समाज परिवर्तनशील र गतिशील पनि छ । विज्ञान र प्रविधि क्षेत्रमा भएको विकाशले आजभोलि हामी कोठाभित्रै बसेर सारा संसारको बारेमा जानकारी प्राप्त गर्न सक्छौं । मानौं विश्व एउटा सानो गाउँकै रूपमा रहेको छ्, जतिखेर पनि इण्टरनेटमार्फत संसार चिन्न, देख्न तथा आफूलाई आवश्यक विभिन्न जानकारीमूलक कुराहरू थाहा पाइरहेका हुन्छौं । त्यो पनि सजिलैसँग घरमै बसेर । कहिल्यै नदेखेको, नभेटेको मानिससँग हरेक क्षण सम्पर्कमा बस्ने गर्छौं । तर, सँगै भएका परिवारका सदस्य, छरछिमेकी, आफन्तहरू भने दिनदिनै पराइ हुँदै गर्दा खासै वास्ता गर्दैनौ । आजभोलि आधुनिकताको जमानामा सन्तान र अभिभावकबीच अन्तरक्रिया र सम्पर्कको समय घट्दो छ ।

यस्तो अवस्थाबाट हुर्केका आजका किशोरकिशोरीहरू भोलि युवा अवस्थामा प्रवेश गर्दा अनेक खालका जोखिमपूर्ण कार्यमा संग्लन हुने सम्भावना रहन्छ । हाम्रोजस्तो देशमा युवा पींढी रहर, बाध्यता, वातावरण वा जुनसुकै कारणले पनि कुलतमा फस्ने गर्छन् । मानसिक तथा शारीरिक विकासको आधारमा पनि किशोरावस्था सङ्क्रमणकालीन र जोखिमपूर्ण रहने हुँदा उनीहरूको सही सङ्गत, हेरचाह, एवम् पारिवारिक माया,ममतामा कमी भएको अवस्थामा लागूऔषधसहितको दुव्र्यसनमा लाग्ने सम्भावना अधिक रहन्छ । जुनसुकै कारणले पनि कुलतमा फस्न पुगेको खण्डमा त्यसको पहिचान, उपचार र पुनः स्थापना जटिल मानिन्छ । पछिल्लो समयमा लागूऔषध तथा विभिन्न अपराधिक गतिविधिमा युवाहरूको दुरुपयोग भइरहेको छ । दुव्र्यसन र लागूऔषध कारोबारमा किशोरावस्था उमेर समूहको संलग्नता डरलाग्दो छ । लागूऔषध के हो ? यसका बेफाइदा के के हुन् ? यसको सेवनले पारिवारिक तथा समाजिक र आर्थिक रूपमा कस्तो असर पार्ने सम्भावना हुन्छ ? यी यावत प्रश्नको जवाफ खोजेका छौं त ?

सामान्य भाषामा शरीर तथा मस्तिष्कलाई नै लट्ठ बनाउने नशालु पदार्थलाई लागूपदार्थ भन्ने गरिन्छ भने त्यही पदार्थको खराब लतलाई दुव्र्यसनी भनिन्छ । यस्ता लागूपदार्थको लतले मानव मन दिन प्रतिदिन निष्क्रिय हुँदै जान्छ । जीवनलाई कर्तव्य र आनन्दको सङ्गम ठान्न नसक्दा आजका किशोरावस्था र युवावर्गहरू विकृतिको खाडलमा भासिन पुग्छन् । गाउँ समाज हुँदै राष्ट्रनिर्माणमा संलग्न हुनुपर्ने युवा नै यस्ता दुव्र्यसनको शिकार बन्नु गम्भीर समस्या हो । जीवनसँग हरेस खाएर, मानसिक तनाव, माया प्रेममा धोका, डर, त्रासलगायत मेटाउने बहानामा मानिस लागूपदार्थको दुव्र्यसनमा फस्ने गरेका छन् । सुनसरी त देशमा लागूऔषध सबैभन्दा बढी कारोबार हुनेमध्ये दोस्रो नम्बरमा पर्दछ ।

लागूपदार्थ दुव्र्यसन नेपालको मात्रै होइन विश्वव्यापी समस्याका रूपमा देखापरेको छ । जहाँ जतिमात्रा दुव्र्यसन गर्नेहरू हुन्छन् त्यहाँ त्यतिकै मात्रा गैरकानूनी गतिविधि हुने सम्भावना रहन्छ । आजका युवा भोलि देश हाँक्ने सारथि हुन् । भोलि देश कुन बाटोतर्फ मोडिनेछ भन्ने कुरा उनीहरूकै हातमा हुन्छन् । युवा भोलिका आशलाग्दा शक्ति हुन् । यदि युवाहरू नै लागूपदार्थको दुव्र्यसनमा फसे भने देशको विकास कसरी हुन्छ त ? आजका युवावर्ग नै भोलि जिम्मेवार तहमा पुगेनन् भने स्थिति के होला, परिकल्पना नै गर्न सकिन्न । जसरी एक अन्यायी व्यक्तिबाट न्यायको कतै पनि कल्पना गर्न सकिन्न त्यसरी नै एक लागूपदार्थको लतमा फसेका अस्वस्थ व्यक्तिबाट स्वस्थ समाजको परिकल्पना गर्न सकिन्छ र ? पक्कै सकिँदैन । गलत संस्कारले गलत संस्कृति जसरी जन्माउँछ, त्यसैगरी गलत संस्कृतिले हाम्रो गौरवको ज्यान लिएर समाज र राष्ट्रलाई नै खोक्रो बनाउने काम गर्छ ।

