कुनै कुनै केटाकेटीहरू विलक्षण प्रतिभाका हुन्छन् । उनीहरू आफ्नै उमेरका सामान्य केटाकेटी भन्दा अलि बढी सिर्जनशील, छिटो सिक्ने, नयाँ नयाँ कुरा प्रस्तुत गर्ने क्षमता भएका हुन्छन् । तर यस्ता प्रतिभा भएका केटाकेटीले कुनै पनि बखत आफ्नो प्रतिभा गुमाउन सक्छन् यदि

१. घरमा अभिभावकले उनीहरूको प्रतिभा बुझेनन् र सोहीअनुसारको मौका प्रदान गर्न सकेनन् भने
२. विद्यालयमा शिक्षकले उनीहरूको क्षमताअनुसारको सिकाइ वातावरण सृजना गर्न सकेनन् भने
३. त्यस्तो क्षमता भएका विद्यार्थी स्वयंको अपेक्षा पूरा गर्नमा घर र घर बाहिरको सहयोग उपलब्ध भएन भने
४. यस्ता बालबालिकाका आफ्ना समकक्षीको अपेक्षा पूरा गर्न नसक्ने अवस्थामा उनीहरू पुगे भने
५. उनीहरूको सस्तो प्रचारबाजी गरियो भने

सबैभन्दा खतरा त उनीहरूको अस्वाभाविक तर विलक्षण प्रतिभालाई आवश्यक पुनर्बल दिन सक्नु भएन वा प्रशंसायोग्य कामलाई पुरस्कृत गर्न सक्नुभएन भने उनीहरूमा निराशा उत्पन्न हुन्छ र प्रतिभा गुम्ने खतरा रहन्छ । अझ अनावश्यक रूपमा उनीहरुको प्रशंसा गर्ने र उनीहरूले थेग्नै नसक्ने गरी प्रचार प्रसार गरिदिने हो भने यस्ता प्रतिभा स्खलन हुन सक्नेतर्फ पनि बेलैमा ध्यान पुर्याउनु जरूरी छ ।

हाम्रो देशमा विलक्षण प्रतिभा भएका बाल गायक भनेर उचालिएका ९ वर्षीय अशोक दर्जी अहिले कता छन् ? लोक दोहोरीमा अहिले ११ वर्षे कमला घिमिरेलाई त्यसै गरी उचालिएको छ । यी बालबालिकाको प्रतिभा संरक्षण गरौँ तर भविष्यमा हतोत्साहित हुने मार्गतर्फ नधकेलौं । उनीहरूमा अनावश्यक रूपमा ‘म के के न हुँ’ भन्ने भाव विकास नगरौं । बरू मनोवैज्ञानिक परामर्श लिई उनीहरूको क्षमताअनुसारको क्रियाकलाप र सन्तुलित विकासमा योगदान गरौँ ।
(शिक्षाविद् डा.वाग्लेको फेसबुकबाट)