६ वर्ष पुगेपछि मलाई कक्षा १ मा भर्ना गरिएको थियो । धुलोले भरिएको साँघुरो कक्षा कोठामा ठेलम्ठेल गरेर बस्नुपथ्र्यो । कक्षामा एक दुईवटा बेञ्चहरू थिए जो आफ्नो उचाइ भन्दा निकै अग्ला !

अलि अग्ला साथीहरू असहज ढङ्गले तिनै बेञ्चमा बस्ने रहर गर्थे । कालोपाटीमा शिक्षकले किरिमीरी लेखेका अक्षहरू राम्रोसँग देखिदैनथे । अक्षर नबुझेर हामी खुब हल्ला गथ्र्यौं । शिक्षकलाई सुनाउनकै लागि भए पनि हामी पेटैबाट चिच्याउथ्यौं क,ख,ग...।
शिक्षकहरू पनि विषय पिच्छे फरक फरक आउँथे । कुन सरको चित्त कसरी बुझाउने ? हामीलाई सकस लाग्थ्यो ।

हामीलाई कक्षा कोठाभन्दा चौरमा खेल्न औधि मन लाग्थ्यो । चौरमा खेलेको देख्ने वित्तिकै बाँसको लट्ठीले सुम्ला उठ्ने गरी पिटाइ पाइन्थ्यो । धुलै धुलो भएको निकै उचाइमा रहेको पुरानो कालोपाटी कक्षामा हुन्थ्यो । केही थान ससाना बालबालिकाले बस्नै नमिल्ने बेञ्चहरू बाहेक हाम्रो कक्षा अरु थिएन ।

कोठामा अरू कुनै सामाग्रीहरू थिएनन् । वर्ष भरि हामी के सिक्थ्यौं ? केही थाहा हुँदैनथ्यो । ५ कक्षा पुगिसक्दा पनि हामीलाई मुस्किल हुन्थ्यो कखरा..., ए,बि,सि,डी... चिन्न, भन्न, र लेख्न ।

उमेर बढ्दै गयो । कक्षाअनुसार सिकाइ छैन । शिक्षकले नजान्ने, अल्छी, गवाँरको संज्ञा दिन थालेपछि विद्यालय जान खासै रुचिको विषय बन्दैन थियो । विस्तारै विद्यालय छोड्नेहरूको सङ्ख्या बढ्न थाल्थ्यो । अभिभावकका आशाहरू तुहिन्थे । बालबालिकाका सपनाहरू अधुरै रहन्थे । यो त कालिकोटको दुर्गम गाउँमा आजभन्दा २१ वर्ष अघिको भोगाइको एक अनुच्छेद मात्र हो । तर आजको मितिसम्म पनि बालविकास, पूर्वप्राथमिक तथा प्राथमिक शिक्षाले प्राथमिकता नपाउनु दुर्भाग्य हो । अन्याय हो र विभेद पनि हो ।

प्रारम्भिक बालविकास भन्नाले गर्भावस्थादेखि ८ वर्ष उमेर समूहका बालबालिकाहरूको सर्वाङ्गीण (शारीरिक, सामाजिक, संवेगात्मक, भाषिक र बौद्धिक) विकास प्रक्रियालाई बुझाउँछ । नेपालमा हाल गर्भावस्थादेखि ५ वर्षसम्मको उमेर समूहलाई प्रारम्भिक बालविकासको उमेर मानिने गरिएको छ । स्नायु विज्ञानमा भएका विभिन्न अध्ययन तथा अनुसन्धानहरूले जीवनको शुरुवाती वर्षमा (५ वर्षसम्म) मस्तिष्कको विकास सबैभन्दा तीव्र गतिमा भएको हुन्छ भन्ने कुरा प्रष्ट्याएको पाइन्छ । तीन वर्षको उमेरमा एउटा बच्चाको दिमाग वयस्कको दिमागभन्दा दुई गुणा बढी व्रिmयाशील हुन्छ भने मस्तिष्कको ८७ प्रतिशत तौल (११०० ग्राम) तीन वर्षको उमेरसम्ममा हासिल भएको हुन्छ । बच्चा ३ वर्ष पुगेपछि शिशु कक्षामा भर्ना गर्ने चलन बढ्दो छ । ९७ प्रतिशत बालबालिकाहरू विद्यालयको पहुँचमा छन् । तर सिकाइ बालमैत्री छैन । सिक्नुपर्ने कुरा समयमा सिकाइँदैन ।

