दमक/ दमक–१० की मञ्जु थापाको घरमा ट्युबेल छ । यही ट्युबेलको पानी पिउन, खाना पकाउन, लुगा धुन र अन्य काममा समेत प्रयोग गर्ने गरेकी छन् । ट्युबेलको पानी निस्कने मुखमा कपडा बाँधिएको छ । त्यसबाट केही आर्सेनिक छानिएला कि भन्ने विश्वासले त्यसरी बाँधिएको थापाले बताइन् । त्यसरी बाँधिएको कपडा एक दिन पनि नटिक्ने गरेको उनको भनाइ छ । ‘हरेक दिन त्यो कपडा फेर्र्छौं, कहिलेकाहीँ त दिनमा दुई पटकसम्म फेर्नुपर्छ’–थापाले भनिन् ।

ट्युबेलको पानी झर्ने मुखमा बाँधिएको उक्त कपडा फेर्ने बेलामा पुराना कपडामा राता–राता गिट्टी, बालुवा, कहिलेकाहीँ त लेदो नै जमेको समेत भेट्ने गरेको उनले बताइन् । यही पानी नै उनीहरूले पिउन र विभिन्न प्रयोजनमा प्रयोग गर्दै आएका छन् ।

यो समस्या मञ्जु थापाको मात्र होइन । दमक–१० कै राधाकृष्ण पौडेलको घरमा पनि अवस्था उस्तै छ । उनी भन्छन्, ‘नगरपालिका त हो तर हाम्रो ठाउँ कुनै ग्रामीणक्षेत्रका गाउँपालिका भन्दा कमको छैन ।’ खानेपानीजस्तो अति आवश्यक पदार्थसमेत शुद्ध प्रयोग गर्न नपाउँदा उनी नगरपालिकाप्रति आक्रोस पोख्छन् । ‘तिर्खा लागेर पानी पिउने बेला भयो धित मर्ने गरी पानीसमेत पिउन पाइँदैन । पानी राखेका भाँडासमेत राताम्मे हुन्छ’ उनले भने, ‘यस्तो पानीका कारण हाम्रो स्वास्थ्यमा समेत असर परिरहेको छ ।’

स्थानीय यशोदा विस्ट भन्छिन्, ‘पानीका कारण सुकिलो लुगा लगाएर हिँड्न पनि पाएका छैनौं, हरेक दिन पानी उमालेर प्रयोग गरिरहनुपरेको छ । पानीकै कारण पेट दुख्ने, रुघा खोकीले छोड्दैन ।’ पानीका कारण यस क्षेत्रका नागरिकले अनेक समस्या झेलिरहेका छन् । पूर्वका अन्य शहरको तुलनामा दमक तीव्र गतिमा विकास हुँदै गएको भए पनि यही क्षेत्रका नागरिकले अहिलेसम्म शुद्ध पानी प्रयोग गर्न पाइरहेका छैनन् ।

दमकको दक्षिणी र उत्तरी क्षेत्रका नागरिक शुद्ध पानीबाट बञ्चित भएका छन् । उत्तरी क्षेत्रमा केही दातृ निकायले सहयोग गरेर पानीका ट्याङ्की निर्माण गरेर पानी वितरण गरेको भए पनि त्यो पर्याप्त छैन । यता दक्षिणी क्षेत्रमा त अहिलेसम्म खानेपानीको योजना सञ्चालन नै नभएको गुनासो गर्छन् जीवनकुमार ढकाल । ‘प्रधानमन्त्रीको गृहनगरका नागरिक हौं भनेर आत्मरतिमा रमाउनुबाहेक अरू केही हुन सकेन’ उनले भने, ‘अहिलेसम्म शुद्ध पिउनेपानीसमेत प्रयोग गर्न पाइएको छैन ।’

योजना निर्माणको काम अलपत्र
दमक–९ को शान्तिचोक दक्षिण र दमक–१० नम्बर पूरै वडालाई शुद्ध खानेपानी पु¥याउने उद्देश्यले खानेपानी योजनाको काम अघिल्लो वर्ष नै शुरु भएको थियो । अघिल्लो वर्ष प्रदेश नं. १ सरकारले ९० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएका कारण त्यस बराबरको काम भएको र हाल बजेट अभावका कारण योजना निर्माणको काम अलपत्र परेको दमक–१० का वडाध्यक्ष बोधराज न्यौपानेले बताए ।

‘अघिल्लो वर्ष प्रदेश सरकारले ९० लाख दिएको थियो, त्यस बराबरको काम गरेर अहिले त्यतिकै बसेका छौं’ वडाध्यक्ष न्यौपानेले भने, ‘एउटा बोरिङ निर्माण भएको छ, घेराबारा गरिएको छ, कल्भर्ट निर्माण गरी त्यहाँसम्म पुग्न आवश्यक बाटोसमेत निर्माण गरिएको छ ।’

९० लाख बराबरको काम के के भयो भन्नेबारेमा फेहरिस्त सुनाउँदै वडाध्यक्ष न्यौपानेले बताए । यो वर्ष प्रदेश सरकारसँग २ करोड रुपैयाँ माग गरिएकोमा २ लाख मात्र विनियोजन गरिएको भन्दै उनले आपत्ति समेत जनाएका छन् । प्रदेश सरकारले यो वर्ष हाम्रो योजनामा बजेट नै दिएन । माग गरिएको भन्दा ९८ प्रतिशत कम बजेट छुट्याएको भन्दै त्यो बजेट अर्थहीन रहेको भन्दै उनले आपत्ति जनाएका छन् ।

४ लाख लिटर क्षमता भएको खानेपानीको योजना पूर्णरूपमा सम्पन्न गर्न २० करोड रुपैयाँ लाग्ने उनले बताए । अझै एउटा बोरिङ हाल्न, पानी सञ्चित गर्ने ट्याङ्की निर्माण गर्न, पाइप विस्तार गर्न, प्रशासनिक भवन निर्माण तथा अन्य प्राविधिक काम गर्न बाँकी रहेको वडाध्यक्ष न्यौपानेले बताए । योजना निर्माण सम्पन्न भइसकेपछि यस क्षेत्रका करिब २ हजार २ सय उपभोक्ताले शुद्ध खानेपानी प्रयोग गर्न पाउने उनको दाबी छ ।