इटहरी/ इटहरीको मुख्य चौक धुलोको कारण हिँड्न सक्ने अवस्थामा नभएको भन्दै इटहरीबासीले केहीबेर ढाट लगाएर मुख्य हाई–वे अवरुद्ध गरेका छन् । इटहरी–विराटगर लाइनका स्थानीयले धुलोका कारण सास्ती खेप्नुपरेको भन्दै हाई–वे अवरुद्ध गरेका हुन् ।

जोगवनी–किमाथाङ्का जोड्ने ६ लेन सडकको निर्माण कार्यप्रति जनताको प्रश्नैप्रश्न छ । खाल्डाखुल्डी सडकको कारण हाई–वेमा हिँड्न सक्ने अवस्था नभएको भन्दै सडकमै बाँस लगाएर बाटो अवरोध गरेका थिए । इटहरीमा धुलोको कारण हिँड्न समस्या हुँदासमेत सम्बन्धित पक्षले बेवास्ता गरेको भन्दै केहीबेर मुख्य हाई–वे नै अवरुद्ध भएको थियो ।

६ लेन सडक निर्माण भइरहेको सडक अति व्यस्त भए पनि सडकमा रहेका खाल्डाखुल्डी र धुलोले समस्या बनाएको कारण आफूहरू सडकमा आउनुपरेको स्थानीय रविन लिम्बूले बताए । सवारी साधनले उडाएको धुलोले स्थानीय व्यवसायी र घरवाला मात्र नभई सडकमा हिँड्ने सबै समस्यामा परेको कारण आदोलन गर्न बाध्य भएको उनले जनाए ।

विराटनगरदेखि इटहरीसम्म दुवैपट्टि ढल निर्माण भइरहनाले पनि सडक धुलाम्य बनेको छ । ‘प्रदेश मन्त्रालयदेखि इटहरीको मुख्य चौक हुँदै दैनिक आवत–जावत गर्छन् । त्यो सडकमा धुलोले हैरान पार्छ । केही ठाउँमा निर्माण सामग्री अव्यवस्थित तरिकाले फालिएको छ’ अर्का स्थानीय व्यापारी घनेन्द्र साहले भने, ‘त्यसले गर्दा दैनिक यात्रुहरूले सास्ती बेहोर्नु परेको छ ।’ चालकले सहज रूपमा सवारी साधन चलाउन पनि सक्दैनन् । इटहरी आउजाउ गर्ने सबै यात्रुलाई समस्या परेको छ । मोटरसाइलक चालकलाई त झन् कठिन भएको स्थानीयले बताए ।

धुलोको विषयमा सबै सरोकारवाला मौन छन् भने यात्रुले हैरानी बेहोर्नु परेको छ । समयमा काम पूरा नहुने समस्या त छ नै । ठेकेदारले जहाँ पायो त्यहीँ निर्माण सामग्री राख्नाले झन् ठूलो समस्या छ । धुलोले समस्या बनाएका कारण स्थानीयवासी सडक बन्द गर्न बाध्य भएको इटहरीका स्थानीय सुनिल अधिकारी बताउँछन् । बाटोमा धेरै धुलो भएको कारण इटहरीबासी मात्र नभई अन्य यात्रु पनि समस्यामा पर्दै आएको उनले बताए ।

नियमअनुसार ठेकेदारले सडकमा धुलो उड्नबाट रोक्नुपर्ने हो । मोटरसाइकलमा हिँड्दा शरीरभरि धुलो हुन्छ । मोटरसाइकलमा पनि थुप्रै हिलो र धुलो लिएर जानुपर्ने अवस्था छ । बनेका पूर्वाधारमा पनि कसैको चिन्ता छैन, एकातिर बन्दै गरेको सडकमा धुलोको समस्या छ भने अर्काेतिर बनिसकेको पूर्वाधारको संरक्षणमा समेत कसैले चासो नदेखाएको भन्दै स्थानीयले ढाट लगाएका हुन् । यता इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर रमेश बस्नेतले भने मुख्य हाई–वेमा ढाट लगाएर सडक अवरुद्ध गरेको कारण प्रहरीले ढाट हटाएको बताए ।

व्यस्थापनका लागि स्थानीय सरकारदेखि प्रदेश सरकारसम्मले पहल नगर्दा सडकमा ठेकेदारको रजाइँ चल्दै आएको छ । जताततै स्ल्याव हाल्न बाँकी रहेका ठाउँहरूमा स्ल्याव हाल्ने काम बाँकी छ । लामो समयसम्म पनि खुल्ला नालाका कारण मानवीय दुर्घटना बढ््नुका साथै दुर्गन्ध बढ्नाले वातावरण प्रदूषणसँगै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ । स्थानीयवासी पूर्वमन्त्री रामकुमार सुब्बाले पनि धुलोका कारण इटहरीबासीले सास्ती बेहोर्नु परेको बताए ।