कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को जोडीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को छायाङ्कन पूरा भएको छ ।
करिब १ महिना लामो छायाङ्कनपश्चात् एक गीत बाँकी राख्दै शुक्रबार फिल्मको सुटिङ प्याकअप गरिएको हो । गीतको छायाङ्कन केही समयपछि हुने फिल्मका कलाकार सीतारामले जानकारी दिए । रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा सीतारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरूको पनि अभिनय छ । ‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस–सुन्तली’ फिल्म निर्माणमा होमिएका हुन् । उनीहरूको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ । यो फिल्मको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ । फिल्म २ करोडको लागतमा बनेको हो ।