हाम्रो शिक्षाले ज्ञानको प्रमुख स्रोत किताबलाई मात्र मान्छ । अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएका छैनौं । अहिले अधिकांश राम्रा विद्यालयमा क्लब बनाएर विद्यार्थीहरूलाई बाहिरी संसारसँग जोडिन्छ । साहित्य क्लब, कला क्लब, खगोल शास्त्र क्लब, सञ्चार क्लव, माछा मार्ने क्लब, लोकतन्त्र क्लब आदिमा विद्यार्थीलाई सहभागी गराइन्छ । राम्रो स्कूलले शिक्षा अनि खेलकुदलाई बराबरीको प्राथमिकतामा राख्दै योग, ध्यान आदि जीवनोपयोगी कला सिकाउँछन् । अभिभावकले पनि यस्ता क्रियाकलापमा साथ दिन्छन् । विद्यार्थीलाई जीवनका लागि तयार गरिन्छ, त्यो अंक मोहिनी परीक्षाका लागि होइन । आज रक्तचाप जाँच्ने मेसिनबारे हाम्रा विद्यार्थी दुई पेज लामो लेख लेख्न सक्छन् । तर, रक्तचाप जाँच्न सक्दैनन् । घरको फ्युज परिवर्तन गर्न सक्दैनन्, अनि बोट बिरुवा चिन्दैनन् । कोठामा आवश्यक पर्ने कार्पेटको हिसाब निकाल्न सक्दैनन् । हामीले पढेको कुरा खाली सैद्धान्तिक मात्र हुँदै गएको छ, व्यवहारिक तथा जीवनपयोगी हुन सकिरहेको छैन ।

हामीले विद्यालयका भित्ता फोडेर विद्यार्थीलाई कक्षाको कोठरीबाट बाहिर निकाल्न जरुरी छ । पुस्तकमात्र ज्ञानको स्रोत होइन, प्रकृति अनि समाज नै ज्ञानको प्रमुख स्रोत हो । एउटा बिरुवाको बोटबाट जति सिक्न सकिन्छ, त्यति कितावमा बिरवाको चित्र हेरेर वा बनाएर सिक्न सकिन्न । तसर्थ, विद्यालय मात्र ज्ञानको स्रोत हो भन्ने भ्रम विद्यालयले त्याग्न जरुरी छ । सम्पदा, भवन, जङ्गल, खेत, बारी, प्रकृति, जनावर आदि सबै ज्ञानको स्रोत हुन् । आजका सहरिया विद्यार्थी गाई र गोरु छुट्याउन सक्दैनन् । धान कहाँ फल्छ, कुन बेला धान रोप्ने, कुन बेला काट्ने थाहा हुँदैन । हिजो आज त चाडबाड, विवाह, ब्रतबन्ध, पारिवारिक भेटघाटमा पनि विद्यार्थी स्कूलकै व्यस्तताका कारण जान पाइरहेका छैनन् ।

समाजसँग घुलमिल हुन पाइरहेका छैनन् । हाम्रा विद्यार्थी वास्तविक सिकाइबाट टाढिएका छन् । तिनको कौतुहलता विद्यालयका बन्द कोठाले मेट्न सकेका छैनन् । किताबी खोक्रो ज्ञानले ती झन् खोक्रो बन्दै छन् । अहिले बिहानदेखि बेलुकासम्म विद्यार्थी कोचिङको नाउँमा त्यही कक्षा कोठाभित्रै कोचिन बाध्य छन् । प्रकृतिको काखमा विद्यार्थी रमाउन पाएका छैनन् । अनुभव अनि अभ्यास नै सिकाइको आधार हो भन्ने कुरा बुझ्न नसक्नु निकै दुःखद् हो । आज विद्यार्थीमा खासै ऊर्जा छैन । खाली स्कूल÷कलेज गएका छन्, नित्यकर्म सकेका छन् । विद्यार्थीमा उत्साह घट्दो छ, डर बढ्दो छ । केवल किताबका दास बनेका छन्, डिग्रीको आशामा बाँचेका छन् । कक्षामा डराएर टाउको लुकाएर बस्नुपर्ने बाध्यता छ । ऊ शिक्षकलाई प्रश्न सोध्न डराउँछ, कक्षा कोठामा आफ्नो बुझाइ सेयर गर्न डराउँछ । हामी आशाबाट होइन, डरबाट निर्देशित शिक्षा प्रणालीमा छौं । स्कूल, कलेजमा ‘सैनिक शासन’ लगाएर विद्यार्थीलाई सिकाउन सकिदैन । यो कुरा कहिले बुझ्ने ? शिक्षालाई डरको धन्दा कहिलेसम्म बनाइरहने ? हाम्रा विद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना हुन् ।