चाइनाको ग्रेटवाल होस् या मिश्रको पिरामीड, आग्राको ताज महल होस् या भक्तपुरको ५ तले मन्दिर यी सबै संरचना आजसम्म किन छन् ? जवाफ सरल छ, यिनको जग बलियो छ र त अस्तित्व आजसम्म छ । ‘जग बलियो भए पो घर बलियो हुन्छ ।’ हामी माझ यो उखान त्यसै प्रचलित भएको होइन । सक्षम, चरित्रवान् तथा योग्य मानिसको जग उस्को बाल्यकाल हो । बालबालिकाले प्रारम्भिक कक्षामा के सिके ? कहाँ सिके ? कसरी सिके ? कसले सिकायो ? भन्ने कुराले अधिकांश बालबालिकाको भविष्य निर्धारण हुन्छ । मुलुकले कस्तो नागरिक पाउँदै छ भन्ने कुराको र्निधारण पनि प्रारम्भिक सिकाइले गर्दछ ।

हाम्रा पूर्वप्राथमिक कक्षाहरू कस्ता छन् ?
साँघुरा पुराना कक्षाकोठा, भित्ताहरू उजाड, अझै पनि शिक्षकको हातमा लठ्ठी । लठ्ठीको इशारामा खियाएको कक्षाकोठाको गहिराइ कति होला र ? कोठामा कतै अमैत्री बेन्च त कतै एक दुई टुक्रा धुलै धुलो भरिएको कार्पेट । कक्षा कोठामा बालबालिकाले खेल्ने सायदै सामग्री होलान् । भए पनि प्रभावकारी उपयोगितामा कमी टड्कारो देखिन्छ ।

कालोपाटी र सेतोपाटीमा शिक्षकले क,ख,ग...लेख्छ । एकचोटी आफै भट्याउँछ । विद्यार्थी टाउको कन्याउँदै दोहो¥याउँछन् । अनि शिक्षकले अलि बोल्न सक्नेलाई उठाउँछ । उसको हातमा सकेसम्म लठ्ठी थमाउँछ र टिनका पाता हल्लिने गरी क, ख,ग...भन्न लगाउँछ । दिनभरि यस्तै तिक्डममा बाँच्छन् बाmबालिका । शिक्षक आफ्नो कर्तव्य निभाएको सपना देख्छ र अर्को दिन दोहो¥याउँछ । यसैगरी शिक्षकले वर्ष बिताउँछ । बच्चाले एक वर्ष गुमाउँछन् । के सिकाउने ? किन सिकाउने ? कसले सिकाउने ? अभिभावकहरू बेखबर छन् । कक्षा ५ पुग्दासम्म पनि अधिकांश बालबालिकाहरूलाई कखरा चिन्न, अङ्कहरूको सामान्य जोड घटाउ गर्न मुस्किलै हुन्छ । बच्चाको कक्षा र उमेर बढ्दै जान्छ । बच्चाले केही नजानेको महसुस गर्न थाल्छ । सिक्न चाहे पनि सही मार्गदर्शक पाउँदैन ।

