विजय राई २०४१ सालदेखि नै मोरङको बाहुनीस्थित जनता माविमा पढ्दैंदेखि अनेरास्ववियुको प्राक कमिटीमा काम गरेर सकृय राजनीतिमा होमिएका व्यक्ति हुन । धरान ८ घर भएका राई अनेरास्ववियू सचिवालय सदस्य, शैक्षिक विभाग प्रमुख हुदैं त्रिभूवन विश्वविद्यालय किर्तिपुरमा एक कार्यालय स्वावियु सभापतिसमेत भएका थिए । विभिन्न राजनीतिक कमिटी, संघ संस्थाको नेतृत्व गदैं उनले राष्ट्रिय राजनीतिसँग पहुँच राख्ने हैसियत बनाएका छन् । किर्तिपुरबाट व्यवस्थापन विषयमा स्नाकोत्तर(एमविए) सम्म अध्ययन गरेका राई स्थानीय तहमा भएका कुनै पनि समस्या उनी सिधै केन्द्रीय नेताहरुसँग राखेर समाधान खोज्ने उनको खुविले स्थानीय तहमा उनी लोकप्रिय छन् । विगतमा धरानमा बाँस्केटवलको एक महिने राष्ट्रिय टिमको बन्द प्रशिक्षण भयो । साग खेलका लागि तयारी प्रशिक्षण धरान ल्याउन राखेपको केन्द्रीय नेतृत्वसँग पहल गर्न उनको पनि भूमिका महत्वपूर्ण थियो । पूर्व प्रधानमन्त्री झलनाथ खनालको सचिवालय, राखेप, तथा राष्ट्रिय खेलकुद महासंघलगायत क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका राईले हाल पार्टीको प्रदेश कमिटी सदस्यको जिम्मेवारी पाएका छन् । धरानमा मंसिर १४ गते हुने मेयरको पदका लागि पनि उनको चर्चा चल्दैं आएको छ । यसै विषयमा ब्लाष्टखबरले गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।

  • आगामाी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा धरानको मेयर पदका लागी तपाईको पनि चर्चा चलिरहेको छ, खास कुरा के हो ?

स्वाभाविक कुरा हो , किनकी म पार्टीमा फुलटाइमरको रुपमा लामो समयदेखि काम गदैं गरेको पार्टीको एउटा सिपाई हु । मुलुकका लागि पार्टीले गरेका हरेक आन्दोलनको मोर्चामा म सहभागी हुदैं आएको व्यक्ति भएका कारण धराने जनताको मप्रतिको विश्वास र भरोसा हुनु स्वभाविक हो भन्ने मैले बुझेको छु । यही कारणले पनि धराने जनताले मेयरको लागि मेरा नाम चर्चामा ल्याएका हुन । जनताको चाहना, धरानको आवश्यकतालाई बुझेर पार्टीले मलाई जिम्मेवारी दियो भने त्यसको नेतृत्व लिन म तयार छु ।

  • झण्डै एक दर्जन कमरेडहरु टिकटको लाइनमा छन् । तपाईले नै टिकट पाउने आधार के छ ?

टिकट पाउने आधार प्रसस्त छन् । २०४१ देखि नै विद्यार्थी कालमै राजनीतमा सकृय भएको व्यक्ति हु । म लामोसमयदेखि पार्टीको फुलटाइमरको रुपमा निरन्तर काम गरिरहेको छु । पूर्व प्रधानमन्त्री झलनाथ खनालको सचिवायमा रहेर लामो सयम काम गरे । त्यहीबाट राजनीतिक परिपक्कता र चेत मैले हासिल गरेको हु । त्रिवी क्याम्पस किर्तिपुरको स्ववियु सभापति भएर काम गरेको ममा अनुभव छ । राष्ट्रिय खेलकुद महासंघको संस्थापक उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदमा समेत एक कार्यकाल काम गरि सकेको छु । राजनीतिक परिपक्ता र अनुभवसिद्ध भएकै कारण पार्टीले मलाई हाल प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिएको छ । केन्द्रसँगको राम्रो पहुँच पछि हाल विगत समयदेखि धरानको भूगोलमा रहेर काम गरिरहेको छु । धरानको स्थायीबासीसँगै राजनीतिक योद्धा भएका कारण यहाँका समस्याहरुलाई मैले राम्रो अध्ययन गरेको छु । ती समस्यालाई समाधान गर्न मेरो भूमिका प्रभावकारी हुने भएकाले पनि म उपनिर्वाचनको उम्मेदार हुन इच्छुक भएको हु ।

  • तपाईलाई त तात्कालीन एमाले छोडेर अन्यत्र जानुभएको भन्ने छ नी ? टिकट पाउन त गाह्रो होला नी ?