कुनै पनि देशको दिगो विकास र समृद्धिका लागि युवाशक्तिको पहिचान, विकास तथा व्यवस्थापन अनिवार्य मानिन्छ । नेपालमा कुल जनसङ्ख्याको लगभग ४५ प्रतिशत युवा छन् । अन्य विकसित राष्ट्रहरूजस्तै हाम्रोजस्तो सीमित साधनस्रोत भएको कम विकसित मुलुकमा युवा जनशक्तिलाई प्रमुख श्रोतका रूपमा लिने गरिन्छ । युवामा रहेको क्षमता र सम्भावना पहिचान र व्यवस्थापन गर्न सकियो भने देशले विकासमा गति लिने सम्भावना हुन्छ यदि चुकियो र उचित दिशानिर्देश गर्न सकिएन भने उक्त समूह नै मुलुकको विनाशको कारण पनि बन्न सक्ने अधिक सम्भावना रहन जान्छ । किशोरकिशोरी तथा युवाहरू अनेक जोखिमबाट गुज्रिरहेका हुन्छन् ।

आजभोलि युवा जमात लागूऔषध दुव्र्यसन, ओसारपसार तथा विभिन्न आपराधिक गतिविधिमा लागेर गैरजिम्मेवार बन्दै गए भने आफू, परिवार, समाज र राष्ट्रलाई नै दीर्घकालीन नोक्सानी हुने परिस्थिति सिर्जना हुनसक्छ । लागूऔषध कारोबार तथा सेवन आफैंमा एक कुलत त हो नै, अरू कुनै प्रकारका कुलतमा लागेको व्यक्ति पनि लागूऔषधको कुलतमा लाग्ने धेरै सम्भावना रहेको हुन्छ । जोखिमपूर्ण लतमा फसेका युवाहरूको उत्थान तथा लागूऔषध नियन्त्रणमा सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले काम गर्दै आएका छन् । तर, अपेक्षित काम हुन सकेको पाइँदैन । त्यसैले किशोरावस्था तथा युवाहरूलाई लागूपदार्थको दुव्र्यसनको जोखिमबाट बचाउन राज्य र समाजसँगै परिवारका सदस्य सचेत र जागरुक हुनैपर्छ ।

राज्य पक्षको एकल प्रयास र पहलमा लागूपदार्थ जस्तो विकराल समस्या न्यूनीकरण गर्न सकिँदैन । त्यसैले अब युवा शक्तिले आँट गरेर यसको न्यूनीकरणमा जुट्नुपर्छ । दिनप्रतिदिन लागूऔषध प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि भएको विभिन्न तथ्याङ्कले देखाएको छ । पढ्ने, लेख्ने र आफ्नो जीवनको भाग्य रेखा कोर्ने उमेरका किशोरकिशोरी यस्ता कुलतमा लागेको छन् । सबै आमाबाबुको चाहना हुन्छ छोराछोरी पढिलेखी देशको लागि केही गरोस्, सुखमय जीवन बिताओस् । तर, गलत सङ्गत र वातावरणले कतिपय आमाबाबुको चाहनामा तुसारापात भएका र भइरहेका उदाहरण छन् । समाज र देशकै लागि हानिकारक यस्ता विकृति हटाउन राज्य पक्षको मात्र मुख ताकेर हुँदैन । सबै हातेमालो गरेर लागूऔषधको सेवन र कारोबार न्यूनीकरण र नियन्त्रणमा लाग्नुपर्छ ।

ग्रामीण भेगदेखि सहरका गल्ली गल्लीमा चेतनामूलक कार्यलाई निरन्तर प्रभावकारी बनाउन आवश्यक छ । हुन त प्रायःजसो लागूऔषध सेवन र कारोबारमा युवाकै संलग्नता हुन्छ । तर, सबै यस्तै लतमा फसेका भने पक्कै पनि हुँदैनन् । त्यसैले भोलि सरकार हाँक्ने आजका युवाले प्रमुख पात्रका रूपमा लागूपदार्थको सेवन, उत्पादन तथा कारोबार नियन्त्रणमा राज्य पक्षलाई दबाबमूलक सहयोग गर्नुपर्छ । युवा शक्ति त्यो शक्ति हो जसले सकारात्मक सहयोगी र सिर्जनशील भूमिकामार्फत लागूपदार्थ दुव्र्यसन न्यूनीकरण गर्न सक्छन् । युवाले चाहे के हुँदैन र ? युग बदलिन सक्छ, क्रान्ति ल्याउन सक्छ भने लागूपदार्थको दुव्र्यसन कुन ठुलो कुरा हो ? जागौँ युवा, लागूपदार्थ न्यूनीकरणमा लागौँ ।