साना नानीहरूलाई उपेक्षित गर्ने हामीमा मानसिकता छ । ससाना बालबालिकालाई जे सिकाए नि भयो । जसरी सिकाए नि त भयो । अलि अलि सिकाए पुग्छ, बच्चालाई के थाहा छ र ? हामी यसरी नै सोच्छौं र बच्चालाई जिन्दगीभरि असक्षम बनाउने खेलमा दौडिन्छौं । गुणस्तरीय पूर्व प्राथमिक तथा प्राथमिक शिक्षाविना हामीले परिकल्पना गरेको सक्षम नागरिक हाम्रो शैक्षिक प्रणालीले निर्माण गर्न असम्भव नै छैन । हाम्रा सरकारी विद्यालयमा जाने हो भने प्रष्टै देखिन्छ विभेद । साना कक्षाहरूको लागि जीर्ण भवन । कक्षाकोठा गोठ जस्ता छन्, अव्यवस्थित । अस्वस्थकर चर्पि छ । स्वच्छ तथा शुद्ध खानेपानीको अभाव छ । शिक्षक आए भयो नआए पनि भयो । बच्चाले प्रश्न गर्ने होइन । जागिर खानको लागि त प्राथमिक तह काइदाको व्यवस्था हो । तर, मान्छे निर्माणको लागि निकै कठिन र संवेदनशील तह हो यो ।

बालबालिकाले गुणस्तरीय शिक्षा नपाउनु मौलिक हक हनन हो । जुन अन्याय हो । हाम्रा प्राथमिक तथा पूर्वप्राथमिक तहलाई एकातिरबाट सहानुभूति प्रर्दशन गरेको पाइन्छ भने अर्को तिरबाट विभेद र दोषको भागीदार बनाएको पाइन्छ । सामुदायिक विद्यालयमा तपाईंले भ्रमण गर्नु भयो भने तहहरू बिच निम्न प्रकारको विभेद तथा तालमेल नमिलेको देख्न सक्नुहुन्छ ।

भौतिक संरचनामा विभेद तथा हेलचेक्र्याईं
माध्यमिक तथा उच्च माध्यमिक तहको भन्दा प्राथमिक तथा पूर्व प्राथमिक तहका लागि भवन, कक्षा कोठा, शौचालय, खेल मैदान, शैक्षिक सामग्रीहरू पर्याप्त प्रदान गरिको पाईंदैन । जीर्ण भवन र उकुसमुकुस लाग्दा कक्षाकोठा छन् । भाँचिन लागेका बेन्च, मैलो कार्पेट, पुरानो फोहोरले भरिएको शौचालय छन् । यस्तै यस्तै भौतिक पूर्वधारहरूको घेरामा रहेर बालबालिकाले स्कुले जिन्दगीको शुरुवात गर्नु परेको लाजमर्दो यथार्थता हामी माझ छ ।

तल्लो तहका विद्यार्थीहरूलाई खासै सेवा सुविधा नचाहिने, कम भए पनि हुने जस्तो व्यवहार तथा गतिविधिहरू विद्यालय प्रशासनले गरेका थुप्रै उदाहरण छन् । यसको अर्थ माथिल्लो तहलाई जति महŒव दिन्छौं । त्यो भन्दा बढी तल्लो तहमा सबैको ध्यान जानै पर्छ भन्ने हो । आधार मजबुत नबनाउने अनि राम्रो फलको अपेक्षा गर्ने ? जबसम्म आधारलाई महŒव दिंदैनौं तबसम्म हामीले खोजेको गुणस्तरीयता हामी भन्दा धेरै टाढा भइरहनेछ, रहिरहने छ ।

शिक्षकको दक्षता र पारिश्रमिकमा विभेद
प्राथमिक तहमा माध्यमिक तहभन्दा बढी दरबन्दी छ । तर पूर्व प्राथमिक तहमा अधिकांश विद्यालयमा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति प्रमुखको खल्तीका मान्छेहरूले बालबालिकाको भविष्यलाई अप्ठेरोमा पारिरहेका छन् । सजिलो ‘इसिडी’ भनेर बालमनोविज्ञान, बालविकास विषयमा सामान्य कुराको जानकारी नभएकाहरूलाई थमाइदिएको पाइन्छ । इसिडीका शिक्षकहरूले प्राथमिक तहका कक्षाहरूको पनि जिम्मेवारी लिएको देखिन्छ । केटाकेटीलाई स्कुल आउने बानी बसाउने भनेर इसिडिलाई हल्का रूपमा लिनु नै समस्या हो । असल बानी निर्माण गर्न सजिलो छैन । असल बानी निर्माण गर्न सघाउने शिक्षक दक्ष तथा अनुभवी हुन जरुरी छ । तर विडम्बना यस्ता शिक्षक हामी माझ निकै कम छन् ।