त्यस्तो केहि पनि होइन, मैले तत्कालिन नेकपा एमाले त्यागेको वा छोडेको हुदैहैन । मेरो घरायसी काम व्यक्तिगत कामका कारण मैले एक वर्ष विश्राम लिएको मात्र हु । म २०४१ सालदेखि निरन्तर संगठित सदस्य भएर काम गरिरहेको छु । एक बर्ष घरायसी काममा व्यस्थ भएको मात्र हो । अन्यत्र गएको भन्ने कुरा विरोधीहरुले अफवाह फैलाएका मात्र हुन ।

  • जन नेता मदन भण्डारीले अघि सर्नु भएको जनताको बहुदलीय जनवाद र २१औं शताब्दीको जनवादको कुरा आइरहेको छ । तपाइको बिचारमा कुन उपयुक्त छ ?

 दुबैको सार एउटै हो । अव हामी कुनै पनि सशस्त्र द्वन्द्वमा जादैनौं । जनताको मन जितेर चुनावी प्रकृयाबाट जनताको काम गर्ने पार्टी हो नेकपा । त्यस कारण अहिले जनताको बहुदलीय जनबाद र २१ औं शताब्दीको जनबाद भन्नु एउटै कुरो हो । तथापी पार्टी एकताको महाधिबेशनले यो कुराको छिनोफानो गर्ने छ । अहिले हामी २१ औं शताब्दीको जनवाद तर्फ उन्मुख भएर अगाडी बढिरहेका छौं ।

  • तपाईंलाई त भुगोलमा कार्यकताहरुले चिन्दैनन् भनिरहेका छन् नी , टिकट पाउनका लागी स्थानीय कमिटिले नाम सिफरीस गर्नु पर्ने हुन्छ । तपाईंको नाम सिफरीस होला त ?

मलाई नचिनिएको अनुहार भनेर सुनियोजीत प्रचार भएकाे मात्र हाे ।  म केन्द्रीय जिम्मेवारीमा हुदा केन्द्रमा बसेर काम गरे । तर मेरा स्थायी बसोवास धराने भएका कारण धरानका लागि काम गरिरहेको छु । विगतमा पनि गरिरहेको थिए । अहिले त झन लामो समयदेखि कुनै व्यासायी नगरि पार्टीकै काम गरेर धरानमा बसिरहेको छु । चिन्दैंनन् भन्ने कुरा अफवाह मात्र हो । हरेक धराने जनताको घर दैलोमा पुगेर उहाँहरुको सुखदुख बुझेको छु । मलाई लाग्छ, धरानको सम्बृद्धिका लागि सबै तह तप्कामा पार्टीले योग्य उम्मेद्वारको सिफारिस गर्ने छ । धरानको आवश्यकता पार्टीले बुझेर गर्ने छ । पार्टीले धराने जनताको आवश्यकता हेरेर सिफारिस गर्ने कुरा हो ।

  • धरानमा राष्ट्रिय नेताको खडेरी भएको देखिन्छ, केन्द्रसँग तपाईले कसरी जोड्नु हुन्छ त धरानलाई ?

धरानमा राष्ट्रिय नेताको खडेरी भएकोमा धेरै सत्यता छ । धराने जनताको गुनासो पनि यहि छ । धरानको केन्द्रसँग त्यती धेरै जोडिन सकेकाे छैन् । त्यहीभएर ठूलो आयोजनाहरु धरानमा भित्रिन सकेका छैनन् । स्थानीय तहको बजेटले गौरवका आयोजनाहरु सम्पन्न गर्न सकिदैंन । त्यसका लागि केन्द्रीय बजेट ल्याउन सक्नु पर्दछ । यहाँ भएका समस्या समाधानका लागि पनि केन्द्रसँग पहुँच चाहिन्छ नै । त्यो भूमिका म खेल्छु । केन्द्र पार्टी तथा सरकारसँग धरानलाई जोड्ने मेरो पहिलो प्राथमिकता हुने छ । म नेतृत्वमा आएको खण्डमा धरानको विकास र अग्रगतीका लागी धरानलाई केन्द्रमा पु¥याउने पुलको रुपमा काम गर्ने छु । यो हैसियत म राख्द छु ।

  • तीन दशक भन्दा लामो समय कम्युनिस्टले नेतृत्व गरेको धरानको विकास भएको छैन् । धेरैको गुनासो यही छ ? नेकपालाई चुनाव जित्न सजिलो छ त ?

