भद्रपुर/ नेपाल सरकारले अघि सारेको भ्रमण वर्ष २०२० लाई लक्षित गरी हल्दीबारी गाउँपालिकाले प्रथम हल्दीबारी महोत्सवको आयोजना गर्ने भएको छ । फेरि पनि घुम्न जाउँ हल्दीबारी गाउँको नारालाई लिएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आउँदो कात्तिक ९ देखि १७ गतेसम्म महोत्सवको आयोजना गर्ने भएको हो । गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको नेतृत्वमा सोमबार बिहान लोकतान्त्रिक शहीद स्मृति पार्क, हल्दीबारी–२ को हाताभित्र बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रत्येक वर्ष काग तिहारको दिनदेखि शुरु भई छठ पर्वको भोलिपल्ट समापन हुने गरी हल्दीबारी महोत्सव सञ्चालन गर्ने गरी यस पटकसमेत सोही बमोजिम महोत्सव सञ्चालनको व्यवस्था मिलाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लिङ्देनले बताए । महोत्सवको मिति भने हेरफेर हुनसक्ने उनले जनाए । वन उपभोक्ता समूहबाट प्रपोजल आएपछि टुङ्गोमा पुगिने उनले बताए ।

आर्थिक वर्षमा भेलागढी सामुदायिक वन उपभोक्ता समूहलाई महोत्सव आयोजनाको जिम्मेवारी सुम्पने र चौथो गाउँसभा अधिवेशनद्वारा पारित पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि विनियोजित ५ लाख रुपैयाँ महोत्सव आयोजनाको प्रस्ताव लिई भेलागढी सामुदायिक वन उपभोक्ता समूहलाई उपलब्ध गराउने व्यवस्था मिलाउने बैठकले पारित गरेको उनले जानकारी दिए ।
गाउँ कार्यपालिकाको असोज ५ गते बसेको बैठकले गठन गरेको हल्दीबारी महोत्सव मूल समारोह समिति नामाकरणलाई रूपान्तरण गरी महोत्सव निर्देशक समितिको रूपमा कायम गर्नेसमेत निर्णय भएको उनको भनाइ छ ।

समूहले आयोजना गर्ने महोत्सवसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापहरू महोत्सव निर्देशक समितिसँग अनुमति लिई सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । महोत्सव सञ्चालन एवम् व्यवस्थापनका क्रममा आइपर्ने सम्पूर्ण कार्य प्रक्रिया व्यवस्थापन गर्न गाउँ कार्यपालिकाको अधिकार महोत्सव निर्देशक समितिलाई प्रत्यायोजन गर्नेसमेत बैठकले निर्णय गरेको उनले जानकारी दिए ।

नेपाल सरकारले २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने अभियानलाई टेवा पुग्ने उद्देश्यले महोत्सव लगाउने तयारी गरिएको उपाध्यक्ष डम्बरबहादुर गिरीले बताए । सदरमुकाम नजिकै र पहिलो पटक पालिकाले लगाउने महोत्सवमा नेपाल तथा छिमेकी देशका समेत गरी एकलाख पर्यटक महोत्सवमा भिœयाउने लक्ष्य राखिएको उनले बताए । लिङ्देनको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष गिरी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।