बिर्तामोड/ झापा स्पोर्ट्स अवार्ड २०७५ को वर्ष उत्कृष्ट खेलाडी उमेश राई र एस्तर राई घोषित भएका छन् । उमेश शारीरिक सुगठनका खेलाडी हुन् भने एस्तर कराँतेकी खेलाडी हुन् । पुरुषतर्फ उमेश र महिलातर्फ एस्तर वर्ष खेलाडी हुन सफल भएका हुन् ।

उनीहरूले २०७५ सालमा पाएको मेडल, शिल्ड र प्रदर्शनका आधारमा वर्ष उत्कृष्ट खेलाडीको रूपमा पुरस्कृत भएका हुन् । उनले अवार्ड जित्दै एक थान मोटरसाइकल पाए । उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनकै राम दाहाललाई पछि पारेका हुन् । राई साउथ एसिया च्याम्पियन हुन् । उमेश रोजगारका शिलशिलामा कुवेतमा छन् । उनको अवार्ड बुवा रामबहादुर राईले ग्रहण गरे ।

स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको अवार्ड झापाकी कराँते खेलाडी एस्तर राईले जितिन् । एकेएफ क्याडेट च्याम्पियन राईले मनोनयनमा परेका फुटबलर एञ्जिला तुम्बापो र भलिबलकी बिनिता बुढाथोकीलाई पछि पारिन् ।

वर्ष उत्कृष्ट खेलाडीको अवार्ड विजेता राईले एक थान स्कुटर प्राप्त गरेकी छन् । यसै गरी वर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन् । मेचीनगरकी बेगमले मनोनयनमा परेका फुटबलर छिरिङ गुरुङ र ब्याटमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी थिइन् । युवा वर्ष खेलाडी भएकी बेगमले नगद २५ हजार रुपैयाँ प्राप्त गरिन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका हरि खड्काले जिते । उनले बक्सिङका डम्बर लिम्बू र कराँतेका प्रशिक्षक योगेश राईलाई पछाडि पारे । खड्काले नगद २५ हजार रुपैयाँ हात पारे । पिपुल्स च्वाइजको अवार्ड भने फुटबलर कर्ण लिम्बूले जिते । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार भलिबलका गणेशविक्रम नेम्वाङले प्राप्त गरे । उनले नगद ३५ हजार रुपैयाँ प्राप्त गरे । ०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा पछिल्लो तीन वर्षदेखि प्रदान गरिँदै आएको छ ।