धेरै हदसम्म यो सत्य हो । तर धरानको विकास नै नभएको भने होइन । धरान आधुनिक शहर हो जस कारण यहाँ आवश्कता नयाँ र छिटो आउने गर्दछन् । विकास निमार्ण सोचे अनुरुप छिटो नहुने हुनाले नभएको हो की भन्ने भान मात्र भएको हो । धरान क्रमश विकासित हुदैं गइरहेको छ । कुनै पनि विकासको प्रतिफल तत्काल देखिदैन् । यसको असर पछि पछि देखिन्छ । धरानको विकास सम्भव नेकपाबाट मात्र छ । त्यो जनताले बुझेका छन् । अझ धरानलाई आधुनिक र स्मार्ट सिटिको रुपमा विकास गर्नु पर्ने हुन्छ । यो दिर्घकालीन योजना बनाएर जानु पर्दछ । कम्पतिमा २०/२५ बर्षे भिजन बनाएर धरानको विकास योजना बनाउनु पर्छ । त्यसका लागि केन्द्रको सहयोग चाहिन्छ । केन्द्रलाई आग्रह र  दवाव स्थानीय तहको नेतृत्वले गर्नु पर्छ । त्यो भूमिका पुरा गर्न म तयार छु ।

  • धरानका ठूलो आयोजनाहरु त निकै विवादित छन नी ? कसरी समाधान होला ?

केही स्वार्थ राख्ने व्यक्तिहरुबाट धरानका सम्वृद्धिका योजनाहरु अवरोध भएको मैले पाएको छु । तर आफ्नो स्वार्थ भन्दा माथि उठेर धरानको विकासका लागि सबैले योगदान दिनु पर्छ । सम्वृद्ध धरानका लागि साना तिना कुरामा अल्झिनु उचित होइन । बस पार्क, खानेपानी आयोजना अहिले त्यही सानातिना कुरामा अल्झिएर रोकिएका हुन । सबै तहतपकाका व्यक्तिहरुसँग परामर्श, सहकार्य गरेर यस्ता योजनाहरु अघि बडाउनु पर्छ । यसो गरियो भने मात्र धरानले विकासको फड्को मार्ने छ ।

  • धरानको विकासका लागि तपाइको योजना के छ त ?

धरान बाहिरबाट कमाएर ल्याएर आरामसँग बस्ने अथवा रिटायर लाइफ विताउने शहरको रुपमा चिनिन्छ । यसलाई अात्मानिर्भर बनाउनु नै सवैभन्दा महत्वपुर्ण कुरा हो । जनु पर्यटन क्षेत्र हुन सक्छ, शैक्षिक क्षेत्र हुन सक्छ अथवा खेलकुद क्षेत्र वा अन्य जसको लागी केहि आधार तैयारीहरु भएका पनि छन्, र सम्भव पनि छ । अव जसले नेतृत्व लिन्छ यसको विकास र बिस्तारका लागी महत्वपूर्ण भुमिका खेल्नुपर्ने आवश्यक छ । योजना भन्दा पनि भएका समस्याहरुको समाधान गर्न र भएका योजनाहरुको कार्यन्वयनमा जोडदिनु महत्वपूर्ण हुन्छ जस्तो लाग्छ । धरानको बसपार्क, खानेपानी समस्या यो त्यती ठूलो समस्या होइन । यो हामी धरानको विकास चाहने सबै एक ठाउँमा बसेर एकै पटकमा निर्णय गर्न सकिने कुरा हो । धरानको विकास चाहने सबै एक ठाउँमा उभिन सके तत्काल धरानका समस्या सबै समाधान नभए पनि क्रमिक रुपमा न्युनीकरण हुने छ ।
त्यसैले यी समस्यामा अल्झिरहनु भन्दा पनि योजनाहरुको कार्यन्वयन गर्नु र त्यसका लागी धरान आफैले गर्न नसक्ने परीस्थितीमा प्रदेश तथा केन्द्रमा शसक्त रुपमा धरानका समस्याहरुलाई लगेर जानु मेरो भुमिका रहेने छ ।

 

bijay