बेलबारी /  बजारमा म्याद गुज्रिएको सामाग्री पाएपछि बेलबारी नगरपालिकाले मासिक रुपमा बजार अनुगमन कार्यलाई निरन्तरता दिने भएको छ ।
दशै अघि गरिएको अनुगमनमा बजारमा छ्याप छ्याप्ती म्याद सकिएका सामाग्री भेटिए पछि नगरपालिकाले मासिक रुपमा बजार अनुगमन गर्ने भएको हो । स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सामाग्रीहरु व्यापरीहरुले खुलेआम बजारमा बेचेको पाइएकोले यो अनुगमनलाई निरन्तरता दिने अनुगमन समितिका संयोजक महेन्द्र खड्काले बताए ।
उपभोक्ताले खरिद गर्ने दैनिक उपभोग्य सामाग्रीहरुमा नै व्यावसायीहरुले लापरवाहरी गर्न थाले पछि अनुगमनलाई कडाई गर्न थालिएको उनले बताए । डिपार्टमेन्ट तथा सपिङ सेन्टरमा धेरै सामाग्रीहरु म्याद गुज्रिएको पाइएको खड्काले बताए । ‘हामीले अनुगमन गर्दा डेढ लाख भन्दा वढिको सामाग्री ल्याएर नष्ट गरेका छौ ।’–खड्काले भने ।
दशैं अगाडी किराना पसल अुनगमन गरेका छौं, अब मासु मिठाई औषधी पसल, कपडा तथा होटलहरुमा तिहार भन्दा अगाडीनै अनुगमन गर्ने समितिका सदस्य सन्तोष विश्वकर्माले बताए । समतिले बेलबारी, लालभित्ति, बाहुनी, लक्ष्मीमार्ग र भाउन्नेका बजारमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा बिस्कुट् चक्लेट, चाउचाउ,तेल, मरमसाला तथा पेयपदार्थहरु स्प्राईट, डियू, मिरिन्डा लगायतका सामाग्री म्याद गुज्रिएको भेटिएको अनुगमन समितिले बताए । अनुगमन समतिले उपभोक्ताले देख्ने ठाँउमा सामाग्रीको मुल्य सुचि टाँस्नका साथै नगरपालिकामा दर्ता गराएर मात्रै पसल संचालन गर्न निर्देशन समेत दिएको छ ।