोभ नगरी बसेको भए पैसा कमाएर पनि गुमनाम हुन्थेँ होला । अहिले नाम कमाएको छु, सन्तुष्ट छु ।’ आफूले कमाएको पैसा गरिब दुःखी र पढ्न नपाएका असहायलाई पढाइदिने गरेका छन् । आफूलाई पुग्ने राखेर समाजसेवा गर्ने योजना बन्यो । अहिले पनि निरन्तर रूपमा समाज सेवामा समर्पित छन् । अबको समय पूर्णरूपमा समाज सेवामा खर्चिने उनको लक्ष्य छ ।

योगदानले दिलाएको सम्मान
समाजसेवी गोयल दुई दर्जन बढी सङ्घ–संस्थामा आबद्ध छन् । उनले नेतृत्व गरेको सङ्घ–संस्थाको अगुवाइ पनि कुशलतापूर्वक निर्वाह गरेको अनुभव उनीसँग छ । उनी हाल धेरै सङ्घ–संस्थाको आजीवन सदस्य छन् । मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी जस्तो सङ्घ–संस्थाका आजीवन सदस्य छन् भने आधादर्जन बढी मठमन्दिरको संरक्षक छन् । उनले समाज र राष्ट्रमा पु¥याएको योगदानको कदर गर्दै ४४ वटा सम्मान प्राप्त गरेका छन् । तत्कालीन राजा वीरेन्द्रबाट दैवी प्रकोप विपत सेवा पदकबाट सम्मानित भए । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘जनसेवाश्री पदक’ २०७४ सालमा प्राप्त गरेका छन् । झापा मारवाडी काठमाडौंबाट ‘मारवाडी गौरव’ बाट सम्मानित भए । करिब विभिन्न १ सय सङ्घ–संस्थाबाट सम्मान र कदर–पत्र प्राप्त गरेका छन् ।