धरान । धरानको मेयर पदको लागि जनसरोकार मञ्च नेपालको समर्थनमा रहेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई जनतामाझ परिचय गराइएको छ ।

सोमबार धरानको छाताचौकस्थित पुरानो अस्पताल क्षेत्रमा कार्यक्रम गर्दै उम्मेदवारको परिचय गराउँदै प्रतिवद्धता व्यक्त गराइएको छ । मेयरका प्रत्यासी रहेका साम्पाङले आफूले धरानको हितमा रहेर काम गर्ने प्रतिवद्धता गरे । उनले आफूले जनताको हितविपरीत काम गरे तत्कालै राजीनामा दिनेसमेत बताए । साम्पाङले जनसरोकार मञ्च नेपालसँग ७ बुँदे सर्तसहितको सहमति गरेका छन् । उक्त सर्तसहितको सहमतिको सातौं बुँदामा काम गर्न नसकेको खण्डमा जनसरोकार मञ्चले फिर्ता बोलाउन सक्ने भनी उल्लेख गरिएको छ ।

यो सर्तमा रहेर आफ्नो उम्मेदवारलाई फिर्ता बोलाउने मञ्चका अध्यक्ष कृष्णनारायण पलिखेले बताए । उनले मञ्चका कार्यकर्ता साथै जनतामाझमा मेयर पदका उम्मेदवारलाई परिचय गराइएको बताए । उनले पार्टीको उम्मेदवार पार्टीप्रति प्रतिवद्ध हुने भए पनि स्वतन्त्र उम्मेदवारले जनताप्रति प्रतिवद्ध हुने भएकाले साम्पाङलाई जिताउनका लागि आफ्नो तर्फबाट आग्रह गरेको बताए ।
धरानमा जनसरोकार मञ्चले भ्रष्टाचार, आर्थिक अनियमितताका विषयमा कुरा उठाउँदै आइरहेको छ ।