धरान/ विश्व फुटबलमा केही यस्ता खेलाडीहरू छन्, जसले जीवनमा केही दुर्लभ रेकर्डहरू कायम गर्ने गर्छन् । सोमबार यस्तै दुर्लभ रेकर्ड कायम गर्नेमध्येमा पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो पनि परे ।

जसले क्लब र देशका तर्फबाट गरी कुल ७ सय गोलको आँकडा पूरा गरे । युरो कप छनौटमा युक्रेनसँगको स्पर्धामा ७ सय औं गोल गरे पनि देशलाई जिताउन भने सकेनन् । पोर्चुगल २–१ गोल अन्तरले युक्रेनसँग पराजित बन्यो । तर, ७ सय गोलको आँकडा पार गर्नेमध्येमा उनी छैठौं खेलाडी बने ।

सन् २००३ बाट अन्तर्राष्ट्रिय क्लबहरूमा डेब्यु गरेका रोनाल्डोले हालसम्म आइपुग्दा रेकर्डमाथि थप रेकर्ड बनाउन सफल बनेका छन् । उनको नामको रेकर्डभन्दा अगाडि भने पहिलो खेलाडीमा चेक तथा अष्ट्रियन खेलाडी जोसेफ बिक्यान, दोस्रोमा ब्राजिलका रोमारियो, तेस्रोमा ब्राजिलकै पेले, चौथोमा हङ्गेरीका फेरिन्क पुस्कास र पाँचौंमा जर्मनीका जेर्ड मुलर छन् ।

उनीहरूलाई पछ्याउँदै आधुनिक फुटबलमा रोनाल्डोले नयाँ रेकर्ड ब्रेक गरेका हुन् । आधुनिक फुटबलमा रोनाल्डो कि अर्जेन्टिनाका लियोनल मेस्सी महान् फुटबलर हुन् भन्ने चर्चा व्यापक चल्ने गरेको छ । यी दुई बीच नै पछिल्लो दशक स्पर्धा हुँदै आइरहेको छ । को महान् ? भन्ने जिम्मा फुटबलका पण्डित तथा विश्लेषकलाई छाडिदिऊँ ।

तर, युवा खेल जीवनमा स्पोर्टिङ सीपीबाट आफ्नो खेल यात्रा शुरु गरेका उनले सन् २००३ देखि नै युरोपका चर्चित फुटबल क्लबहरू किन्नका लागि आतँर देखिएका थिए । जुन बेला उनको ड्रिबलिङ पावर, सट पावरलगायतलाई हेरेर बार्सिलोना, लिभरपुलले उनलाई भिœयाउन चाहेको थियो । तर, त्यसमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड बढी सफल रह्यो । १८ वर्षको उमेरमा म्यानचेस्टरमा प्रवेश गरेका उनी सन् २००९ सम्म त्यही क्लबबाट आफ्नो खेल जीवनलाई तिखारे ।

स्पोर्टिङ एफसीमा कुल ५ गोल गरेका उनले म्यानचेस्टर युनाइटेडबाट १ सय १८ गोल गरे । जुन बेला सन् २००८ मा उनलाई फिफा बालुन डिओर’ प्रदान गरियो । पहिलो पटक उनी बालुन डिओर’का हकदार बने । उनी सन् २००९ मै स्पेनको महँगो क्लब रियल मड्रिडमा पुगे । ८० मिलियन अमेरिकी डलरमा अनुबन्ध हुन पुगेका उनी सन् २०१८ सम्म रियलमै रहँदा ४ सय ५० गोल आफ्नो नाममा गरे । रियलमै रहँदा उनले सबैभन्दा बढी फिफा बालुन डिओर’ प्राप्त गर्न सफल बने । ४ पटकसम्म बालुन डिओर’ आफ्नो नाममा गरेका उनले मेस्सीको बराबरी गर्न सफल बनेका थिए । सन् २०१३, २०१४, २०१६, २०१७ मा बालुन डिओर’ जितेका थिए ।

सन् २०१८ पछि नै उनी रियल छाडेर इटालीको क्लब युभेन्ट्समा पुगेका छन् । युभेन्ट्सबाट उनले ३२ गोल गरिसकेका छन् । देशका लागि भने उनको नाममा ९५ गोल रहेको छ । राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्नेको सूचीमा उनी दोस्रो नम्बरमा छन् । उनीभन्दा अगाडि इरानका अली दाइ छन् । जसको नाममा १ सय ९ गोल रहेको छ ।

उक्त सङ्ख्या भेट्नका लागि अझै १४ गोल गर्नुपर्ने हुन्छ । क्लब र देश गरी उनले कुल ९ सय ७३ खेल खेलिसकेका छन् । तर, उनले ४ सय ५८ खेलमा कम्तीमा एक गोल गर्ने खेलाडीमा पर्छन् । आधुनिक फुटबलरमध्येका अर्का महान् खेलाडीको सूचीमा पर्ने मेस्सीले क्लब र देशका लागि ६ सय ७२ गोल गरेका छन् । सात सय गोलको आँकडा पूरा गर्न अझै २८ गोल गर्नुपर्ने हुन्छ ।

सन् २००३ देखि शुरु भएको उनको अन्तर्राष्ट्रिय फुटबल क्यारिअरमा २९ वटा ट्रफी हात पार्न सफल बनेका छन् । जसमा ६ वटा लिग, पाँच वटा युएफएफए च्याम्पियन्स लिग, एउटा युएफएफए युरोपियन च्याम्पियनसिप, र एउटा युएफएफए नेसनल लिगलगायतका उपाधि जित्न सफल भएका छन् ।