विराटनगर । अवैध लागूऔषधको कारोबार गर्ने मेडिकल संचालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलका प्रहरी कार्यालय बेलबारीले इटहरीमा ‘तिरूपती मेडिकल’ संचालन गर्ने संचालक मोरङ सुन्दरहरैचा– ४ का २६ वर्षिय नरेश यादवलाई र अवैध लागूऔषध ओसार–पोसार गर्ने इटहरी उपमहानगरपालिका –२ पशुपति चोकका २० वर्षिय असिम श्रेष्ठ पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले सोमबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । यादवले इटहरी – २ पशुपति चौकमा संचालन गरेको ‘तिरूपती मेडिकल’ र श्रेष्ठको साथबाट प्रहरीले ठूलो परिणाममा लागूऔषध बरामद गरेको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए ।

श्रेष्ठले ल्याएको लागूऔषध यादवले इटहरीमा संचालन गरेको मेडिकलमा भण्डार गरि लागूऔषधको कारोबार हुने गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिएको हो । बुधबार पक्राउ परेका श्रेष्ठले ल्याएको लागूऔषध पनि इटहरीको मेडिकल हलमा ल्याउने तयारी अनुरूप ल्याएको खुलेको छ ।

प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तरगत सुन्दरहरैचा नगरपालिका १० र १२ नम्बर वडामा पूर्वबाट पश्चिमतर्फ आई रहेको को १३ प १२७६ नम्बरको अपाची मोटरसाईकलमा सवार श्रेष्ठको साथबाट लागूऔषध बरामद गरेको एसपी अधिकारीले बताए । ‘नियमित चेकजाँचको क्रममा श्रेष्ठको साथमा भएको साईड ब्याग भित्र लागूऔषध फेला पर्यो,’ उनले भने । प्रराम्भिक चरणको अनुसन्धानबाट श्रेष्ठले ल्याएको लागूऔषध यादवले संचालन गरेको मेडिकल हलमा ल्याउने गरेको खुलेको छ ।

‘लागूऔषध ल्याउने श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले तिरूपती मेडिकलमा छापा मारेकोे थियो,’ एसपी अधिकारीले भने, ‘त्यहाँ भण्डार गरिएको अवस्थामा ठूलो परिणाममा लागूऔषध भेटियो ।’ प्रहरीले श्रेष्ठको साथबाट स्पायन ट्याव्लेट १ हजार ६ सय ७० थान,Cetadol-50 १ हजार ६ सय २० पिस,Rimodol ट्याव्लेट ६ पिस, बरामद भएको छ । यस्तै यादवले संचालक गरेको तिरूपती मेडिकलबाट Spaspain लेखिएको सेतो पत्तामा २ सय १९ पिस (ट्यावलेट), Spasmo लेखिएको १९ पिस ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।