प्रकृतिले प्रत्येक मान्छेलाई फरक बनाएको छ । हाम्रो शिक्षा प्रणाली प्राकृतिक नियमका विरुद्ध सबै विद्यार्थीलाई उस्तै बनाउन उद्यत छन् । कारखानामा पिठो हालेर उस्तै, उत्रै प्याकेटको चाउचाउ आएजस्तै कलिला बालबालिकालाई विद्यालय नामको मेसिनमा हालेर उस्तै विद्यार्थी बनाउन खोजिदै छ । यसले हाम्रा अधिकांश विद्यार्थीलाई असफलताको पगरी गुथाइएको छ । बालबालिकाको चौतर्फी विकास जरुरी छ, टाउकाको मात्र होइन । शिक्षाको उद्देश्य त समस्या पहिचान गर्न अनि समाधान गर्न सिकाउने हो । यसैले विद्यार्थीलाई विविध गतिविधिमा सहभागी गराउन जरुरी हुन्छ । हाम्रा लागि शिक्षा भनेको क्लास जाने अनि सरले बोलेको सुन्ने मात्र भयो । अझ, थेसिसजस्तो अनुसन्धान गरेर लेख्नुपर्ने कुरा चाँहि विद्यार्थीले किन्ने गरेको पाइन्छ । जबसम्म समस्या समाधानमा अनि अध्ययन अनुसन्धानमा विद्यार्थीलाई सहभागी गराइन्न, तबसम्म विद्यार्थीमा सिकाइको भोक जाग्दैन । आलोचनात्मक चेतयुक्त जमात हाम्रोमा निकै कम छ । समाधानमुखी शिक्षा त छँदै छैन । अब हाम्रो शिक्षा व्यावहारिक, समाधानमुखी, अध्ययन अनुसन्धानमा आधारित हुन जरुरी छ । विद्यार्थी प्रत्येक दिन स्कूल जाँदै छन्, अनि आफ्नो सिर्जनशीलता गुमाएर फर्कँदै छन् ।

सय वर्ष अघि कसैले पत्ता लगाएको सूत्र रटेर बस्छन्, नयाँ कुरा पत्ता लगाउन सक्दैनन्, किन ? कसैलेपनि अरूले गर भनेको काम गरेर संसार बदलेको उदाहरण छैन । तर, हाम्रो शिक्षाले गुरुको निर्देशन शिरोपर गर्न सिकाएको छ । विद्यार्थीलाई आफ्नै भाषामा उत्तर लेख्न प्रेरित गर्छ भनेर प्रश्नपत्रमा लेखिन्छ । आफ्नै शैलीमा लेखेको उत्तरमा नम्बर आउँदैन । सामाजिक शिक्षा जस्तो विषय पनि घोकाइन्छ । विद्यालयहरू राम्रो नम्बर ल्याउने विद्यार्थी छानेर पढाउँछन् । सफल स्कूल ती होइनन्, जो राम्रा विद्यार्थीलाई भर्ना गरेर तिनलाई घोकाएर पास गरी तिनैका फोटो झुण्ड्याउँछन् । राम्रा विद्यालय त ती हुन्, जसले औसत विद्यार्थीलाई पनि अब्बल बन्न प्रेरित गर्न सक्छन् । विद्यार्थीको स्कूल हरेक मिनेट, रोचक, आनन्ददायी अनि उपलब्धिमूलक हुन जरुरी छ । के बुझ्न जरुरी छ भने पढाउनु भनेको ‘यो गर त्यो नगर’ भनेर निर्देशन दिनु होइन । पढाउनु भनेको विद्यार्थीमा भोक जगाउने प्रक्रिया हो, अवसर दिने प्रक्रिया हो । प्रेरणा दिने प्रक्रिया हो । सिकाइमा सिर्जनात्मकता र व्यावहारिकता भर्नु आजको आवश्यकता हो ।