इनरुवा/ सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पछिल्ला खेलहरूमा नेपाल पुलिस क्लब र आर्मी विजयी भएको छ ।

वर्षाका कारण तीनदिन खेल अवरुद्ध भएका कारण दुई खेल खेलाइएको हो । समूह बी को पहिला खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विराटनगरलाई पराजित गर्दा दोस्रो खेलमा नेपाल आर्मीले वीरगञ्जलाई पाखा लगाएको हो ।

पहिलो खेलमा पुलिसले विराटनगरलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरको खेलमा १ सय ६३ रन जोडेको थियो । उसका लागि दिलिप नाथले ४५ तथा अमित श्रेष्ठले ४० रन बनाए भने योगेन्द्र कार्की २३ र प्रेम तामाङले अविजित १७ रनको पारी खेले ।

बलिङतर्फ विराटनगरका बलर मुकुन्द यादवले ३, सौगात भट्टराईले २ तथा सुमित यादवले १ विकेट लिएका थिए । १ सय ६४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र जोड्न सक्योे । उसका लागि सोनु अन्सारीले ५८, दीपक पासवानले ३६ र मुरली चौधरीले २१ रनबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ नेपाल पुलिसका योगेन्द्र कार्कीले २ तथा ललित भण्डारी, रामनरेश गिरी, मञ्जित श्रेष्ठले समान एक–एक विकेट लिए ।

त्यसैगरी दोस्रो खेलमा नेपाल आर्मीले वीरगञ्जलाई १९ रनले पराजित गरेको छ । १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको वीरगञ्जले ८ विकेट गुमाएर १ सय ५० रनमात्र बनाएपछि आर्मी १९ रनले विजयी भएको हो । पुलिसका योगेन्द्र कार्की र आर्मीका हरिबहादुर चौहान म्यान अफ दी म्याच घोषित भए ।