जिल्ला कारागार तनहुँका कैदीबन्दीले मूढा बुनेर परिवारलाई पैसा पठाएका छन् । विभिन्न अपराधमा कारागारमा सजाय काटिरहेका कैदीबन्दीले फुर्सदको समयको सदुपयोग गर्दै बनाएको मूढा बिक्रीबाट घरमा खर्च पठाएका हुन् । कारागारमा रहेका १४४ कैदीबन्दीमध्ये १०० कैदीबन्दीले मूढा बुनेको रकम घरमा पठाएको कारागारले जनाएको छ ।
चाडपर्वमा मूढाको माग बढी हुने भएकाले दशैँ शुरु भएदेखि नै कैदीबन्दी मूढा बनाउन व्यस्त रहेको कारागारका कैदी नरबहादुर चन्दले जानकारी दिए । उनले विगत तीन वर्षदेखि कारागारमा मूढा बुन्दै आएका छन्। “कारागारमा यतिकै बसेर दिन कटाउनुभन्दा केही आयआर्जनको काम गरौँ भन्ने लागेर मूढा बुन्ने गरेको छु”, उनले भने, “समय कटाउने बाटोका अलवा आम्दानीको स्रोत पनि भएको छ ।” मूढा बनाएर बिक्री भएको आम्दानी घरमा पठाउने गरेको अर्का कैदी पूर्णबहादुर गुरुङले बताए ।
चाडपर्व लागेपछि कैदीबन्दी मूढा बनाउने काममा व्यस्त रहने गरेको कारागारका चौकीदार विष्णुहरि घिमिरेले जानकारी दिए । उनका अनुसार यस वर्षको चाडपर्वमा एक हजार मूढा उत्पादन गर्ने लक्ष्य छ । गत वर्ष एक हजार ५०० मूढा बिक्री भएको थियो । कारागारका कैदीबन्दीले चाडपर्वमा मूढा बिक्री गरेर रु तीन हजारदेखि रु छ हजारसम्म घरमा पठाउने गरेका छन् ।
कैदीबन्दीका अनुसार एउटा मूढा तयार गर्नका लागि दुई÷तीन दिन लाग्छ । एउटा मूढा तयार भएपछि ठिक्क खालको मूढा रु ४०० मा बिक्री हुन्छ । कारागारमा मूढा बुनेर मासिक रु पाँचदेखि छ हजारसम्म आम्दानी हुने गरेको कैदी महेन्द्र गुरुङको भनाइ छ । “मन बहलाउनुका साथै आम्दानीको स्रोत पनि भएको छ”, उनले भने । मूढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् ।
टायर राखेको रु दश, मूढा उठाएको रु पन्ध्र, बिट मारेको र बुट्टा भरेको रु तीस/तीसका दरले कैदीबन्दीले पाउने गर्दछन् । कारागारका सहायक जेलर नारायण अधिकारीले पछिल्लो समय कारागारमा उत्पादन भएका मूढा बिक्रीमा भने कमी आएको बताए । बजारमा आएका सस्तो मूढाले गर्दा कारागारमा उत्पादन भएको गुणस्तरीय मूढा बिक्रीमा गिरावट आएको उनको भनाइ छ । कारागारका कैदीबन्दीले उत्पादन गरेका मूढा दमौली, खैरेनी, आँबुखैरेनीलगायतका ठाउँमा बिक्री हुने गरेको छ ।