धनकुटा  / हिन्दुहरुको महान पर्व बडादसैंको सातौँ दिन फूलपातीको अवसरमा सनिबार धनकुटाको तल्लो टुडिखेलमा निशान भगवतीको विशेष पुजा आराधाना तथा हर्कबढाईं कार्यक्रमको आयोजना गरिएको छ ।
धनकुटा नगरपालिका वडा नं. ६ विच वजारमा रहेको प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर धनकुटाको टुडिखेलमा पु¥याए पछि विशेष पुजा आराधाना गरिएको थियो । टुडिखेलमा पुजा आराधना र हर्क वढाँई पछि टुडिखेलवाट धनकुटा वजारको परिचय मोड, चुवाको वोट, हुलाक टोल मदन चोक, यलम्वर चोक हुँदै वजारको विभिन्न भागको परिक्रमा पछि पुन निशान भगवतीलाई निशान मन्दिर मै प्रतिस्थापन गरी पूजा आराधनासहित फूलपातीको हर्कबढाईं गरिएको थियो । नेपाली सेनाको विशेष प्रस्तुती रहेको सो निशान वोकेर वजारको विभिन्न भागको परिक्रमा गर्ने क्रममा सर्वसाधरणको पनि सयौंको संख्यामा उपस्थिति रहेको थियो ।
सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको आ–आफ्नो टुकडीले सलामी दिएको थियो । करिब एक शताब्दी पहिले देखि सुरु भएको दशैंको फूलपातीको हर्कबढाईंले हरेक वर्ष निरन्तरता पाएको धनकुटा नगरपालिका वडा नं.७ परिचयमोडका स्थानिय पण्डित बाजे माधव दाहालले ब्लाष्टलाई जानकारी दिएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा.कृष्णवहादुर घिमिरे, नेपाली सेना वरख गणका गणपती भगवान थापा मगर, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदर्शन कोईराला, सशस्त्र प्रहरी प्रमुख सचिन कर्मचार्य, जनप्रतिनिधिहरु, प्रशासनिक नियकाका प्रमुख एवं राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरु, स्थानिय सञ्चारकर्र्मी, नागरिक समाजका अगुवा, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिलगायतको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली सेनाले फूलपाती हर्कबढाईंका अवसरमा ब्याण्डबाजा सहित प्रस्तुति दिएको थियो ।