उदयपुर/ पछिल्लो समयमा आएर संरक्षण तथा प्रवद्र्धनको अवसर पाएको उदयपुरको भुत्याहा दहमा पर्यटकको आँखा पर्न थालेको छ । बेलका नगरपालिका–५ खयरबनीको भूत्याहा दह पर्यटकको नजरमा पर्न थालेको हो ।

पूर्व–पश्चिम मदन भण्डारी राजमार्गदेखि करिब दुई किलोमिटर भित्र पर्ने भूत्याहा दहले प्रचारप्रसार पाएपछि आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको भूत्याहा दह संरक्षण तथा सम्बद्र्धन विकास समितिका अध्यक्ष तारा मगरले बताइन् । दहको प्रचारसँगै निकैको चासो बढ्न थालेका छन् ।

अहिले दह आउने जाने मानिसहरूको निकै बाक्लो घुँईंचो लाग्ने गरेको अध्यक्ष मगरले बताइन् । प्राकृतिक सौदर्यको आनन्द ग्रहण गर्दै गर्मीयाममा भूत्याहा दहको अवलोकन गर्न सकिन्छ । यो दह अत्यन्तै आनन्दको ठाउँ भएकाले जो कोहीलाई पनि आकर्षित गर्ने गरेको अध्यक्ष मगरले बताइन् । स्वच्छ र मनोरम प्राकृतिक वातरवरण र हरियो देखिने स्वच्छ, सफा दहको पानीले मनै लोभ्याउने उनले बताइन् ।

दह गहिरो र फराकिलो भएकाले पौडी खेल्नेका लागि उपयुक्त छ । बाहिरबाट आउने मानिसहरूले माथिबाट हामफाल्ने नुहाउने, पौडने गरेर मनोरञ्जन लिने गरेका छन् । दह गहिरो भएकाले पौडी खेल्न नजान्नेहरू बगेको निर्मल सफा पानीमा नुहाउने गरेको स्थानीय पदमकेशर खड्काले बताए । अहिले धरान, इटहरी, फत्तेपुरलगायतका टाढाबाट समेत यात्री आउने गरेका छन् । पछिल्लो समयमा आएर दहको संरक्षणमा स्थानीय लागी परेको स्थानीय खड्काले बताए । यतिबेला वडा र नगरले समेत दह संरक्षणको लागि सहयोग गरेको उनले बताए । उक्त सहयोगले दहसम्म पुग्ने सडक खन्नुका साथै पैदल मार्ग बनाइएको उनले बताए ।
दहको जानकारी पाउनेहरू विदाको दिन विशेष गरी पर्यटकको रूपमा आउने गरेको स्थानीय थिरबहादुर कोइरालाले बताए । दह जानको लागि साना सवारी साधन पुग्ने ठाउँमा खोला किनारमा पार्किङ गर्ने ठाउँ बनाए पनि विदाको दिन सवारी साधन नआट्ने गरेको उनले बताए । दहको प्रचार प्रसारलाई टेवा पु¥याउने उद्देश्यले समितिले असोज १६ गते भूत्याहा दहको नाममा व्याडमिन्टन प्रतियोगिता समेत सञ्चालन गरेको थियो । दहको विकासका मुख्य पाटो सडक भएकाले दहभन्दा तलसम्म सडक निर्माण गरी त्यस ठाउँबाट पैदल बाटो बनाउने योजना रहेको समितिले जनाएको छ ।
पर्यटकीय क्षेत्रको सम्भावना बोकेका ठाउँको स्थानीयले चासो दिएर त्यसको संरक्षण तथा प्रवद्र्धनमा विशेष ध्यान दिने हो भने सरकारले लिएको लक्ष्य र चाँडै पूरा हुने निश्चित छ ।