अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का नाताले श्रीमान्–श्रीमती हुन् । तर नयाँ फिल्ममा उनीहरू साली–भेनाका रूपमा देखिँदै छन् ।

फिल्म ‘घामड शेरे’ मा स्वस्तिमा निश्चलकी साली बनेकी छन् । सामाजिक कमेडी ड्रामा प्रस्तुत गरिएको यो फिल्मको ट्रेलर हालै सार्वजनिक भएको छ ।

स्वस्तिमा र निश्चलको शीर्ष भूमिका रहेको यो फिल्ममा स्वस्तिमा र निश्चल साली भेनाको भूमिकामा छन् । निर्देशक हेमराज बिसीले पहिलोपटक निश्चल र स्वस्तिमाको दम्पतीलाई एउटै फिल्ममा अभिनय गराएका हुन् ।

निश्चल र स्वस्तिमाबाहेक सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारले समेत अभिनय गरेको यो फिल्म बिसी मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो ।

फिल्ममा हेमराज बिसीको कथा, पटकथा र निर्देशन रहेको छ भने निर्देशक बिसी र सिमोस सुनुवारको लगानी रहेको छ । फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् भने नरेन्द्र मैनालीले खिचेका हुन् । फिल्म कात्तिक ८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।