भद्रपुर । भारतको बिहारसँग जोडिएको झापाको सीमा नाका ४८ घण्टा सिल भएको छ । शनिबार बेलुका ५ बजेदेखि सोमबार बेलुका ५ बजेसम्म बोर्डर सिल भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विहार राज्य स्थित किशनगञ्ज जिल्लामा अक्टोबर २१ तारिख अर्थात् कार्तिक ४ गते हुने विधानसभाको उपनिर्वाचनलाई मध्यनजर गरी भद्रपुरसँग जोडिएको विहार बोर्डर ठप्प भएको छ भने बङ्गला बोर्डर खुल्ला रहने जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जनाए । भद्रपुरसँगै झापाको पाठामारी, केचना, घेराबारी, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका पनि सिल हुने उनले जानकारी दिए । किशनगञ्जमा हुने उपनिर्वाचनलाई मध्यनजर गरी दुई साता अघि गलगलियामा नेपाल –भारतका सुरक्षा निकायबिच बैठक बसेको थियो ।

सोही बैठकमा बोर्डर सिल गरी निर्वाचन सुरक्षामा सहयोग पुराइदिन भारतीय सुरक्षा निकायका प्रमुखले झापाका सुरक्षा प्रमुखसँग आग्रह गरेका थिए । निर्वाचनमा बोर्डर सिल गर्ने विषयमा झापाका सुरक्षा निकायले पनि सहमति जनाएको थियो । किशनगञ्जमा उपनिर्वाचन हुन लागेपछि सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले उच्च सतर्कता बढाइएको पाइएको छ ।