इनरुवा/ तलब नपाएको भन्दै इनरुवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

स्वास्थ्यकर्मीहरूको अवरोधका कारण बुधबार ओपीडी सेवा पूर्णरूपमा ठप्प बन्यो । करार र व्यवस्थापन समिति मातहतका कर्मचारीले काम ठप्प पार्दा इनरुवा अस्पतालको सेवा प्रभावित बन्न पुगेको हो । काम बन्द गरेका स्वास्थ्यकर्मीले तलबमा विभेद गरिएको बताएका छन् ।

ओपीडीसहितका सेवा ठप्प पारिएको विषयमा अस्पताल व्यवस्थापन समितिले भने असन्तुष्टि पोखेको छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल जायज नहुने भन्दै कर्मचारीहरूलाई काममा फर्किन अस्पताल व्यवस्थापन समितिले आग्रह गरेको छ ।

समितिका अध्यक्ष गोपाल राजभण्डारीले ठप्प पारिएको सेवा सुचारु गरी कर्मचारीहरूलाई काममा फर्कन आग्रह गरिएको बताए । तलबको विषय सम्बोधन गर्न तयार रहेको उनले बताए । अस्पताल प्रशासनले समेत तलब उपलब्ध गराउने विषयमा तयारी थालिएको बताएको छ ।