धरान/पन्ध्र महिनाको बालबालिकामा लगाइने खोपलाई धरान उपमहानगरको खोप केन्द्रले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार राख्ने व्यवस्था गरेको छ ।

धरानमा २१ वटा खोप केन्द्र तथा उपकेन्द्रहरु रहेका छन् । ती खोप केन्द्रमा यसअघि सामान्य रुपमै चिसो स्थानमा राखिँदै आएको थियो । बालबालिकालाई पन्ध्र महिनामा ११ वटा खोप लगाउने गरिन्छ । उपमहानगर स्वास्थ्य शाखाका प्रमुख कविराज रामबाबु यादवका अनुसार बच्चाहरुलाई बीसीजी, डीपीटी, हेपाटाइटिस बी, दादुरा रुबेला, जापानिज इन्सेफ्लाइटिस, निमोनियालगायतका खोप लगाउने गरिन्छ । ती खोपहरु अनिवार्य २ डिग्री सेल्सियस देखि ८ डिग्री सेल्सियस तापक्रमभित्र राख्नुपर्ने डब्लुएचओले मापदण्ड बनाएको छ ।

धरानमा गत वर्ष ५ हजार ६ सय ५५ जना बालबालिकाले खोप लगाएको तथ्याङ्क धरान उपमहानगरसँग छ । धरानमा वार्षिक ३ हजार ६ सय २९ शिशुको जन्म हुने गरेको छ । सो अनुरुप राख्नका लागि नेपाल सरकारको स्वास्थ्य सेवा विभागबाट २ वटा डीफ्रिज सहयोग गरेको छ भने धरान उपमहानगरले एउटा डीफ्रिजको व्यवस्था गरेको छ ।

अब खोप केन्द्रहरुमा फ्रिजमा राखिएका खोपहरु वितरण गरिने कविराज यादवले बताए । एउटा डीफ्रिजको मूल्य एक लाख २० हजार रुपैयाँ पर्न आउँछ । खोप केन्द्र तथा कोल्ड चेन व्यवस्थापन केन्द्र नाम दिइएको खोप केन्द्रको उद्घाटन धरान उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यबाहक उपकुलपति प्रा.डा. गुरु खनालले संयुक्त रुपमा गरेका छन् । उनीहरुले बच्चाहरुमा लगाइने खोप अति संवेदनशील हुने भएकाले यस्ता खोपहरु गुणस्तरीय हुन आवश्यक रहेको बताए ।