इटहरी/ इटहरी–११ मा लामो समयदेखि बन्दै गरेको मजदुर शान्ति पार्कमा आर्थिक अनियमितता भएको भन्दै सर्वसाधारणहरूले आपत्ति जनाएका छन् । मजदुर शान्ति पार्कको नाममा लाखौं रुपैयाँ सरकारी पैसा हिनामिना भएको स्थानीयबासीले आरोप लगाएका हुन् ।

स्थानीय तहको निर्वाचन हुनुअगाडि नै भएको पार्कको निर्माण कार्य अहिले पनि लथालिङ्ग अवस्थामा छ । सुनसरी जिससबाट पाँच वर्षसम्म निकासी भएको हिसाब अहिलेसम्म समितिले नदेखाएको भन्दै सर्वसाधारणले आक्रोस पोखेका छन् ।

स्थानीय एक अगुवाले नाम नखुलाउने शर्तमा भने, ‘पार्कको नाममा अहिलेसम्म करिब २५ लाख निकासा भए पनि पार्कमा अहिलेसम्म सामान्य तारजालीले मात्र बेरबार बनाएको छ । तारजाली पनि अहिले बिग्रिएको अवस्थामा छ ।’ पार्कको करिब ४ कठ्ठा जग्गामा अहिले पानी जमेर हिलाम्मे भएकोे छ ।

मजदुर शान्तिपार्क समितिका अध्यक्ष दीपक रसाइलीले भने आफूले रकम हिनामिना नगरेको बताएका छन् । उनले आफूले जिससबाट २ लाख रकम मात्र ल्याएको भन्दै त्यो पैसाको पनि काम गरेको बताए । ‘मभन्दा अगाडिका अध्यक्षहरूले के गरे मलाई थाहा भएन’ उनले भने, ‘मैले कुनै अनियमितता गरेको छैन ।’ अहिले पनि काम गर्ने भनेर ३ हजार इँटा झारेको भए पनि वडाअध्यक्षले काम रोकिदिएको उनको भनाइ थियो ।

यता इटहरी वडानम्बर ११ का अध्यक्ष रुपेश चौधरीले मजदुर शान्ति पार्कका सोचेअनुसार काम नभएको बताए । ‘शान्ति पार्कको नाममा प्रत्येक वर्ष पैसा ल्याएको पाइयो तर कति ल्याए भन्ने तथ्याङ्क भने मसँग छैन’ –उनले भने । शान्ति पार्क क्षेत्रकै जग्गाका स्थानीय भजनमण्डली समूहले ४ वटा पिल्लर गाडेको समेत उनको भनाइ थियो ।

शान्ति पार्कको हिसाब किताब पारदर्शी नभएको भन्दै स्थानीयले विरोध गर्दै आएको उनले बताए । केही समयअगाडि पार्कमा पानीको फोहोरा बनाउने तयारी गरे पनि स्थानीयले नदिएको उनको भनाइ छ । पार्कको विषयमा स्थानीयहरू असन्तुष्ट देखिएको उनले बताए । रकम हिनामिना भएको भन्दै छानबिन समितिसमेत बनेको वडाअध्यक्ष चौधरीले बताए । गाउँलेले हरहिसाब राम्रो भएन भने पछि छानबिन समिति बनेको उनले बताए ।

यता इटहरी–१२ का वडाध्यक्ष हेमानन्द दाहालले पनि मजदुर पार्कको नाममा आएको पैसाको हरहिसाब राम्रो नभएको गुनासो आएको बताए । शान्ति पार्क बनाउने अभियान राम्रो भए पनि काम प्रभावकारी नभएको उनको भनाइ छ । अहिले यो पार्क इटहरी–११ मा बन्दै छ भने पार्क बारे धेरै गुनासो आएको उनी बताउँछन् ।