प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्युनतम मापदण्ड २०६७ का अनुसार शिक्षकको शैक्षिक योग्यता निम्नतम १२ उत्तीर्ण गरेको हुनु पर्ने प्रावधान छ भने आदर्श मापदण्ड स्नातक तह हुनुपर्ने उल्लेख छ । तर, हामी माझ कक्षा ८ पास गरेका, १० पास गरेका, केही १२ पास गरेका शिक्षकहरू छन् । विरलै होलान् स्नातक पास गरेका । बालमनोविज्ञान बुझेर सिकाउने शिक्षकको त खडेरी नै छ । एकातिर हामी गुणस्तरीय शिक्षाको नारा लगाउँछौं अर्कोतिर जग बनाउने काममा दक्ष तथा अनुभव नभएका शिक्षकहरूको भागमा बालबालिकाहरू सुम्पिन्छौं ।

इसिडी तहका शिक्षकहरूको मासिक पारिश्रमिक ६ हजार छ । शिक्षकको यो तलब पनि न्यायिक छैन । जम्मा ६ हजार कमाउने लोभले बालबालिकाको जिन्दगी किन बर्बाद गर्ने ? यस भन्दा बढी त आलु पसल राख्दा बढी आम्दानी हुन्छ । पसल नचले कसैको जिन्दगी बर्वाद त हुँदैन । तर कक्षा चलाउन जानिएन भने सयौं बच्चाको जिन्दगी आलु जस्तो बनिदिन्छ । त्यसैले तालिम प्राप्त शिक्षक राखौं । राम्रै सेवासुविधा प्रदान गरौं । अनि गुणस्तरीय सिकाइको अपेक्षा गरौं अन्यथा परिणाम शुन्य नै लागि रहनेछ ।

नैतिक सहयोगमा विभेद
‘मेरो बच्चाले कति अङ्क ल्याउला ? पास होला त ?’ बच्चा १० कक्षा पुगेपछि अभिभावकलाई चिन्ता बढ्छ । ‘केही पनि नजान्ने छन् कसरी पास गराउने ?’ शिक्षकलाई सकसक बढ्छ । बच्चा हतोत्साहित हुन्छन् । विद्यार्थीलाई एसइइ परीक्षा मृत्युको मुख जस्तो लाग्छ । अभिभावकले ठुलै कक्षाको शिक्षकलाई सवथोक ठान्छन् । शिक्षकले पनि आफू माथिल्लो तहका विद्यार्थीलाई सिकाउने प्राणी भएकोमा तल्लोतहका शिक्षकलाई हेय भावले हेर्छ । आफूले राम्रोसँग सिकाउन नसक्नुको कारण तल्लो तहले राम्रोसँग नसिकाएको गुनासो गर्छ । समग्रमा शिक्षक,अभिभावक तथा सम्बन्धित सरोकारवालाहरूको ध्यान माथिल्लै कक्षामा देखिन्छ । यसरी तल्लो कक्षालाई सबैबाट उपेक्षित गरिएको प्रतीत हुन्छ ।

बालबालिका अबोध छन् । अबोधपनको फाइदा उठाउने धन्दा अब बन्द गरौं । प्रभावकारी सिकाइको प्रकाश हरेक बालबालिकाले सानै कक्षाबाट पाउनुपर्छ । सानैबाट सिकाइ राम्रो हुने हो भने विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या धेरै घट्ने छ । निश्चित तह पास गरेपछि विद्यार्थीलाई पनि आफूले प्राप्त गरेको डिग्रीप्रति गर्व हुनेछ ।

स्थानीय सरकारले आफ्नो नगर तथा गाउँको शैक्षिक उन्नयन गर्ने सपना देखेका छन् भने प्राथमिक तहलाई केन्द्रमा राख्न जरुरी छ । विभेद मुक्त तल्लो तहलाई नबनाई पात पखालेर परिर्वतनको अपेक्षा गर्नु र बालुवामा पानी हाल्नु उस्तै हुनेछ ।
(एडुखबरबाट साभार )