इटहरी/ पर्यटन वर्ष सन् २०२० को शुभारम्भ हुन अब २ महिना मात्र बाँँकी छ । सरकारले यस वर्ष नेपालमा लाखौं पर्यटक भित्र्याउने लक्ष्य लिए पनि प्रचार–प्रसारको अभावमा प्रदेश १ भने ओझेलमा परेको छ । पर्यटन वर्ष तामझामका साथ मनाउने तयारी गरिरहँदा १ नम्बर प्रदेशमा भने वाह्य पर्यटकको खडेरी लागेको छ ।

प्रदेश १ मा धार्मिक तीर्थ स्थल तथा पर्यटकीय स्थलहरू धेरै भए पनि आन्तरिक पर्यटकबाहेक वाह्य पर्यटकहरू कमै मात्र आउने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् । आन्तरिक र वाह्य पर्यटकहरू अन्य महत्वपूर्ण ठाउँहरूको प्रचार– प्रसार अभावका कारण पनि तेस्रो मुलुक तथा नेपालकै अन्य प्रदेशका पर्यटकहरू नआएको भन्दै पर्यटन व्यवसायीहरूले गुनासो गरेका छन् ।

पर्यटन व्यवसायी तथा पर्यटन सदस्य भविस श्रेष्ठले प्रदेश १ को पूर्वी नेपालमा पर्यटक नअडिएको भन्दै गुनासो गरे । उनले भारतीय पर्यटक बाहेक अन्य पर्यटकहरूको खडेरी लागेको बताए । सरकारले पर्यटन वर्ष मनाइरहे पनि प्रदेश १ मा पर्यटकहरूको सङ्ख्या अरू प्रदेशको हेरी न्यून रहेको उनी बताउँछन् । धार्मिकस्थलसँगै पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरू भने केही बढेको उनी बताउँछन् ।

प्रदेश १ बाट अन्य प्रदेशमा घुम्न जानेको सङ्ख्या धेरै भए पनि अन्य प्रदेशबाट भने प्रदेश १ मा घुम्न आउनेको सङ्ख्या निकै कम भएको पर्यटन व्यवसायी श्रेष्ठ बताउँछन् । प्रदेश १ मा धेरै दिन पर्यटकलाई राख्न सक्ने ठाउँको समेत अभाव भएको उनको बुझाइ छ । ‘प्रदेश १ मा माउण्टेन फ्लाइट तथा क्यासिनो र डिस्कोसमेत आवश्यक भएको छ’ –उनले भने ।

यता होटल व्यवसायी महासङ्घ प्रदेश १ का अध्यक्ष तथा पर्यटन व्यवसायी मडिन्द्र कटुवालले पनि प्रदेश १ मा तेस्रो मुलुकका पर्यटकहरूको खडेरी लागेको बताए । अहिले प्रदेश १ का व्यवसाय स्थानीय पर्यटकहरूले धानेको बताए । ‘अहिले परिवारिक घुमघाम बढेको कारण जेनतेन पर्यटकहरूको सङ्ख्या बढेको जस्तो देखिएको हो’ उनले भने, ‘भारतीय पर्यटकहरू भने पहिलाकै तुलनामा रहेको पाइएको छ ।’

पर्यटन व्यवसायमा लगानी बढ्दो
प्रदेश एकमा पर्यटन क्षेत्रमा लगानी बढ्दो छ । सुनसरीको इटहरीका रमाइला पार्कहरूमा मानिसको आकर्षण बढ्न थालेपछि उद्यमी भीम पौडेलको समूहले ४ बिघा क्षेत्रफलमा अत्याधुनिक शैलीको पार्क शुरु गरेको छ ।

सञ्चालक विनोद पौडेलका अनुसार पार्कको नाम ‘वेट एण्ड डाइनो एम्युजमेण्ट एण्ड वाटर पार्क’ चाँडै सञ्चालनमा ल्याउने तयारी गरेका छन् । पार्कको लगानी ४० करोड पुग्ने जानकारी दिए । पहिलो चरणमा पार्कमा ६० जनाले रोजगारी पाउनेछन् । ‘यसभित्र नेपालमै पहिलो इण्डोर आइसपार्कको निर्माण गरिनेछ’ उनले भने, ‘स्विमिङ पुल र डाइनोसरका मूर्तिहरू राखिनेछ । काठमाडौंबाहिरको यो सबैभन्दा ठूलो र आधुनिक प्रकृतिको पार्क हुनेछ ।’

यता इटहरीका अर्का व्यवसायी बलराम आचार्यले पनि पर्यटन व्यवसायलाई लक्षित गरेर यही मङ्सिरबाट गोर्खा होटल सञ्चालनमा ल्याउँदै छन् । करिब ३५ करोडको लगानीमा निर्माण भएको होटल सुविधा सम्पन्न छ । ४२ वटा रुमसहित होटल सञ्चालनमा ल्याएको उनी बताउँछन् । त्यस्तै लामो समयदेखि निर्माणाधीन गरिमा होटल पनि चाँडै सञ्चालनमा ल्याउने तयारी गरेको सञ्चालक बलराम आचार्य बताउँछन् ।