बिर्तामोड/ लागूऔषध दुव्र्यसनविरुद्ध निर्माण भएको लघु चलचित्र ‘मिसन बिर्तामोड’ को विशेष प्रदर्शनी हुने भएको छ ।
स्थानीय कलाकारहरूको अभिनय रहेको लघु चलचित्र मिसन बिर्तामोडको आज (कात्तिक २ गते) बिर्तामोडमा विशेष प्रदर्शनी हुने भएको हो । ६ महिना अघिबाट बिर्तामोड र बुधबारेमा छायाङ्कन भएको चलचित्र मिसन बिर्तामोडले ‘स्पेसल शो’ गर्न लागेको चलचित्रका निर्माता राजन थापाले बताए ।

‘चलचित्रमा लागू औषध दुव्र्यसनका नकारात्मक तथा सकारात्मक पक्ष समेटेका छौं’ निर्माता थापाले भने, ‘युवा तथा किशोर अवस्था साथै अभिभावकलाई समेटेर चलचित्र निर्माण भएको छ ।’ उनले चलचित्र ८ लाख रुपैयाँको लगानीमा तयार भएको बताए ।

बिर्तामोड इन्टरटेन्टमेन्ट प्रालिको प्रस्तुति रहेको चलचित्र राज सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको हो । निर्देशक सुब्बाको यो दोस्रो चलचित्र भएको चलचित्रका कार्यकारी निर्माता एलसी श्रेष्ठले बताए । इलाम, पाँचथर, ताप्लेजुङबाट बिर्तामोडमा आएर अध्ययन गर्ने विद्यार्थी कसरी विकृति तथा विसङ्गतिको दल–दलमा फस्छन् भन्ने विषय चलचित्रमा देखाउन खोजेको सह–निर्माता अर्जुन मेचेले बताए ।

उनले चलचित्र एकघण्टा २९ मिनेटको रहेको बताएका छन् । चलचित्रमा राजन थापा, रमेश बोहोरा, कृष्ण तामाङ, प्रताप सुनुवार, राज शेर्मा, पेम्बा शेर्पा, चेतन अधिकारी, राजु गौतम, विक्रम गेलाल, सेजल कडरिया, रीना तामाङ, चन्दन राजवंशी, आश्मा तामाङ र तुलसा प्रधानलगायतको अभिनय रहेको छ ।